April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

सहकारी व्यवस्थित र प्रविधीमैत्री बनुन्

585

६४ औं राष्ट्रिय सहकारी दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १०४ वर्षिय जहानियाँ राणा शासनको अन्त्यपछि वि.सं २०१० सालमा नेपालमा सहकारी विभागको स्थापना भएको थियो । यससँगै नेपालमा आधुनिक सहकारी अभियानको सुरुवात भएको मानिन्छ । विसं २०१३ साल चैत २० गते चितवनको शारदानगरमा स्थापना भएको बखान सहकारी नेपालको इतिहासमा पहिलो सहकारीको मानिन्छ। देशको पहिलो निर्वाचित सरकारले २०१५ सालदेखि नै सहकारीलाई लोकतान्त्रिक संस्थाको रुपमा विकास गर्दै २०१६ सालमा प्रथम सहकारी ऐन जारी भएको थियो । २०१६ सालमा पञ्चायत शासनको सुरुवात हुँदा पनि अर्थतन्त्रको मूख्य मेरुदण्ड सहकारीलाई बनाईएको थियो । २०४६ सालको परिवर्तनपछि खुला बजारको वातावरणले सहकारीलाई कार्य गर्न सहज भयो । सुरुवातको ६० दशक पारगर्दा सहकारीको संख्या र आवद्ध संख्या उल्लेख्य छ भने सहकारी अभियान सक्रिय रुपमा सुराधोन्मुख पनि रहेको छ ।

स्थापनासँग लामो यात्रा गर्दै अगाडि बढेको सहकारी क्षेत्रका समस्या र चूनौती भने अझैपनि जारी छन् । सहकारी विभागको तथ्याङ्क अनुसार वि.सं २०४८ साल अघि करिब ८३० कृषि सहकारी र ५४ गैर कृषि सहकारी रहेका थिए । सहकारी विभागको २०७७ मंसिर सम्मको तथ्याङ्क अनुसार हाल मूलुकभर विभिन्न प्रकारको कारोबारसँग सम्बन्धित २९,८८६ सहकारी संस्थाहरु रहेका छन् जसमध्ये संघीय सरकार अन्तर्गत १२५, प्रदेश सरकार अन्तर्गत ६००२ सहकारी र स्थानिय निकाय २३७५९ सहकारी रहेका छन् । यस सँगै प्रायः सम्पूर्ण जिल्लाहरुमा जिल्ला संघ, विषयगत जिल्ला संघ र केन्द्रमा विषयगत केन्द्रिय संघ र राष्ट्रिय संघहरु रहेका छन् ।

सहकारीका माध्यमले सामाजिक, आर्थिक रूपान्तरण भएका थुप्रै उदाहरण छन्। खासगरी व्यावसायिक खेती, दूध उत्पादन, प्रशोधन, सहकारी उद्योग, सहकारी बैंक एवम् वित्तीय परिचालनको योगदान अतुलनीय छ। छरिएर रहेको सबैखाले श्रम, साधन, स्रोत र सीपको एकीकरण गरी स्थानीय स्तरमा अधिकतम उपयोग गर्ने माध्यमको रूपमा सहकारीलाई लिइएको छ। श्रमलाई पुँजीमा रूपान्तरण गर्ने उत्कृष्ट माध्यम बनेको छ, सहकारी।

जनस्तरको सहज पहुँचको पहिलो संरचनाको रूपमा सहकारीलाई लिइन्छ। यतिमात्र नभई सहकारी सामाजिक, आर्थिक विकासको वैकल्पिक मोडल नभई उत्कृष्ट मोडलको समेत लिइएको छ। आत्मसहयोग, स्वनियमन, स्वायत्तता, ऐक्यबद्धता, इमानदारिता, पारदर्शिता, सामाजिक चासो सहकारीका मूलभूत चरित्र हुन्। हाल नेपालका शहरमा र ग्रामिण भेगमा मात्रै होइन दुर्गम तथा विकट स्थानमा सहकारीको अवधारणा र कार्यान्वयन भएको छ । स्थानीय स्तरमा छरिएर रहेको पूँजी एकिकृत गरी स्थानीय स्थानीय स्तरमा लगानी गरी जिविकोपार्जन र सुरक्षित भविष्यका लागि बचत तथा आय–आर्जनमा लगाउने अभियान चलेको छ । जसबाट न्यून आय हुनेले पनि बचत गर्न वा सहज र शुलभ दर व्याजमा ऋण लिई आफ्ना समस्या समाधान वा लगानी गर्न सक्छन् । सहकारीको उद्देश्य सहकार्यपनि हो ।

यसमा आवद्ध सदस्यहरुबीच सहकार्य र सहयोगले व्यक्तिगत मात्रै नभई समूह र समाजका समस्या समाधान र विकासमा पनि टेवा पुर्याउँदै आएको छ । वर्तमान परिपेक्ष्यमा समग्र वित्तीय क्षेत्र एवं मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान क्रमशः बृद्धि हुँदै गईरहेको छ । बि.सं २०७७ साल मंसिर महिनाको तथ्याङ्क अनुसार नेपालभर संचालित सहकारी संस्थाहरुको शेयर पूँजी रु. ९४ अर्ब पुगेको छ भने ४७७ अर्ब निक्षेप र ४२६ अर्ब लगानी पुगेको छ । यस अवधिमा ८८३०९ जना विभिन्न तहका जनशक्तीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । विभिन्न पेशा, उद्योग, व्यापार, सेवा, र व्यवसायमार्फत लाखौं व्यक्तिहरुलाई अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । यसैगरि वित्तीय पहुँच अभिबृदि गर्नुका अतिरिक्त नेतृत्व विकास, सामाजिक एकीकरण, उद्यमशिलता प्रवद्र्धन, सामुदायिक सशक्तिकरण तथा गरिबी निवारणमा सहकारीको योगदान उल्लेखनिय रहँदै आएको छ ।

सहकारीको विकास, आवद्धता, प्रभावकारीतासँगै केही जटिल समस्या र चूनौतीहरु पनि कायमै छन् । नेपालका सहकारीहरुको कार्यक्षेत्र सिमित र सानो रहेको छ । लघुवित्त पद्धती अपनाउने सहकारीहरुको ठुलो संभावना हुँदा हुँदै पनि सरकारी क्षेत्रका बाट स्पष्ट नीति नभएका कारण समस्या हुने गरेको छ । सहकारी ऐन २०७४ मा कारोबार प्रकृति अनुसार सहकारी संस्थाहरुलाई वर्गिकरण गरिएता पनि धेरै संख्यामा रहेका सहकारीहरु प्रति एउटै दृष्टिकोण राख्नु न्याय संगत मान्न सकिदैन । संघ र प्रदेशको हकमा समेत सहकारीहरुको नियमन प्रभावकारी हुन नसकेको अवस्था छ । राष्ट्रिय सहकारी दिवस मनाइँरहदा नेपालका सहकारीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न सकुन् ।

सहकारी संस्थाहरु पूँजीको अभावमा आफ्ना कार्यक्रम र परियोजनाहरु संचालन गर्न नसक्ने अवस्था नआओस्, सहकारी संस्थाहरु ब्यवस्थापकीय असक्षमता तथा तरल सम्पत्तिको अभावको कारण जोखिममा पर्नु नपरोस्, सहकारीको पूँजीलाई परम्परागत ढंगले मात्र परिचालन नगरी उत्पादनशील र सेवा क्षेत्रमा परिचालन गराई राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदानको अंश बढाउन सकियोस्, अर्थतन्त्रका तीन स्तम्भ सार्वजनिक, निजी र सहकारी मध्ये कमजोर स्तम्भको रुपमा रहेको सहकारी क्षेत्रलाई बलियो र स्थापित बनाउन सकियोस्, सहकारीलाई प्रविधिमैत्री बनाउन सकियोस् र पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको डिजिटल कारोबार, अन्तर सहकारी कारोबार, सहकारी मार्फत विप्रेषण सेवा, क्युआर कोड तथा ई–भुक्तानी जस्ता बैकिङ्ग क्षेत्रले प्रयोग गर्दै आईरहेको अत्याधुनिक प्रविधी सहकारी मार्फत प्रयोग गर्न सकियोस र समग्रमा दीगो तथा गुणस्तरीय सहकारी अभियानको विकास गर्न सकियोस् । शुभकामना !

पछिल्लो अपडेट