April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

आनिक : ‘नौ हजार सन्तानकी अविवाहित आमा’

घरबाट २५ रुपैंया लिएर एक्लै हिँडेकी आनिक हजारौंकी अभिभावक

2.3K

बुटवल । करिब ९ हजार तेस्रो तथा समलिङ्गीहरुकी अविवाहित आमा हुन् आनिक राना । फरक विशेषताका कारण अपहेलना र अन्यायमा परेका समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको अधिकारका लागि अढाई दशक बढी संघर्ष गरेकी आनिकको वास्तविक नाम ‘यमबहादुर’ राना हो ।

कुनै समय आफ्नो परिचय पाउनका लागि सडकमा भौँतारिएकी उनले आफ्नो मात्र होइन हजारौ ‘आनिक’हरुको परिचय स्थापित गर्न सफल भएकी छन् । सबैसँग घुलमिल हुनसक्ने सरल र नम्र स्वभावकी उनलाई घृणाले दिइएको ‘आनिक’ नाम समाजमा परिचित र प्रतिष्ठित बन्न पुगेको छ । स्कूले जीवनमा कक्षा ८ पढ्दैगर्दा शिक्षकहरुले नै गिज्याउँदै राखिएको ‘आनिक’ उपमालाई उनले आदर्शका रुपमा स्थापित गर्न सफल भएकी छन् । उनको जस्तै शारीरिक विशेषता भएका प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनीको ‘आनिक’ सँग जोडेर उनलाई शिक्षकहरुले सो नाम राखिदिएका थिए ।

हुन त प्रसिद्ध कलाकारसँग जोडेर नाम पाउनु आफैँमा कम महत्व होइन । ‘बलबाहू’ तथा ‘आनिक’ उपनाम पाएका प्रसिद्ध कलाकार अरनीको पनि एक तेस्रो लिङ्गी व्यक्ति भएको हुँदा आनिकलाई शिक्षकहरुले उनको उपमा दिएको बताउँछन् । मल्लकालिन समयमा नेपाल तथा विदेशमा समेत बास्तुकलाको क्षेत्रमा प्रसिद्धि कमाएका अरनीको उपनाम ‘आनिक’ पाउँदा बाल्यकालमा यमबहादुर जति खुसी थिए, आफूले बुझ्न सक्ने भएपछि मात्रै उनले सो नाम घृणाको दृष्टिकोणले राखिएको चाल पाए ।

घृणा वा सम्मान जसरी उनले नाम पाए आनिक (यमबहादुर) ले पनि आफ्नो जीवनमा संघर्षपूर्ण यात्रा गर्दै अरनीकोले जस्तै नाम कमाउने अठोट गरिन् । अविवाहित आमाको उपमा पाएकी आनिकले कलिलो उमेरमै घर छाडेर हिड्नु पर्दाको विगतलाई तिथी मितिसहित सम्झिन सक्छिन् । सौतेनी आमाले रिक्तो थाल बजार्दै आफ्नो खाना बाख्रालाई पस्केको तीतो विगतलाई शालिन र हँसिलो मुद्रामै सुनाउँछिन् ११ वर्षको कलिलो उमेरमै जन्मदिने आमा गुमाउन पुगेकी आनिकले सौतेनी आमाले दिएको पीडा सहन नसकेपछि १६ वर्षको कलिलो उमेरमै घर छाड्नु परेको थियो । तेस्रो लिङ्गी, समलिङ्गी तथा महिला अधिकारका लागि लामो समय लड्दै आएकी आनिकलाई आमा मान्नेहरु हजारौंका संख्यामा छन् ।

स्याङ्गजाबाट रुपन्देहीको तिलोत्तमा-८ बसाई सरी आएका रनबहादुर रानाको दोस्रो श्रीमती लालसरीको एकमात्र सन्तान हुन् आनिक । वि.स. २०३८ साल माघ ३ गते जन्मिएकी उनलाई आफ्नो लिङ्गको कारण पनि परिवारबाट अपहेलित बन्नु पर्यो । जेठी आमातिर छोरा र छोरीहुँदा पनि आनिककी आमालाई विवाह गरेर ल्याएपछि उनीहरुप्रति सौतेनी आमाले गर्ने व्यवहार फरक पर्नुलाई उनले स्वभाविक ठान्छिन् ।

कलिलो उमेरमै जन्म दिने आमा गुमाएकी आनिकका बुबा पनि प्यारालाइसिस्ले थला परेपछि उनीमाथि सौतेनी आमाबाट हुने व्यवहार थप पिडादायी हुन थाल्यो । पारिवारिक पीडाका बीच पनि उनले एसएलसी उत्तिर्ण गर्न सफल भइन् । आमा गुमाएको ५ वर्षपछि बुवालाई पनि प्यारालाइसिसले थला पार्दा उनको जीवन थप बढी पीडा र संघर्षमा मोडियो । बुवा हिड्न र बोल्न नसक्ने भएपछि सौतेनी आमा आफूमाथि खनिने क्रम थप बढ्यो । परिवारमा सहानुभूति र अभिभावक बनेर माया दिने कोही नपाएपछि उनलाई परिवारमा बस्ने रहर हराउन थाल्यो ।

जीवनको अविस्मरणीय मोड बारे बताउँदै उनले २०५४ सालको वैशाख महिनालाई सम्झिइन्, ‘वैशाख महिना थियो, भैँसी चराएर घर फर्केपछि भोकले कोक्रिएको पेट भर्न आमासँग भात माग्दा उल्टै अपमानित हुनु पर्यो ।’ सौतेनी आमाले उनको अगाडि रिस देखाउँदै जमीनभरी छताछुल्ला हुनेगरी भात पस्किएको थाल बजारेपछि भोक मेट्न धोएका उनका हात खाली नै भएको वेदना छ । आमाको सो व्यवहार देखेर उनले घर छाडेर हिड्ने निधो गरिन् । तर, जाने कहाँ हो ? कहिलेसम्म हो ? के खाने ? कहा बस्ने ? उनी आफै अनविज्ञ थिइन् । तर, धैर्यताको बाँधले सीमा नाघिसकेको हुँदा उनका पाइला रोकिएनन् । घरबाट निस्कने बेला बुवाको पाइन्टको गोजी छाम्दा थोत्रो भइसकेको २० रुपैयाँ र ५ रुपैयाँको नोट फेला पारिन् । २५ रुपैयाँ लिएर घर त्यागेका एक्लो आनिकका पछाडी अहिले हजारौं आनिक उभिएका छन् ।

घरबाट हिँड्दा लिएको २५ रुपैयाँले एक/दुई दिनका लागि चिया पाउरोटी जुरेपनि त्यसपछि भने अरुका अगाडि हात फिजाउँदै हिड्न पर्ने भयो । खुला आकाशलाई छानो बनाएर सडकका पेटीमा उनको दिन कट्न थाले । करिब ८/९ महिनापछि भने उनले आफूजस्तै साथी भेटाए । साथीले उनलाई आफू बस्ने ठाउँमा लगेपछि जीविको पार्जन गर्न सहज हुने खुशीले उनको मन गदगद भएको थियो । सडकमा भेटिएका साथीको पछि-पछि लागेका आनिक शहरको एक अनकन्टार कोठा भित्र पुगे ।

अध्याँरो र चूरोटका धुँवाले भरिएको उक्त कोठमा उनी जस्तै सडकमा जीवन काट्ने थुप्रै साथीहरु बस्ने गर्दा रहेछन् । यो कोठामा उनले करिब २ वर्षजति गुजारा गरिन् । साथीहरुले बाँच्नका लागि उनलाई जे सिकाएका थिए, उनले पनि गुजारा गर्नैकै लागि राम्रा–नराम्रा सबै काम गर्नुपर्यो । एक यौनकर्मीको रुपमा उनीहरु विभिन्न कोठाहरुमा चाहार्ने दैनिकी थियो । जसरी उनले बाँच्ने विकल्प पाएकी थिइन्, उनको मानसिकतामा जीवनको परिभाषा नै यहीँ हो भनेर बसिसकेको थियो।

वि.स. २०५५ सालतिर यौनकर्मीकै रुपमा काम गरिहेकी आनिकलाई परिवर्तनका लागि महिला समूहले एक अवसर प्रदान गर्यो । सो संस्थाको वाच कार्यक्रमले यौनकर्मीहरुका बीच रहेर काम गर्ने हुँदा उनलाई मासिक हजार रुपैयाँमा काम गर्ने अवसर प्राप्त भएको थियो । त्यसको ठिक एक वर्षपछि जीवनको विकल्प सहित एक व्यक्तिसँग भेट भयो । त्यो समय एक अपरिचित व्यक्तिले उनलाई नयाँ जीवनका लागि प्रस्ताव गर्दै सोधेको प्रश्नको उत्तर दिन निकै गार्हाे भएको उनी बताउँछिन ।

‘तिमी यही जीवनमा रहन चाहान्छौं वा नयाँ जीवनको सुरुवात गर्न चाहान्छौं’ एक अपरिचित पात्रले उनलाई गरेको प्रश्नको उत्तर दिन घरबाट २५ रुपैयाँ लिएर हिड्दाको दिनभन्दा पनि गार्हो विषय थियो । विकल्प चुन्नका लागि उनले ती अपरिचितसँग समय मागिन् । उनले मागेको समयलाई ती व्यक्तिले सहजै स्वीकार गर्दै जति समय लिएपनि एक विकल्प चुन्नका लागि छोडिदिए । आखिर विकल्प छान्नै पर्ने थियो, ३ दिनपछि उनले ती अपरिचित व्यक्तिलाई नयाँ जीवनको विकल्प सुनाइन् । त्यतीखेर उनले रोजेको विकल्पले नै आनिकलाई आज हजारौंको आमा बन्ने सौभाग्य मिलेको छ ।

जुन व्यक्तिले उनलाई विकल्प छनोट गर्न प्रश्न गरेका थिइए, ती व्यक्तिलाई अहिले पनि उनले आफ्नो आमा–बुवा, सम्पूर्ण ठान्छिन् । उनैले तिलोत्तमाको राममणी बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना गरीदिए । विस्तारै उनको जीवनशैली र जीवनस्तर परिवर्तन हुन थाल्यो । सन् २००२ मा काठमाण्डौंमा समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको संस्था रहेको कुरा उनले थाहा पाइन् । उक्त संस्थाले प्रदान गर्ने एक तालिममा सहभागी भएपछि आफ्नो मात्र होइन अरुका बारेमा पनि साँेच्ने आत्मबल प्राप्त भयो । ठूलो साहस र योजना बुन्दै बुटवल फर्केकी आनिकले ४/५ जना साथीहरुसँग मिलेर पहिचानको लडाईमा होमिने अठोट गरिन् ।

त्यो समय समाजमा तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोण निकै फरक थियो । परिवारले समेत त्यस्ता व्यक्तिहरुलाई बोझका रुपमा लिने प्रचलन थियो । नयाँ जीवन पाएकी आनिकले पनि खुलेर बाँच्ने वातावरण थिएन । आनिकले राम्रै काम गर्दा पनि हरेक महिना कोठा फेर्नु परेको विगत सुनाइन् । काठमाण्डौंबाट फर्किएलगत्तै यौनकर्मीहरुलाई कण्डम बाड्ने, एचआइभी एड्स तथा यौन रोगबारे स्वास्थ्य सचेतना जगाउने काम थालेकी उनले विस्तारै समलिङ्गी, तेस्रो लिङ्गी तथा महिला अधिकारका बारेमा आवाज उठाउन थालिन् ।

पहिचानविहिन जन्मिएकी आनिकले अब जन्मिने त्यस्ता सन्तानहरुलाई सहजै पहिचान पाउने वातावरण बनाउन सफल भएकै कारण हजारौं सन्तानको आमाको उपमा पाएकी हुन् । समलिङ्गी तथा तेस्रो लिङ्गीहरुको संस्था निलहिरा समाज तथा नेशनल पेट नेभिगेटर मोभिलाइजेशन अफिसरका रुपमा काम गरिरहेकी छन् । पहिचान तथा अधिकारका लागि लामो समय संघर्ष गरेकै कारण उनी विभिन्न दर्जनबढी पुरस्कारबाट सम्मानित भएकी छन् ।

२५ रुपैयाँ लिएर छोडेको घरमा हिजो गर्ने व्यवहार र आज गर्ने व्यवहारमा आकाश जमिनको फरक आएको छ । उक्त घरमा नबसेपनि उनी समय-समयमा त्यहाँ पुग्ने गर्छिन् । प्यारालाइसिस भएका बुवाले संसार त्यागेपछि काँध थाम्न घर पुगेका आनिकले हिन्दु संस्कार अनुसार कपाल मुण्डन गरी दागवत्ती र काजक्रिया गर्न सेतो पहिरन पनि पहिरिएकी थिइन् । हिजो कोठा छोड्न दबाब दिने घरबेटीहरुले गर्ने व्यवहार फेरिएको छ । हिजो समाजले गर्ने व्यवहार फेरिएको छ ।

आनिकलाई जीवनको सार्थकता बल्ल महशुस हुन थालेको छ । दुई बीसे नाघिसकेकी आनिकले अधिकार र पहिचानको लडाइँका लागि आफू पछाडि सयौं आनिक तयार पारिसकेकी छन् । अझै पनि समाज र राज्यसँग केही हिसाब किताब नमिलेको उनले बताउँछिन् । समलिङ्गी तथा तेस्रो लिङ्गीहरुलाई राजनीतिक अधिकार प्रदान गर्दै सम्मान जनक जीवनका लागि केही नीतिगत सुधार तथा सामाजिक आचरणमा परिवर्तन ल्याउन आवश्यक रहेको उनले बताइन् ।

‘तेस्रो तथा समलिङ्गीहरु पनि मानव हुन्, उनीहरुपनि समाजकै सन्तान हुन्,देशका नागरिक हुन् । उनीहरुलाई समाजमा अन्य नागरिक सरह बाँच्ने वातावरण र नागरिकतामा पहिचान सहित उपलब्ध गराउनु पर्दछ ।‘ भन्ने आवाज तथा माग सहित निरन्तर लागि रहेकी आनिक सञ्चार क्षेत्रसँग पनि आवद्ध छिन् । त्यसैगरी धेरै सञ्चारकर्मीसँग परिचित उनी मानव अधिकार तथा जनचेतनासँगै नीतिगत छलफलका लागि हुने कार्यक्रममा सहभागी हुने गर्दछिन् । विश्वव्यापी महामारीमा सबै प्रभावित भए, तर समलिङ्गी तथा तेस्रोलिङ्गी जो घरभन्दा बाहिर रहेका थिए उनीहरु चरम संकटमा परेको र धेरैले आत्महत्या गरेको विषयमा उनी निकै दुखी छन् ।

महामारी र संकटमा लक्षित समूहको उद्धार र संरक्षणमा निरन्तर खटेकी उनी, उनको समूहले सयौंलाई राहत बाँडेको बताउँछिन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा १६ जना तेस्रो लिङ्गीलाई ३ महिने सिलाई कटाई तालिम प्रदान गरी टेलरिङ सञ्चालनमा आएको छ । हालै मात्र उनी अध्यक्ष रहेको साहसी कदम, नेपालले मिस डायमण्ड नेपाल–२०२१’ सम्पन्न गरेको छ । तेस्रो तथा समलिङ्गीहरुको प्रवद्र्धन र विकासका लागि आयोजित प्रतियोगिताको उपाधि रुपन्देही, तिलोत्तमाकी सरोज न्यौपानेले जितेकी छन् । निरन्तर आफू जस्तै तेस्रो तथा समलिङ्गीहरुको जीवन र अधिकारका साथै विकास र समृद्धिका लागि लागि रहने उनको प्रण रहेको छ ।

पछिल्लो अपडेट