ताजा अपडेट »

गायकको निधन भएको २५ वर्षपछि उनकै स्वरमा नयाँ गीत रेकर्ड

मंगलबार, ११ फागुन २०७७, १३ : ५८
4 Shares

काठमाडौँ । दक्षिण कोरियाली लोक-रक गायक किम क्वाङ-सिओकको निधन भएको करिब २५ वर्ष भयो। तर किमका प्रशंसकहरूले गत जनवरीमा उनकै स्वरमा नयाँ गीत सुन्न पाए। कसरी भन्नुहोला, यो सबै रोबोटको काम हो। आवाजसम्बन्धी काम गर्ने आर्टिफिविसियल इन्टेलिजेन्स (एआइ) का माध्यमबाट किमको स्वर सिर्जना गरिएको हो। '

सिंगिङ भ्वाइस सिन्थेसिस' नामक एआइ प्रणालीले किमका २० वटा गीत अभ्यास गरेको थियो। भाषा र लवज मिलाउन उक्त एआइलाई किमको स्वरमा सात सयभन्दा बढी गीत गाउन र बोल्न पनि सिकाइएको थियो। यसरी सिक्दै गएपछि एआइले किमकै शैली र स्वर नक्कल गरेर नयाँ गीत गाएको एआइ कम्पनी 'सुपरटोन' ले जनाएको छ। यही कम्पनीले २५ वर्षअघि निधन भइसकेका गायक किमको गीत पुनः सिर्जना गरेको हो। यो गीत गायक किमले भने रेकर्ड गराएका थिएनन्। उनको स्वरमा एआइले नयाँ गीत गाएको हो।

किम दक्षिण कोरियाका निकै चर्चित गायक थिए। सन् १९६४ मा जन्मेका उनको ३१ वर्षकै उमेरमा निधन भएको थियो। सन् १९९६ जनवरीमा उनी आफ्नै घरमा तारले पासो लगाएको अवस्थामा भेटिएका थिए। उनले आत्महत्या गरेको प्रहरीले बताए पनि परिवारले हत्या भएको जिकिर गरेका थिए। तर यसको पुष्टि हुन सकेन। किमको निधनपछि पनि कोरियामा उनको सम्झनामा धेरै कार्यक्रम भइरहन्छन्। प्रशंसकहरू अहिले पनि उनका गीत सुन्छन्। उनको यही लोकप्रियतालाई निरन्तरता दिँदै रोबोटद्वारा किमको स्वर पुनः सिर्जना गरिएको हो।

किमको स्वरलाई रोबोटमार्फत् गाउन दिन कम्पनीले उनको परिवारसँग अनुमति लिनुपर्ने थियो। कम्पनीकी निर्माता किम-मिनजीका अनुसार उनीहरूले अनुमति दिन्छन् कि दिन्नन् भन्नेमा दुविधा पनि थियो।  'तर जब हामीले एआइले किमको स्वरमा गाएको सुनायौं, उहाँहरू सबै खुसी हुनुभयो। सुरूमा अलमल भए पनि गीत सुनिसकेपछि किम नै फर्केर आएझैं लागेको भन्नुभयो,' मिनजीले भनेकी छन्। केही सोलबासीले भने किमको स्वरमा रोबोटले गीत गाएकोमा चित्त नबुझेको बताएका छन्। २६ वर्षीया इम उक-जिन रोबोटको यस्तो काम देखेर आफू चिन्तित भएको बताउँछिन्।

'मलाई रोबोटले मान्छेको दुरूस्त नक्कल गर्ने कुराले अत्ताएको छ। केही सीप र बानीहरू मान्छेका मात्र मौलिक हुन्छन्। यदि रोबोटले त्यो नक्कल गर्छ भने भविष्यमा यो संसारमा उसैको दबदबा हुन्छ, मान्छेको हुँदैन,' उनले भनेकी छन्। तर कम्पनीका प्रमुख निर्माता नाम साङ-मून रोबोटले मान्छेका काम खोस्ने वा कामको नक्कल गर्नेबारे मात्र सोच्न नहुने बताउँछन्। 'एआइ प्रविधिबाट मान्छेलाई दिन सकिने खुसी र सहयोगबारे पनि सोच्नुपर्छ,' नामले भनेका छन्।-रोयटर्स

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।