ताजा अपडेट »

प्रजातन्त्र दिवस : सम्मान र गौरवका साथ मनाऔं

शुक्रबार, ०७ फागुन २०७७, ०८ : ५५
159 Shares

प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । १०४ वर्षे जहाँनियाँ राणाशासनको अन्त्य भएको ऐतिहासिक तथा सुखद अवसरमा ७० वर्षदेखि हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ । एकात्मक तथा पारिवारिक शासन जुन क्रुर,अमानवीय र एक पक्षिय मानिन्थ्यो । त्यस्तो शासन पद्धतिको अन्त्य गरी स्वतन्त्र,अधिकारप्राप्त ,जनताको शासनको सुरुवात भएको अवसरमा नै प्रजातन्त्र दिवस मनाउन सुरु गरिएको थियो । जुन इतिहासमा सुनौला अक्षरले लेखिएको मात्रै छैन । कहिल्यै नमेटिनेगरी कुँदिएको पनि छ । शहिदहरुको बलिदानीले प्राप्त प्रजातन्त्र शहिदहरु जस्तै अमर पनि रहनेमा सबैले जोड दिन आवश्यक छ ।

राणा शासनको अन्त्यको लागि प्राण आहुती दिने चार शहिदहरु गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर र शुक्रलाल शास्त्रीलाई शहिदको रुपमा राज्यले मान्यता दिएको छ । यीनै चार शहिदहरुको बलिदानीबाट वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना भएको हो । पछिल्ला वर्षहरुमा गणतन्त्र शब्दले प्रजातन्त्र ओझेलमा परेको छ । शहिदको बलिदानीले प्राप्त प्रजातन्त्र केवल शब्द होइन,आमूल परिवर्तन हो, प्राप्ति हो, पद्धति हो । जस अनुसार जनता सर्वेसर्वा हुन्छन् । राज्यको स्वामित्व, शासन, अधिकार, सेवा जनतामा निहित तथा समर्पित हुन्छ । तर, विडम्बना प्रजातन्त्र प्राप्तिमै मात्रै सिमित रहेन । त्यसपछि पनि अधिकारका लागि कैंयौं आन्दोलनहरु निरन्तर चले र चलिरहेका छन् । प्रजातन्त्र प्राप्तिपछि पनि मुलुकमा लामो समयसम्म अस्थिरता देखियो र अहिले पनि कायमनै छ ।

पञ्चायत,१० वर्षे जनयुद्ध, राजतन्त्र जस्ता समस्या तथा तीनका लागि भएका आन्दोलनले मुलुक समस्याग्रस्त बन्यो , जनतामा दुःख,कष्ट, समस्या रहीरहे । मुलुक समृद्ध बन्न र जनता सुखी बन्न बाधासँगै लड्नुपर्यो । अन्ततः ६२/६३ सालको जनआन्दोलन जसलाई आन्दोलन भाग-२ पनि भनिन्छ, जसले प्रजातन्त्रलाई लोकतन्त्र हुँदै गणतन्त्रमा स्थापित तथा परिमार्जित गरेको छ । सो पश्चात् बैशाख ११ गते लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस विशेष रुपले मनाउँदै आइएको छ । गणतन्त्र नेपालको नयाँ संविधान वि.सं. २०७२ घोषणा भई संविधानमै व्यवस्था भएबमोजिम तिनै तहको निर्वाचन सफल रुपमा सम्पन्न भई देश संघीयतातर्फ अघि बढ्ढै संविधान कार्यान्वयनको दिशातर्फ अग्रसर भईरहेको अवस्थामा प्रजातन्त्रलाई अझ बलियो, सुढृद बनाउँदै अघि बढाउनुपर्ने आजको आवश्यकता रहेको छ ।

विभिन्न कालखण्डहरु पार गर्दै कार्यान्वयनमा आएको गणतन्त्रान्त्रिक नेपालमा प्रजातन्त्र दिवसलाई सार्थकता प्रदान गर्नको लागि देशैभरी विभिन्न कार्यक्रमहरु गर्दै हरेक वर्ष यो दिवस मनाउंदै आईरहेकोछ । दोश्रो जनआन्दोलन २०६२/०६३ बाट प्राप्त हक अधिकारलाई लिपिवद्घ गर्दै आम नेपाली नागरिकहरुको सपना साकार पार्नको लागि गणतान्त्रिक मुलुकको नयाँ संविधान-२०७२ घोषणा भई कार्यान्वयनको दिशामा अघिबढिरहेको अवस्थामा यो प्रजातन्त्रको गरिमा र महत्व पनि त्यतिनै छ । पहिले प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिने गरिएको भए पनि अहिले उक्त दिवसको विदा कटौती भएको छ । २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि लोकतन्त्र र गणतन्त्र दिवस मनाउन थालेपछि केही छायाँमा परेको प्रजातन्त्र दिवस गणतान्त्रिक संविधान जारी भएपछि भने पूरै ओझेलमा परेको महसुस भएको छ ।

प्रजातन्त्र दिवससँगै प्रजातन्त्रको मेरुदण्ड मानिने राजनीतिक दलहरुले प्रजातान्त्रिक शासन पद्दतिलाई नै केबल औपचारिकतामा सिमित गरेर प्रजातन्त्रको मर्म र भावनालाई लत्याउनुले आम नागरिकका लागि प्रजातान्त्रिक अधिकार मृगतृष्णासरह बनेको छ । नेतृत्वले व्यक्तिगत र दलिय निहित स्वार्थ राखेर शासन गर्दा प्रजातन्त्रको उपहासको गन्ध आउन थालेको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका हौं ।

नेपाली जनताले प्रजातन्त्रका लागि धेरै अघिदेखि गरेको संघर्षको पूर्ण प्रतिफल अझैसम्म प्राप्त गर्न सकेका छैनन् । प्रजातन्त्रका लागि मुलुकमा धेरै राजनीतिक आरोह-अवरोह चलिरह्यो । प्रजातन्त्रको मूल्य मान्यतालाई राजनीतिक दल तथा सरकारले पूर्ण इमान्दारितासाथ आत्मसात गर्न नसक्दा आम नागरिकले पनि यसको महत्व बुझ्न सकिरहेको देखिँदैन । कमसेकम वर्षको एक दिन प्रजातन्त्र दिवस मनाएर प्रजातन्त्रको महत्व र औचित्य उजागर गर्ने परम्पराले पनि निरन्तरता नपाउने हो भने प्रजातन्त्र नै धरापमा पर्नसक्छ । प्रजातन्त्र दिवसलाई धुमधामसँग मनाएर यसलाई ओझेलमा पार्न नदिन सरकार तथा राजनीतिक दल गम्भीर बन्नुपर्छ ।

तत्कालीन जहानियाँ राणा शासनविरुद्ध लागेको आरोपमा वि.सं १९९७ माघमा शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाललाई फाँसी दिइएपछि उनीहरुको बलिदानी पशचात् सूत्रपात भएको प्रजातन्त्रिक शासन व्यवस्थाको निरन्तरता र सार्थकताका लागि वर्षमा एकदिन औपचारिक रुपमा दिवस मनाएर मात्रै पुग्दैन । प्रजातन्त्रको अभ्यूदयपश्चात् मात्र नेपाली जनताले स्वतन्त्रताको महसुश गर्न थालेको दिनको महत्व र गरिमाप्रति चासो घट्दै जानुमा कारण के हो भन्ने विषयमा कोही कसैले त्यति सरोकार राखेको देखिँदैन । नेपालमा भएका विभिन्न परिवर्तनले प्रजातन्त्र दिवसलाई ऐतिहासिक एवम् महत्वपूर्ण घडीको रुपमा मनाउन छोडेको पाइन्छ । त्यसका साथै प्रजातन्त्रलाई परम्परागत दिवसका रुपमा मात्र हेर्नेहरु पनि त्यत्तिकै छन् ।

प्रजातन्त्र पश्चात् पनि विभिन्न आन्दोलन र प्राप्तीहरु भएतापनि नागरिकको अधिकार,दलिय शासनको सूत्रपात गर्ने ऐतिहासिक साझा उपल्ब्धीलाई निरन्तर सम्झन र पुस्तान्तरण गर्न आवश्यक छ । तसर्थ गम्भीरताका साथ मनन गर्दै ऐतिहासिक महत्व बोकेको उपलब्धिपूर्ण प्रजातन्त्र दिवसलाई सम्मानका साथ मनाउनुपर्छ ।

https://www.globalaawaj.com/archives/77381
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।