ताजा अपडेट »

‘उपलब्धीलाई सम्मान र रक्षा गरौं’

शुक्रबार, १६ माघ २०७७, १२ : ३२
12 Shares

मुलुकमा शहीद सप्ताह चलिरहँदा शहीदकै बलिदानीमा प्राप्त लोकतन्तान्त्रिक पद्धतिकै अस्तित्वका विषयमा गर्मागर्मी चलिरहेको छ । माघ १० गतेदेखि सुरु भएको शहीद सप्ताहको आज अन्तिम दिन अर्थात् माघ १६ गते शहीद दिवस । यस अवसरमा राजनीतिक आन्दोलनका क्रममा देश र जनताका लागि प्राणको आहुति दिने महान् शहीदहरूलाई हामी स्मरण मात्रै गर्दैनौँ शहीदहरूले देखाएको सपना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । साथै उनीहरुप्रति श्रद्धाञ्जली पनि अर्पण गर्दछौं । विशेषगरी १०४ वर्षिय जहाँनियाँ राणाशासन विरुद्ध आफ्नो प्राणको आहुती दिई प्रजातन्त्र प्राप्तीका लागि योग्दान पुर्याएका ४ शहीदका सम्झनामा शहीद दिवस मनाउँदै आइएको छ ।

तर, यस वर्ष भने शहीद सप्ताह जारी रहँदा मुलुकमा शहीदकै उपेक्षा हुनेगरी विभिन्न गतिविधिहरु भएका छन् । सप्ताह जारी हुँदा शहीदहरुको सम्झनामा हुने कार्यक्रमहरु भन्दा शहीदका सपना र साकार भएका प्राप्तीहरुको नाममा विरोध र समर्थनका कार्यक्रमहरु बढी भए । शहीद दिवसको अवसरमा विगतका वर्षहरुमा जस्तो उत्साह र हर्षोल्लासका कार्यक्रमहरु भने कम भएका छन् वा भएका कार्यक्रमहरु ओझेलमा परेका छन् । देशभर विरोध र आन्दोलन पनि जारी छ । विगतका वर्षहरुमा शहीद सप्ताह र यस वर्षको शहीद सप्ताहमा धेरै फरक छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि १० गते देखि शहीद सप्ताह मनाउन सुरु गरेको हो ।

हरेक वर्ष शहीदहरुको सम्झनामा शहीद सप्ताह मनाउने गरिन्छ । माघ १० गते शहीद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको दिनदेखि माघ १६ गते सम्म विभिन्न शहीदहरुको समझना र श्रद्धाञ्जलीमा शहीद सप्ताह मनाउने गरिन्छ । शहीद शास्त्रीलाई विसं १९९७ मृत्युदण्ड दिइएको थियो भने शहीद धर्मभक्त माथेमालाई माघ १३ गते र गंगालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते मृत्यु दण्ड दिइएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा वि.सं १९९७ मा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका विभिन्न अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको सम्झना गरिन्छ। जहाँनिया तथा एकतन्त्रिय शासन विरुद्ध लडेर राष्ट्र राष्ट्रियताका लागि प्राण त्याग गरेका महान् शहीदरुहरुको सम्झना, सम्मान र श्रद्धाञ्जली अर्पण गर्नेजस्तो गम्भीर र महत्वपूर्ण क्षणमा पनि मुलुकका शिर्ष नेताहरु गालीगलौज र बेइजेतीमा व्यस्त रहेका छन् ।

जसको बलिदानीपूर्ण सङ्घर्षहरू लामो समयको बलिदानी र त्यागको कुल योगमा प्राप्त राजनीतिक र संवैधानिक उपलब्धी जोगाउने भन्दा मास्ने र अपमान गर्ने अभियानमा अहिलेका नेतृत्व लागि रहेका छन् । राणाशासन मात्रै होइन ,पञ्चायत, तत्कालिन राजा ज्ञानेन्द्र शाहको निरंकुश कदम लगाएतका विरुद्ध लडेर ज्यान गुमाएका शहीदहरुको उपलब्धिको जगमा नेपाली जनतालाई सुख समृद्धि प्रत्याभूत गर्न सकिएन भने शहीदको गाथा गाउनु र दिवस मनाउनुको तात्विक अर्थ नरहला । त्यसो त पछिल्ला वर्षहरुमा शहीदकै अपमान हुनेगरी शहीद घोषणाका माग पनि हुने गरेका छन् ।

विशेषगरी २०६२/६३ को जनआन्दोलनपश्चात् जसलाई पनि शहीद घोषणा गर्न माग गर्ने तथा सरकारले पनि शहीद घोषणा गरेर परिवारलाई रकम उपलब्ध गारउने परिपाटी बसेको छ । जसले गर्दा वास्तविक शहीदको अपमान भएको छ । मुलुकमा थुप्रै आन्दोलन, विद्रोह, लामो युद्ध भए व्यवस्था बदलियो तर, जनताको अवस्था बदलिएन । व्यवस्था बदलेको यति समयमा पनि जनताको सुख र समृद्धिको चाहना परिपूर्ति भएन । जनताको जीवनमा परिवर्तन ल्याउन नसक्दासम्म शहीदको सम्मान भएको मान्न सकिँदैन ।

यसका लागि जनताका आधारभूत आवश्यकताको परिपूर्ति, देशभित्रै रोजगारी सिर्जना र जनताको विकासको चाहना परिपूर्ति गर्न जरुरी छ । विकास र समृद्धिको आधार बनेको नयाँ संविधान र सो संविधानले परिकल्पना गरेको राजनीतिक स्थायित्वको रक्षा पनि त्यत्तिकै जरुरी छ । सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशी समानुपातिक मान्यताका लागि जनयुद्ध र सो क्रममा भएको बलिदानका गौरव गाथाहरू देखा परे । यिनै बलिदान र गौरव गाथासमेतका आधारमा शहीदहरूको त्याग र बलिदानीको स्मरण गरी प्राप्त उपलब्धीलाई सम्मान सहित रक्षा गर्नु नै शहीदहरूको बलिदानीको सम्मान गर्नु हो ।

तर विडम्बना ,यतिबेला विगत ७ दशकदेखिको चाहना र संघर्ष अनुसार संविधानसभाबाट जारी भएको संविधानतः निर्वाचित संसद् विघटन भएको छ । ०६२/६३ को आन्दोलन पश्चात् स्थापित संघीय गणतन्त्र र सोही अनुसार निर्वाचित प्रतिनिधि सभाको विघटनले मुलुकमा राजनीतिक अस्थिरता ल्याएको छ । महान शहीदको साहसिक कदम र रातो रगतले स्थापित स्वर्ण इतिहास र त्यसको समझनामा मनाइने शहीद दिवसमा मुलुक चरम राजनीतिक संकटमा पर्नु सम्पूर्ण नेपालीलाई दुःखद र शहीदको बलिदानीको अपमान हो ।

शहीदको बलिदानीबाट प्राप्त उपलब्धीमा रमाउने र निहित स्वार्थका लागि देश र जनताप्रति बेइमानी गर्नेहरुका कारण प्राप्त उपलब्धीहरु संकटमा पर्दै आएका छन् । र, यो निरन्तर जारी छ । यदि शहीदको सम्मान, राष्ट्र, राष्ट्रियताप्रति जिम्मेवार बन्नु छ भने सम्पूर्ण नेतृत्व, दल र जनताले प्राप्त हालसम्म प्राप्त हासिल गरेका उपलब्धीहरुको सम्मान र रक्षाका लागि व्यक्तिगत तथा दलिय स्वार्थभन्दा माथि उठेर आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक छ ।

https://www.globalaawaj.com/archives/74454
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।