ताजा अपडेट »

सिसीटिभीको निगरानीमा बाल उज्ज्वल मावि

सोमबार, १२ माघ २०७७, १२ : १५
2 Shares

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१० छत्रेबाँझ दाप्चामा रहेको बाल उज्ज्वल माध्यमिक विद्यालयलाई सिसीटिभीको निगरानीमा राखिएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्नका लागि विद्यालय व्यवस्थापन समितिले विद्यालयलाई सिसीटिभीको निगरानीमा राख्न आवश्यक रहेको जनाएपछि युवा व्यवसायी टीकाबहादुर लामा(धावा) ले १२ थान सिसी क्यामेरा उपलब्ध गराएका हुन् ।

नमोबुद्ध-१० का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण अधिकारीले प्राप्त उपकरणले शिक्षामा ठूलो उपलब्ध हुने अपेक्षा व्यक्त गरे । “सिसी क्यामेराबाट अब विद्यार्थी, शिक्षक, अभिभावक र सिङ्गो विद्यालयका लागि शिक्षाको क्षेत्रमा समेत गतिलो पहरेदारको काम गर्नेछ”, उनले भने, “अब विद्यालयमा विद्यार्थीका लागि शैक्षिक गुणस्तर वृद्धि गर्न सिसी क्यामेरा आवश्यक छ भनेर हामीले विद्यालयमा छलफलसमेत गरिरहेका थियौँ, त्यही क्रममा युवा व्यवसायी लामाले सिसी क्यामेरा उपलब्ध गराएका छन् ।” सिसी क्यामेरा उपलब्धसँगै उक्त क्यामेरा जडान गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्री र जडान गर्ने प्राविधिकसमेत उनले उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ । विद्यालयमा सिसीटिभी क्यामेरा जडान गरेपछि सम्पूर्ण कक्षा कोठा, विद्यालयको प्राङ्गण र विद्यालय परिसर नै सिसीटिभीको निगरानीमा राखिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सिसीटिभीको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालयलाई सहयोग गर्ने उद्देश्यले आवश्यक उपकरणसहित सहयोग गरेको लामाले बताए । “विद्यार्थीलाई अनुशासित राख्न कक्षा कोठामा कसरी पढिरहेका छन्, कहिलेकाहीँ शिक्षक कक्षा कोठामा उपस्थित नहुने बेलामा कसरी बसिरहेका छन् र बाहिर चौरतिर खेल्ने बेलामा कसरी कस्तो व्यवहार देखाएका छन् भन्नेसमेतको निगरानी राखेर कतै गलत गरेको खण्डमा त्यसलाई सुधार गर्नसमेत सिसीटिभी क्यामेराले सहयोग गर्ने भएकाले सो उपकरण विद्यालयको लागि उपलब्ध गराएको हुँ”, उनले भने “यसबाट शिक्षक र विद्यार्थीको शैक्षिक गतिविधिका साथै शिक्षकले पनि कक्षा कोठामा कसरी पढाइरहेका छन् भन्नेसमेतको रेकर्ड गर्ने भएकाले समयको उचित सदुपयोग र व्यावहारिक परिवर्तनमा समेत सहयोग पुग्नेछ ।”

उपलब्ध सामग्रीमा एक थानको आठ हजार पर्ने १२ थान सिसी क्यामेरासहित जडान गर्न आवश्यक पर्ने सबै उपकरण गरेर रु एक लाख ७५ हजार ५६५ लागतमा सो जडान कार्य सम्पन्न गरिसकेको लामाले बताए । पाँच सय ४६ विद्यार्थी अध्ययन गरिरहेको सो विद्यालयमा नगर शिक्षा कार्यालयबाट कम्प्युटर ल्याबको समेत व्यवस्थापन गरी अध्ययन अध्यापन भइरहेको अध्यक्ष अधिकारीले बताए।

रासस
लेखकको बारेमा
रासस