ताजा अपडेट »

बिजुलीले सुस्तावासीमा ल्यायो खुशी

शनिबार, २० मंसिर २०७७, १४ : ०४
16 Shares

नवलपरासी । वर्षौंदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीका लागि यस वर्षको दीपावली जीवनको अविस्मरणिय दिन बन्न पुग्यो । अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको पहुँचबाट निकै टाढा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी पारि रहेको परासीको सुस्ता क्षेत्रका वासिन्दा पहिलोपटक दीपावलीको दिन सौर्य ऊर्जाबाट विद्युत् सुविधा प्राप्त गरेपछि रातभर नाचगान र खुसियालीमा बिताएको बताउँछन् ।

मट्टितेलको टुकी र सोलारको सानो टुकी बाल्दै आएकी सकिला खातुन ठूलो क्षमताको सोलार बत्ती बाल्न पाउँदा हर्षले गद्गद् हुँदै भन्छिन्, ‘जीवनमा पहिलोपटक यति उज्यालो देख्न पाउँदा मलाई त रात पनि दिनजस्तै भएको छ ।’ राम्ररी नेपाली भाषा बोल्न पनि असजिलो मान्ने उनीलाई अहिले हरेक दिन दीपावली जस्तै लागेको छ ।

पहिलोपटक गाउँमा बिजुली बलेका अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशियाली मनाएका थिए । ‘विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौं’, सुस्ताका अरबिन्द कुर्मीले भने, ‘बिजुली बलेपछि गाउँ नै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ ।’ बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने कुर्मीले बताए । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनार्इ छ । उपभोक्ताले प्राधिकरणकै दरमा महशुल तिर्न सक्नेछन् ।

हिजो अन्धकारले ढाकिएको यो क्षेत्र घरघरमा जडान भएका बत्ती र सडक, गल्लीमा पनि निर्माण गरिएको सडक बत्तीले सुस्तालाई टाढैबाट शहर बजारजस्तै झलमल्ल देख्न सकिन्छ । रातको समयमा सीमावर्ती गाउँबाट आउने चोर, तस्करहरुको सास्ती भोग्दै आएका उनीहरु उज्यालोसँगै सुरक्षित भएको अनुभव गर्न थालेका छन् । रातको समयमा सर्पको टोकाइको समस्या पनि कम हुने विश्वास गर्छन्, स्थानीय शंसे आलम खाँ । उनी भन्छन्, ‘सौर्य विद्युतीकरणले उज्यालोको सुविधाका साथै विभिन्न स–साना उद्योगधन्दा सञ्चालन गरेर युवालाई गाउँमै रोजगारीको अवसर मिलेको छ ।’

पटकपटक भारतीय अतिक्रमणमा परेर चर्चामा रहँदै आएको सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रशारण लाइन पुर्याउन असहज हुँदा यहाँका नागरिक वर्षौंदेखि टुकीको भरमा जीवन बिताउँदै आएका छन् । आफ्नै भूमिमा जान पनि भारतीय भू–भाग प्रयोग गरी नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गरेर मात्र जानुपर्ने बाध्यता छ । परियोजनाबाट उत्पादित विद्युत्ले गाउँपालिकाका सम्पूर्ण घरधुरीमा विद्युतीकरण हुनुका साथै सर्पदंश उपचार केन्द्र तथा अन्य उत्पादनशील ऊर्जा उपयोगका क्षेत्रमा समेत विद्युत्को व्यावसायिक उपयोग गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउछन् ।

विद्युत्को सुविधापछि घरधन्दा गर्न सजिलो भएको, छोराछोरीले लेखपढ गर्न पाएको र रातको समयमा अन्य आयमूलक काम गर्न पाएकामा खुशी हुँदै द्रपति जैसवाल भन्छिन्, ‘वर्षौंदेखि अनेक असुविधा र कठिनार्इ झेल्दै आएका हामीलाई सौर्य विद्युतीकरणले विकासको अनेक सम्भावना देखाएको छ ।’ जनता दलित आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत सत्यन्दर कुर्मी घरमा सोलार जडानपछि राति अबेरसम्म अध्ययन गर्न सहज भएको बताउँछन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा गाउँपालिकामा निर्माण गरिएको १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिड परियोजनामार्फत यहाँका २६६ घरधुरीका बासिन्दाले विद्युत् सुविधा प्राप्त गरेका हुन् । कूल आयोजना लागत चार करोड, ८० लाख ९२ हजार २६८ रहेको सो आयोजनामा केन्द्रको अनुदान दुई करोड ८८ लाख ५५ हजार ३६१ (६० प्रतिशत), तराई–मधेश समृद्धि कार्यक्रमको एक करोड ७५ लाख (३६ प्रतिशत) तथा गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ (४ प्रतिशत) लगानी रहेको छ । विश्वस्तरीय स्मार्ट प्रविधि प्रयोग गरी निर्माण गरिएको यस आयोजनाबारे मोबाइलबाटै जुनसुकै स्थानबाट जानकारी लिन सकिने केन्द्रका सहायक निर्देशक डा लक्ष्मणप्रसाद घिमिरे बताउछन् ।

रासस
लेखकको बारेमा
रासस