ताजा अपडेट »

अर्थमन्त्रीको रुपन्देही भ्रमणको ‘अर्थ’

शुक्रबार, १२ मंसिर २०७७, १८ : ५२
56 Shares

नेकपा महासचिव, अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलको तीनदिने भ्रमण सकिएको छ । विभिन्न दृष्टिकोणले पौडेलको भ्रमण चासो र महत्वका रुपमा लिइएको छ । एकातर्फ विश्वव्यापी महामारीका कारण लामो समयदेखि रोकिएको राजनीतिक भ्रमण तथा गतिविधिपछि निर्वाचन क्षेत्रमा उनको भ्रमण र अर्कोतर्फ प्रदेश राजधानी सरेको र नेकपा भित्रको विवादका विषयले उनको भ्रमण थप चासो र महत्वका साथ लिइएको थियो । दोस्रो पटक अर्थमन्त्री बनेका पौडेलको भ्रमण, गतिविध र अभिव्यक्तिका सन्दर्भमा निकै चासो र महत्वका साथ लिइएको थियो । तर, तीनदिने उनको भ्रमणका क्रममा उनका गतिविधि र अभिव्यक्तिले अपेक्षित उत्साह भने कायम गर्न सकेन ।

२०६४ सालमा पहिलो संविधान सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ बाट, २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट विजयी भएका उनी यस अघि पनि तत्कालिन प्रधानमन्त्री केपी ओलीको सरकारका अर्थमन्त्री थिए । स्याङ्गजाबाट राजनीतिक यात्रा सुरु गरेका उनी पाल्पा हुँदै रुपन्देहीलाई राजनीतिक थलो बनाएका हुन् । रुपन्देही उनको राजनीतिक उर्वर भूमि बन्दै आएको छ । निरन्तर तीनपटक रुपन्देहीबाट निर्वाचन जित्दै आएका उनले रुपन्देहीमा विकासको मूल फुटाएकै हुन् । तर, तत्कालिन प्रदेश ५ को राजधानी बुटवललाई स्थायी कायम गर्ने सवालमा आफ्नो घोषणा र प्रतिवद्धताबाट चुकेको र त्यसको प्रभाव आगामी राजनीतिक यात्रामा देखिने आंकलन गरिएको समयमा उनको भ्रमण थप चासोको रुपमा लिइएको हो ।

लुम्बिनी अञ्चल इन्चार्ज, संगठन विभाग प्रमुख, उप–महासचिव, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को महासचिव हुँदै अहिले पुनः अर्थमन्त्री बनेका छन् । रुपन्देहीबाट राजनीतिक सफलता र छलाङ मार्दै केन्द्रमा पनि दोस्रो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रभावकारी नेताको रुपमा स्थापित भइसकेका छन् । करिब दुई/तिहाई मत प्राप्त पार्टीको उनी महासचिव भइरहँदा यस क्षेत्रका नागरिकहरुले बुटवलबाट राजधानी सर्ने र सार्ने कुरामा रत्तिभर कल्पना गरेका थिएनन् । धेरैले राजधानी सर्दा विष्णु पौडेलले किन मौन छन् ? फेरि उनी यस क्षेत्रबाट चुनाव लड्दैनन् ? पुनगर्ठित मन्त्रीमण्डलमा अर्थमन्त्री हुने भएर राजधानीलाई तिलाञ्जली दिएका हुन् वा मन्त्रीसँग राजधानी साटेकै हुन् उनले ? यस क्षेत्रको विकासमा उनको योगदानलाई सम्झेर र केन्द्रीय नेताको हैसियतले उनलाई पटक–पटक यहाँका नागरिकहरुले मतदान गरेकै हुन् ।

तर, राजधानी सार्ने विषयमा सार्वजनिक प्रतिक्रिया समेत दिएनन् । उनी मौन नै बसे जतिबेला रुपन्देहीले खोज्यो त्यतिबेला उनको भ्रमण भएन र अभिव्यक्ति आएनन् । सधैं रुपन्देहीबासीसँग रहेको बताउने पौडेलको मौनतामा प्रतिपक्ष दलका नेता र केहि नेकपा आवद्ध नेतालेनै उनी अर्थमन्त्री पदका लागि मौन बसेको आंकलन गरिसकेका थिए । संघीय अर्थमन्त्रालय खाली रहेको र शिघ्र मन्त्रीमण्डल हेरफेर तथा पदपूर्ति गर्ने पूर्वसन्ध्यामा पेश भएको प्रदेश राजधानीको प्रस्तावमा उनी मौन हुनुले पनि रुपन्देहीबासीले उनले राजधानीसँग पद साटेको सोझै आंकलन गरेका थिए । उनको व्यक्तिगत क्षमता, पहुँच, राजनीतिक शक्ति वा साटासाट जुनसुकै आधारमा भएतापनि अन्ततः उनी अर्थमन्त्री भए । अर्थमन्त्री भएसँगै ओरालो लागेको,करिब कोमामै पुग्न लागेको नेपाली अर्थतन्त्रलाई बचाउने र उकास्ने उनका पहलकदमी योजना सकारात्मक छन् ।

धितोपत्र तथा नेप्से सूचक पनि उकालो लाग्दै आएको छ । यसै क्रममा आफ्नो निर्वाचन क्षेत्रमा आएका उनीबाट अर्थतन्त्रका विषयमा महत्वपूर्ण अभिव्यक्ति, योजना, आधारहरु प्राप्त हुने ठूलो अपेक्षा थियो । तीनदिने भ्रमणमा करिब २ दर्जन विभिन्न कार्यक्रममा सहभागि भएका उनको अर्थतन्त्रका सवालमा भन्दापनि आफ्ना कार्यकर्ता, निर्वाचन क्षेत्रका जनता रिझाउने र शिलान्यास तथा उद्घाटनमै बढी जोड दिए । सो क्रममा उनले जनताका समस्या ,कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव र निकास,उद्योगी,व्यवासयीका समस्या र समाधान जस्ता समसामयिक र जल्दबल्दा विषयमा भन्दापनि उद्घाटन र शिलान्यासमा समय विताए ।

विद्यालय, अस्पताल, खानेपानी, सडक, प्रविधि जस्ता विकासका पूर्वाधारहरुको शिलान्यास र उद्घाटन हुनु विकास र समृद्धिक लागि महत्वपूर्ण उपलब्धी हुन् । त्यस्ता पूर्वाधारको शिलान्यास र उद्घाटन निर्वाचित जनप्रतिनिधि अझै मन्त्रीबाट गर्नु परम्परा मात्र नभई पद्धतिकै रुपमा निरन्तरता छ । यसलाई पनि सामान्य र सकारात्मक रुपमै लिनु पर्दछ । तर,समाजवादको नारा र वकालत गर्ने कम्यूनिष्ट नेतृत्वले जनताका आधारभूत आवश्यकताहरुलाई विशेष प्राथमिकता दिन आवश्यक छ । यस अघि पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको सडक विस्तार योजना शिलान्यासमा सहभागि पौडेलले यसपटक झुम्सा खानेपानी आयोजना ड्याम निर्माणको शिलान्यास गरेका छन् ।

करिब १५ वर्षदेखि अलपत्र उक्त योजनाको पुनःशिलान्यासले पनि पुनः चर्चा पाएको छ ।अर्थमन्त्रीका रुपमा निर्वाचन क्षेत्रमा आएका उनले यस क्षेत्रको आर्थिक अवस्था बारे विशेष छलफल सहित नयाँ आयोजनाका साथ कार्यक्रम तथा योजना ल्याउनपर्ने वर्तमान अवस्था हो । तर, उनी केही राजनीतिक अगुवा र कार्यकर्ताको घेराभन्दा बाहिर निस्कन सकेनन् । उनले प्रायः कार्यक्रममा प्रदेश तथा स्थानीय, ती पनि गुटका नेता र कार्यकताका साथ दर्जन बढी गाडीसहित लावालस्कर लिएर सहभागि भए । तर, कुनैपनि कार्यक्रमलाई आवश्यक समय ,उनी समक्ष समस्या राख्ने र उनले सुन्ने समय मिलेन । यो पटकको भ्रमणमा पार्टी भित्रको आन्तरिक कलहका बारेमा स्पष्टिकरण दिनकै लागि समय खर्चिएको देखियो । अर्कोतर्फ राजधानीको विषयले रुष्ट बनेका जनतालाई औचित्य पुष्टि गर्दै ‘राजधानीसँग पद साटियो’ भन्ने आरोपको खण्डनमै उनले समय खर्चिनु पर्यो ।

औपचारिकताका लागि मात्रै आयोजित उद्योगी व्यवसायीसँगको भेटमा उनले थप सल्लाह र छलफलका लागि आफू फेरि आउने बताउँदै उद्योगीलाई काठमाण्डौं आउन निम्ता समेत दिए । राजधानी सरेपछि क्षति भएको महसुस गर्दै उनले त्यसको पूर्ति हुनेगरी विकासका योजना ल्याउने प्रतिवद्धता गरेका छन् । प्रदेशकै औद्योगिक एवम् पर्यटकीय राजधानीमा आएर उनले यहाँ कुनै औपचारिक व्यापारिक संघसंस्थाहरुसँग अर्थतन्त्र सुधारका निम्ति छलफल अन्तक्र्रियात्मक कार्यक्रम गरेनन् । कोरोनाका कारण लकडाउन र लकडाउनपछि उठ्न नसकेको नेपाली अर्थतन्त्रका सन्दर्भमा चुँ सम्म नबोल्ने अर्थमन्त्रीको रुपन्देही भ्रमणले अर्थराजनीतिमा के अर्थ राख्छ ?

https://www.globalaawaj.com/archives/60082
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।