ताजा अपडेट »

कानून यस्तो होस् ,बलात्कारीले हजार पटक सोचोस्

आइतबार, ०२ कार्तिक २०७७, २१ : ५०
28 Shares

असोज २७ गतेको बिहान साढे सात बजेको हुदो हो । आधा जसो नित्यकर्म सके पछि मसला चियाको चुस्की लिँदै मदन पुरस्कारबाट सम्मानित कृति महारानीको आधारभूमि हेर्दै थिएँ । लगातार मोवाइलको रिङटोन बज्यो । नचिनेको भारतीय नम्बर थियो । कौतुहलता र फोन रिसिभ एकैचोटी भयो । स्कूल पढ्दाको पुरानो साथीले कल गरेकी रहिछ । उसले रुदै भनी ‘साथी पवित्राले पनि हिजो साँझ स्वेच्छाले संसार छोडी । गभर्नमेन्ट हस्पिटलमा पोस्टमार्टम गरेर लास ल्याउँदैछ । आजै अन्तिम संस्कार गर्ने ।’विगत ३ वर्षदेखि उपचारको लागि विजनबारी भारत मावलमा बस्दै आएकी पवित्राको मृत्यु मलाई कालगतिले भएको लागेन ।

‘सुसाइड ?’ मैले भनेर सोधेँ । उसले हो त भनेर घटनाको बेली बिस्तार लगाई । मलाई चक्कर लागेर आयो । सम्झे एउटा पुरुष अहमताको घोर परिणतिले एउटा निर्दाेष नारीफूल सदाको लागी ध्वस्त भएर सकियो । दिनभरी पवित्राका कलेज जीवनका खिलखिलाउदो सुन्दरता , युवतीहरु मध्येकी चुिनन्दा सुन्दरी , सुन्दर भएर पनि उसको सादगी , पढाईमा उसको लगनशीलता र परिक्षाहरुमा उस्को उत्कृष्टता , हरेक सीपमा रुची , अभिभावक प्रतिको कर्तव्यनिष्ठता , शब्द तौलेरमात्र बोल्ने उस्को विशिष्टता , उस्को सौम्यताका कारण सामुन्ने पर्न डराउने दिवानाहरुको हुल सम्झेर मन टर्हाे भएर आयो । त्यस्ती हुस्न परीको जीवन यसरी अन्त हुन्छ भनेर कल्पना गर्नु त के लाखमा एकबार पनि सोँच्न सकिन्नथ्यो । पवित्रा (नाम परिवर्तित ) मेरो बालसखीकी छ्यामाकी छोरी हुन् ।

मेरो साथीको बाल्यावस्था प्राय छ्यामाकै घरमा बित्यो । दशबर्षे युद्धकालमा राज्य पक्षद्वारा बेपत्ता पारिएका पवित्राको दाजु अझै वेपत्तानै छन् । न सास भेटेकाछन् न त लासनै प्राप्त भयो । खोजीका लागि सकेसम्म पहल गरे तर उपलब्धि शुन्य छ । एउटै छोरो बेपत्ता पारिएपछि पनि राज्यपक्षको अत्याचार र असह्य टर्चर खप्न नसकेर पवित्राको बुवा आमामोरङको कालीकोशीमा बसाइँ झरे ।त्यहिँ पवित्राको पठनपाठनसँग सँगै यौवन फक्रिदै थियो । झापाका जीवन घिमिरेले मरीहत्ते गरेर पवित्रालाई विवाह गरे । चाहनेवालेहरुको प्रेम प्रस्तावहरुको खासै वास्था नगर्ने पवित्रा विवाह पछि भने श्रीमानलाई अगाध प्रेम गर्ने भइन्। गाँउकै निजी बोर्डिङमा पढाउँथिन् ।

साँझ बिहान घरको कामको साथै सासु ससुरालाई सघाउथिन् । तर, विवाह गरेको ३ वर्ष पूरा हुँदासम्म पनि उनीहरुको सन्तान भएन । यही वहानामा जीवनको प्रवित्राप्रति गरिने व्यावहारमा चेन्ज आउन थाल्यो । साना साना कुरामा निहु खोज्ने देखी लिएर उनीमाथि हातसम्म छोड्न थाले । पिरतीको मामलामा केटाहरु नपाउन्जेल मरीहत्ते गर्छन् । केटीहरु पाएपछि मरीहत्ते गर्छन त्यस्तै नै भयो पवित्राको प्रेम पछिको विवाह र विवाह पछिको प्रेम। जीवनलाई दिनमा एक झुल्का नदेखेसम्म पवित्रालाई खाना रुच्दैन थियो । नारीहरु यसै प्रेमापेक्षाकृत हुन्छन् । तर प्रतिफल उल्टो हुदै गयो । जीवनले दोश्रो बिहे गरे । पवित्राको विश्वासले फेल खायो ।तर,पनि लोग्नेमाथीको अतिसय प्रेमका कारण पवित्राले यी कुराहरु वेवास्ता गरिदिन्थी ।

पवित्राले यो सोचिन् कि कुनै न कुनै दिन श्रीमानको पूर्ण प्रेम आफ्नो पोल्टामा पनि खस्नेछ । संसारमा जीवनले मात्र दोस्रो विवाह गरेको होइन । समझदारीमासँगै बस्न सकिन्छकी भनेर पवित्रा ससुरालमै बसिन् । तर लोग्ने र सौताको अत्याचार खप्न उनलाई मुस्किल पर्दै गयो । उनी माइत आएर बस्न थालिन् । खादै गरेको जागीर छुट्यो । सातफेरा लाएर बाँधेको बन्धन पनि टुट्यो । माइत आएपछि पवित्रा केही समय बेरोजगार बसिन् । तर कर्मशिल पवित्रालाई बेरोजगार बस्न उनको स्वाभिमानले दिएन । एकदिन काकालाई जागिर खोजिदिन आग्रह गरिन् ।

काकाले आफ्नो साथीको स्कूलमा जागिर प्रस्तावको लागि पवित्रालाई लिएर गए । हुनत पहिले पहिले काकाले राजनीतिक पार्टीको आडमा गाँउमा दादागिरी गरेको पनि चाल पाएकी थिइन् । तर,आफ्नै काका हो भनेर काकाको अभिभावकत्वमा बिश्वास गरेर पछि लागिन् पवित्रा ।तर आफ्नै काका रक्षक होइन भक्षक अवतारमा उत्रिए । काकाको गिद्दे नजर पर्नगयो पवित्राको देहमा । एकान्त पाउदा चारैतिरबाट कमजोर अवस्थामा पुगेका एक निरिह नारीको इज्जत माथी एक पुरुष अहंताले धावा बोल्यो । रगतको नाताको पनि भनेन । पवित्राको कोमल शरीरमा त्यो नरभक्षिले मनलाग्दी हैकम चलायो ।अर्थात् पवित्रालाई आफ्नै काकाले बलात्कार गरे । अन्तमा एउटा नरपशुको यौन उन्मादको चरमाग्नीमा एउटा निर्दाेष नारी फूल जलेर भष्म भयो ।

पवित्रा होशमा आउँदा अस्पतालको शैयामा थिइन् । प्रतिकारमा उत्रिदा उनको टाउकोमा गहिरो चोट लागेछ । त्यो भन्दा गम्भीर चोट लाग्यो उनको नारी मानसपटलमा । घाउमा ९ टाँका लगाउनु पर्याे । अक्षम्य अपराधबोध र दण्डको भयले भक्षक काका घर परिवार छोडेर मुग्लान भासिए । परिवारभित्रैको घटना हो । पिडितकै ईज्जतमा नराम्रो दाग लाग्छ , उजुरबाजुरतिर नलाग्नु भन्दै घटना राता–रात गाँउमै सामसुम पारे । पवित्राका बुवा आमालाई गाँउका भद्र भलाद्मीले छोरीको बेईज्जतीको त्रास देखाएर चुप बनाए । तर,दूर्भाग्य गर्भवती भइन् पवित्रा ।

हाडनाताभित्रै आफ्नै काकाले गरेको बलात्कारको पीडाले विक्षिप्त बनायो पवित्रालाई । अन्ततः मानसिक सन्तुलन नै गुमाइन् । त्यस्तो अवस्थामा गर्भपतन गराउन नमिल्ने बताए डाक्टरले । यता पवित्राको पेटमा दिनदिनै बच्चा हुर्किदै थियो उता मानसिक अवस्था झनझन् बिग्रँदै थियो । पवित्राको जटिल मानसिक अवस्थाका कारण शल्यक्रिया गरेर बच्चा निकालियो । उनको होस् आउनु अगावै सन्तानविहीन एक दम्पत्तिले उक्त बच्चा गोद लिए । घटनाको सात वर्षपछिसम्म पनि उनको मानसिक सन्तुलन ठीक थिएन । पवित्रालाई हेर्ने समाजको दृष्टिकोण फरक भयो ।

हिम्मत ,शाहस र साथको सट्टा केवल सहानुभूति दिएर उनको मानसिक धरातल झन कमजोर बनाइयो । छोरीको अवस्था देखेर पवित्राको आमाको आँखा कहिले ओभानो भएन । दोश्रो विवाह गरेयता पवित्राका श्रीमानले पनि पुर्णरुपमा वेवास्ता गरे ।आमा बुवाले खेत बेचेर पनि पवित्राको उपचार गराए तर उनको स्वास्थ्यमा सुधार हुन सकेन । आफ्नै काकाबाट भएको घोर कुकृत्यको घटनाले पवित्राको दिल दिमाग नसङ्गलिने गरी विषाक्त तुल्याइदिएको थियो ।

संगिताको कथा

यही भदौ ३२ मा सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं.७ ललितपुरकी रधियादेवी मण्डलकी १७ वर्षिय छोरी संगिता मण्डल बिहान ६ बजे घरबाट खेतमा आली काट्न गइन् । जाँदा सुकिलै गएकी संगिता आउँदा हिलै हिलो भएर ९ बजेनै घर फर्किन् । रधिया देबीले सोचिन् कसैसँग पानीको निहुँमा पो छोरीको झगडा परेछ । सधैँ भैरहने सामान्य विवाद भनेर खासै वास्ता गरिनन् । एकछिनपछि संगिताले आफूलाई गाँउकै ५ जना चिनेकै केटाहरुले बलात्कार गरको कुरा रुदै आमालाई भनी । छोरीमाथी भएको हादसाले रदिया देवी मर्माहत भइन । एकछिन त केही बोल्न सकिनन् । तर, फेरी आफूनै यस्तो कमजोर भए छोरीको अवस्था झन के होला ? भन्ने सोचेर आफैले आफुलाई मजबुत बनाइन् र भोली बलात्कारी बिरुद्ध उजुरी दिन पुलिसथाना जाने सल्लाह गरिन् ।

संगिता खेतबाट फर्केको केहि समयपछि रधिया देबीको घरमा मान्छेको भिड लाग्न थाल्यो । त्यहीँ अनेक कुरा हुन थाल्यो । सोमबारकै दिउँसो गाँउको स्कुल नजिकै सार्वजनिक भवनमा पञ्चायत बस्यो । संगीताको आमा छोरीलाई सुरुमा त्यहाँ बोलाएइएन। खेतबाट फर्केदेखिनै संगिता विक्षिप्त थिई । घरमा दर्हाे आड भर दिने ब्यक्ति कोहि थिएन । १२(१३ बर्ष अघी भारत पसेका रधियादेवीको श्रीमान अझै घर फिरेका छैनन् । जेठो छोरोलाई पनि ऋणपान गरेर कमाउन बिदेश पठाएकी छन् । जेठी छोरी आफ्नै ससुरालमा दुःख गरेर खाँदैछ । दिउँसो पञ्चायतमा रधिया देवीलाई मात्र बोलाए । पञ्चहरुले उन्लाई बलात्कारी बिरुद्ध उजुर नगर्नु भने ।

गाँउको कुरा गाँउमै छलफलमा बसेर मिलाउनु पर्छ भने । रधिया देवीले ले त्यो निर्णय नमान्ने र पुलिसमा उजुरी दिने बताइन् र घर फर्किन् । त्यसपछि घरमा विक्षिप्त भएर बसेकी संगितालाई आमा घरमा नभएको बखत पञ्चायतमा बोलाइयो । संगितालाई पञ्चहरुले विभिन्न प्रश्न गरे । बारम्बार बलात्कारको घटना सुनाउन लगाए । बलात्कारको घाउले मर्माहत भएकी संगीतालाई नानाथरी प्रश्न गरेर उल्टै हँसीको पात्र बनाएर । न्याय ईज्जत दिन बसेका न्यायका ठेकेदार भनाउँदाहरुले झन बेइज्जत गरे । उसको कुरालाई हाँसोमा उडाए । नरपशुहरुबाट भएको घृणित हादसा पछि पनि पञ्चहरुको अगाडी पुनः नांगिनु पर्याे संगीताले सामुहिक बलात्कारमाथि न्यायको नाममा उल्टै पञ्चहरुले दिएको पीडा सहन गर्न संगीतालाई कठिन भैरहेको थियो ।’

सुनुवाईपछि स्थानीय पञ्चले ५५ हजार रुपैयाँ लिएर गाउँमै मिल्नुपर्ने फैसला सुनाए । रधिया देवीले हामी पैसा लिँदैनौं, उजुरी नै दिन्छौं भन्दा पञ्चायतको निर्णय नमाने गाउँबाट बहिष्कार गर्ने धम्की दिए। पञ्चायतको दबाब नमानी आमाछोरी घर फर्किए । सामूहिक बलात्कारको पिडामा परेकी एक अवलालाई न्याय दिन बसेका पञ्चहरुले थप पिडा दिए । यो घटनाले समाजका ठेकेदारहरुले महिला माथी कस्तो न्याय गर्दाे रहेछ भन्ने थाहा पाउन सकिन्छ । मान्छेको भावना कसरी पैसामा किनबेच गर्न खोजिदो रहेछ भन्ने देख्न सकिन्छ ।

हजार सपनाहरु बोकेर फुल्दै गरेकी एउटी किशोरी फूल माथिको अकल्पनिय आक्रमण पश्चात् न्यायका पुजारीहरुको पिडादायक न्यायले संगीताको दिल दिमागमा गहिरो घाउ लाग्यो । त्यसै राति आफ्नै घरको दलिनमा पासो लगाएर संगिताले आत्महत्या गरीन् । छोरीको अप्रत्याशित मृत्युले घायल भएकी रधियादेवी भन्छिन्, ‘पापीहरुले मेरो छोरीलाई बलात्कार गरे, आत्महत्या गर्ने गाउँका पञ्चहरुले बनाए ।’

त्यसैगरी यही असोज ७ गते बझाङको मष्टाँ गाउँपालिका की १२ बर्षिया बालिका सम्झना विश्वकर्मा पगा लाएको भैंसी गोठमा सार्न गोठ तिर गइन् । गोठ नपुगी बीच बाटोमै गाउम्कै राजेन्द्र बोहराले सम्झनालाई बलात्कार गरे । अपराधको पोल खुल्ने डरले सम्झनाको विभत्स हत्या पनि गरे । राजेन्द्र बोहराले गत साउनमा पनि अर्की दलित बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो । तर, उक्त केस गाँउमै पीडितलाई पैसा दिएर मिलाएका थिए ।

आफ्नै घर आँगन ,मेला ,पँधेरा ,गोठ तथा खेतबारीमा जाँदा पनि छोरीहरु बलात्कृत हुनुपर्ने अनि समाजका अगुवा तथा पञ्चहरुले न्यायको नाममा नगद दिएर मिलाउन खोज्ने र नमाने अनेक घाक र धम्कीले तर्साउन खोज्ने यो कस्तो न्याय हो ? पवित्रा संगिता र सम्झना यो समाजको प्रतिनिधि पात्र हुन । अहमग्रस्त पुरुष मानसिकताको कारण लाखौं महिला तथा बालिकाहरु बलात्कार जस्तो घिनलाग्दो कुकृत्यकोको शिकार भएका छन् । यस्तो घटनाको गणित घट्नुको साटो बढीरहेको छ ।

सदियौंदेखि पितृसत्तात्मक ब्यावस्था अनुरुप चलेको हो हाम्रो समाज । त्यही अनुसारको सोच , शासन र मानसिकताको हावी छ यहाँ । धेरैजसो विश्वका गरिब तथा अविकसित मुलुकहरुमा नै बलात्कारका घटनाहरु हुने गरेको पाइन्छ । जस्को मुलकारण पुरुषप्रधान सोँच र मानसिकता नै हो । यस्ता मुलुकमा नारीलाई दोस्रो दर्जाको नागरिक र भोग्याबस्तुको रुपमा परिभाषित गरिन्छ । यो कुरा पुरुषहरुले मुखले नबोले पनि व्यावहारमा उत्रिन्छ । जबसम्म समाजमा अहमग्रस्त पुरुष मानसिकता हट्दैन तबसम्म नारी उत्पीडन तथा बलात्कारका घटनाहरु रोकिँदैन । नेपाल र भारतमा वर्षेनी लाखौं महिला तथा बालिकाहरु बलात्कृत हुन्छन् ।

नेपालकै निर्मला पन्तको बलात्कारपछिको वीभत्स हत्या प्रकरण होस् या बलात्कार पछि जिउदै जलाइएकी दुतिया रसाइलीको कहाली लाग्दो मृत्यु । त्यस्तै सात वर्ष अघी सामुहिक बलात्कार पछि निर्मम हत्या गरिएकी दिल्लीकी छोरी निर्भयाको रेफकेस होस् या यही १४ सेप्टेम्वरमा हाथरस जिल्लाकी बाल्मिकि समुदायको युवती भएको बलात्कार प्रकरण यी सबै घटना अपराधले पराकाष्टा नाघेको मानवसभ्यताकै कलंक हुन् । निर्भयाका अपराधीहरुले दण्ड पाए पनि निर्मलाको खास अपराधीले राजनैनितिक सुरक्षण तथा पद र पावरको आडमा उन्मुक्ति पाएको छ ।

अपराधीलाई कडा दण्ड सजायको मागमा देश हल्लाउने आन्दोलनहरु भए । जुन घटनाले अन्तराष्ट्रिय मान्यता समेत पायो तर अपराधीको रौं पनि हल्लिएन । यी घटनाहरुको अघी पछि पनि अन्य धेरैनै किशोरी, महिला वृद्धादेखि दुधे बालिका समेत बलात्कार जस्तो कुकृत्यको शिकार भएका छन् । अपराध अनुसन्धान विभागको तथ्याङ्क अनुसार नेपालमा प्रतिदिन सात जना महिला तथा बालिका बलात्कृत हुन्छे भने भारतमा झन प्रत्येक १६ मिनेटमा १ जना महिला तथा बालिका बलात्कृत हुन्छ भन्ने तथ्याङ्क छ । बलात्कार के हो ? किन र कसरी हुन्छ ? भन्ने विषयमा व्यापक वहस , तर्क, विर्तक, र छलफल भएको पाइन्छ । तर,बलात्कारका घटना हुनुको मुख्यकारण पत्ता लगाउने विषयमा गहिरो खोज अनुसन्धान भने भएको पाइँदैन ।

बलात्कार न्यूनिकरणको उपायका नाममा महिलाले लगाउने पोषाकका कारण पुरुषमा कामवासना जागृत हुन्छ र यौन अपराध बढ्छ भन्दै छोटो र अंग प्रदर्शन हुने कपडा नलगाउने , शृङ्गार नगर्ने जस्ता हाँस उठ्दो सल्लाह र सुझाव जिम्मेवार व्यक्तिहरुबाट मात्र नभएर सदनबाटै आएको भेटिन्छ । त्यस्तै गरेर ९० प्रतिसत बलात्कारको घटना बलात्कार नभएर सहमतिको इन्जोय हो । झगडा परेपछि बलात्कारको आरोप लगाउछन् भन्ने माननिय हाम्रै देशका हुन् । आफ्नो देशका नावालिका तथा किशोरी छोरीहरु दिन दहाडै घर आँगन खेतबारीमै बलाकृत भैरहदा पनि घटना प्रति दुःख समेत जाहेर नगरेर उल्टै अपराध सम्वन्धमा हलुको अभिव्यक्ति दिने गृहमन्त्री तथा अपराधको कुण्डमा देश डुबिरहँदा पनि मौन बस्ने प्रधानमन्त्री लगाएत उच्च ओहोदाका पदासिनहरुको व्यावहारले गर्दा नागरिकहरु हतास हुनु परिरहेको छ ।

पितृसत्तामा चलेको समाजका अपराध व्याख्याताहरुले यो पनि भन्ने गरेको सुनिन्छ कि कुलिनताको मर्यादा विपरित छोरीहरुले स्वतन्त्र र आत्मनिर्भर भएर हिड्नु पनि अपराधको कारण हो । यदि यसो हो भने तिनै महिलाको योनीबाट जन्म लिएर यो धर्तीमा पदार्पण भई त्यही महिलाको दुध चुसेर हुर्की मानव जीवन पाएर पनि त्यही महिलाको शरीरलाई केवल बासनाशमनको साधन मात्र मान्नुलाई कुन रुपमा ब्याख्या गर्न सकिन्छ सबैले अनुमान लगाए हुन्छ । कानुन र दण्ड जरिवानाका दफाहरु थाहा हुने शिक्षित पुरुषहरुबाटै बलात्कार जस्तो जघन्य अपराध गर्न रत्तीभर संकोच मान्दैन भने अहम्ताबादी पुरुष सोँच र मानसिकता कति खतरनाक छ ? अन्दाज गरौन ।

नौ महिने दुधे बालिकालाई पहिरनको के ज्ञान हुन्छ ,८० वर्षीया वृद्धाले पुरुषलाई उत्तेजित पार्ने कुन र कस्तो पहिरन लगाएर अंग प्रदर्शन गरेकी हुन्छिन् ? समानताका आवाज उठाउने द्वेदभाषी महाशयहरु ! वा बलात्कारको लागि महिलाको पहिरन र पितृप्रधान कुलिनता र प्राकृतिक नग्नतालाई दोष दिने नैतिकवान पुरुषहरुले यस्को उत्तर दिन जरुरी छ । बलात्कार र महिलाहिंसा जस्तो जघन्य अपराधलाई महिलाको छोटो पहिरन र छोरीहरुको स्वतन्त्रतालाई दोष दिने जस्ता कमजोर तर्क पेश गरेर महिलालाई साघुँरो परिधि भित्र राख्न खोज्नु अहम्ग्रस्त घोर पितृसत्तात्मक समाजको ऐना होइन र ?त्यसैले त उदारवादी लेखिका सिमोन द बोउवा आफ्नो पुस्तक ‘सेकेन्ड सेक्स’ मार्फत् भन्छिन् ‘महिला जन्मिँदैनन् बनाइन्छन् ।’

यसैबाट थाहा हुन्छ कि २१ओैं शताब्दीमा पनि हाम्रो समाजमा महिलाको अवस्था कुन तहमा छ ? हुनत महिलामाथी हुने यौन हिंसा र बलात्कार विश्वव्यापी महारोग हो । तर यसो हुनुको मुलकारण भने महिलालाई भोगको सामग्री ठान्ने र दोश्रो दर्जामा राख्ने पुरुषप्रधान मानसिकतानै हो ।जबसम्म यो संकिर्ण सोँचमा परिवर्न हुदैन तबसम्म महिला हिंसा र बलात्कारका घटनाहरु निर्मूल हुँदैन । हुनत समाजमा बलात्कार जस्तो घिनलाग्दो अपराधको घटना किन र कसरी घट्छ भन्ने सम्बन्धमा विभिन्न व्यक्तिहरुले आ–आफ्नो सोँच अनुसारको तर्क र धारणा राखेको पाइएता पनि गहन समाजशास्त्रिय खोज तथा अनुसन्धान भने गरिएको पाइएको छैन ।

यौनकुण्ठा पालेर राख्नुलाई यौन अपराधको जड मान्छन् समाजशास्त्री नागेन्द्र दुबे । सामाजिक रूपमा यौन बन्देज हुनुले गर्दा र यौन शिक्षाको अभावका साथै यौनलाई लज्जा र संकुचनमा राख्नु पनि बलात्कारको कारण बताउँछन् उनी । बलात्कार मात्र नभई अन्य अपराध र दण्डको विषयमा भने प्रख्यात समाजशास्त्री ईमाइल दुर्खिमको भने फरक मत छ ।दुर्खिमले सामाजिक एकता र शान्ति सुब्यवस्थाको लागी अपराध वा दण्डले खेल्ने भुमिकालाई अलग तरिकाले ब्यावस्थापन गर्न सके अपराध न्यूनिकरण हुने धारणा अघी सारेका छन् । उनका अनुसार अपराधले दण्ड ब्यावस्था उत्पन्न गराउदैन बरु दण्ड ब्यावस्थाले अपराध उत्पन्न गराउछ । त्यसैले समाजको नैतिकता र उपयोगी कानूनको निर्माणमा अपराधको मूल योगदान हुन्छ र यसले गर्दा सामुहिक भावनानै सामाजिक परिवर्तनको लागी तयार हुनु पर्दछ । यस्का साथै उनले आत्महत्याको उद्गम पनि समाजलाई मानेका छन् ।

त्यस्तै गरेर महिलालाई साधन वा वस्तुको रूपमा लिइने सोँच र व्यवहारले बलात्कारका घटनाहरु बढाउन सहयोग गरेको तर्क गर्छिन् ’जेन्डर मास्टर ट्रेनर’ नरमाया श्रेष्ठ । दिनदिनै उकालो लागेको बलात्कार पछि जघन्य हत्याका घटनाको ग्राफले हाम्रो समाजमा महिला कति असुरक्षित छन् ? सहजै अनुमान लगाउन सकिन्छ । खेत बारी , मेला, पधेँरा देखी गाँउ ,घर, कार्यालय, सडक कहीँपनि महिला र बालिका सुरक्षित छैनन् ।पिडित उपर पुलिस प्रशासनको असहयोग रहनेदेखि बलात्कारी पुरुषले पैसा र पावरको भरमा उन्मुक्ति पाई समाजमा खुलम खुल्ला हिँड्ने र बलात्कृत महिलालाई भने समाजलेनै हेयको दृष्टिले हेर्नुका साथै समाजबाटै अप्रत्यक्ष रुपमा अपहेलना गर्ने तथा न्यायलयमै न्यायको नाममा थप वेईज्जती झेल्नु पर्ने विद्यमान अवस्थाले कानूनी उपचारमा नलागी लुकेरै बस्नु पर्ने बाध्यता छ । यस्तै कारणले अपराधीको मनोबल बढेर महिलामाथि हुने बलात्कार र हिंसा दिन दुगुना रात चौगुना बढ्दो छ।

अशिक्षित , दूराचारी तथा पशुप्रवृत्तिवालाको त कुरै छोडौं शिक्षित बर्ग , शिक्षक तथा पदासिन जिम्मेवार व्यक्तिहरुनै भविस्यमा झेल्नुपर्ने ढण्ड र सजायको भय नराखी मौका मिल्नासाथ दानवको रूप लिनुलाई अहमताको उपज नमानेर के मान्ने त ? यसैले त दक्षिण एसियाकी सामाजिक अभियन्ता तथा महिलावादी बिचारक कमला भसिन भन्नुहुन्छ ‘ बलात्कार यौन अपराध होइन बरु शक्तिको उन्माद हो ।’ ४ महिनाकी दुधे बालिका होस् या ८० वर्षकी वृद्धा माथि पनि जाइलाग्ने अप्रत्याशित रुपमा बढेको बलात्कारका समाचारहरु प्राप्त भैरहँदा त यस्तो लाग्छ कि पुरुष भनेकै यौनकुण्ठाका जरुवा हुन् जस्तोसुकै होस् योनी भेट्नासाथ बासना शमन गरीहाल्नु पर्ने ।

न्यायको सर्वमान्य सिद्धान्त अनुसार सय अपराधी छुटोस् तर १ निर्दाेष व्यक्ति सजायको भागीदार नबनोस् भन्ने छ । तर विडम्बना यो छ की समाजमा सयौं अपराधी छुट्छ हजारौं अपराध गर्छ र लाखौं निर्दाेषहरु बिनाकसुर सजायको भागीदार हुन्छन् । मोरङकी २७ वर्षीय पवित्रा घिमिरे ,सप्तरीकी १७ वर्षीय संगीता मण्डल, धनुषाकी ११ वर्षीय दुतिया रसाइली , बझाङकी १२ वर्षीय संझना कामी , कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्त र दिल्लीकी निर्भया तथा हाथरसकी बाल्मिकी समुदायकी युवतीले के अपराध गरेका थिए ? र यति कठोर सजाय भोग्नु मात्र होइन मृत्युनै खेप्नु पर्याे ? यिनीहरु त केवल प्रतिनिधि पात्र हुन् । यिनीहरु जस्ता लाखौं महिला तथा किशोरीहरू दिनप्रतिदिन बिनाकसुर अकल्पनिय हादसाको शिकार हुनुका साथ साथै दर्दनाक मृत्युवरण गरिरहेकाछन् । यसरी हजारौं नारी तथा बालिकाको जीवन बर्बाद पार्ने अनि त्यत्तिले चित्त नबुझे जीवनलीला नै समाप्त पारिदिने बलात्कार अपराधको परकाष्टा हो ।

हाम्रो देश तथा हाम्रो समाजको कुरा गर्ने हो भने नारीको ईज्जत तथा चरित्रलाई शीशासँग दाँज्ने गरिन्छ । गल्ति नगरे पनि त्यसको दोष महिलामाथी थोपरिन्छ । त्यसमाथि यौन उत्पिडन , द्रुव्यहार तथा कतिपय बलात्कारको घटनाको दोष उल्टै महिलालाई दिइन्छ । त्यसमाथि महिलालाई पारिवारिक इज्जत तथा सामाजिक अपहेलनाको भयका कारण परिवार तथा समाजबाटै एक प्रकार मनोवैज्ञानिक दबाब हुन्छ । साथै पुलिस प्रशासनको असहयोग र महिला बिशेषको अस्पस्ट कानूनले पनि पीडितहरु दोब्बर मार र अन्यायमा परेकाछन् । पैसा र पावरको बलमा न्याय किनबेच हुन्छ । समाजको यही प्रवृत्तिका कारण बरु मानसिक पिडा बोकेर भएपनि महिलाले चुप बस्नुको विकल्प हुदैन ।यसले गर्दा पनि अपराधीहरुको मनोवल बढ्ने गरेको पाइन्छ । बलात्कार पछि हत्या हुने अक्षम्य अपराधको संख्या ज्यामितिय रुपमा बढ्दो छ । जबसम्म पुरुष अहमताको मिटर घट्दैन लैंगिक विभेदको पर्खाल भत्किँदैन तबसम्म रोकिँदैनन् बलात्कार र महिला हत्याका बाक्ला शृंखलाहरू ।

यदि सभ्य समाज निर्माणको बलात्कार तथा हत्याका घटनाहरुलाई न्यूनिकरण गर्ने हो भने सशक्त कानून निर्माण मात्र गर्ने होइन त्यसको प्रभावकारी कार्यन्वयन हुनु अति जरुरी छ । त्यसको लागि पीडितले अपराधबारे खुलस्त भन्ने साहस लिनु सक्नु पर्छ र पिडितको पक्षमा सबैको साथ र संयुक्त आवाज उठ्नु पर्छ चाहे खास दोषीलाई मृत्युदण्डनै दिन किन नपरोस् । हामीले बिश्व व्यवस्थाका विभिन्न अन्तराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेकाछौं भनेर चुप लागेर बस्नु हुँदैन । अवस्थाअनुसार व्यवस्था परिवर्तन गर्दै लानुपर्छ । सञ्चार माध्यम वा सामाजिक सञ्जालमा व्यक्त गरिने अभिव्यक्ति होस् या सडकबाट उठाइने आवाज ,बुलन्द र सही माग सहितको शक्तिशाली हुनुपर्छ । अपराध अनुसार सजाय र दण्ड व्यवस्थालाई पनि गहन अध्ययन र सघन छलफल मार्फत परिमार्जन गर्दै लानुपर्छ ता कि कानून यस्तो बनोस्,अपराधीले अपराध गर्नु पूर्व हजारबार सोचोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।