ताजा अपडेट »

माल पाएर चाल नपाएको भैरहवा भन्सार, ५२ विगाहा जग्गा प्रयोग विहिन

आइतबार, २५ असोज २०७७, १९ : ००
6 Shares

भैरहवा । अघोषित नाकाबन्दीको समयमा मुलुककै लाइफलाइन मानिएको भैरहवा भन्सार अहिले अस्तव्यस्त बन्दै गएको छ । कुनै बेला सम्पूर्ण नेपालकै लागि आयात गर्ने यो भन्सार नाकाबाट अहिले सामान आयात गर्नु भनेको फलामको चिउरा चपाउनु सरह भएको आयातकर्ताको गुनासो रहेको छ ।

भैरहवा भन्सार नाकाबाट आयात गर्दा अतिरिक्त भाडाको साथै अन्य अतिरिक्त आर्थिक भारमा पर्ने भएकोले अहिले यस क्षेत्रका उद्योगी व्यपारी मारमा परेका छन् । भैरहवाबाट सामान आयात गर्दा भन्सार विन्दुमै बिलम्ब हुने गरेकोले आर्थिक भार बढ्न जान्छ, यसको सिधा प्रभाव उत्पादन लागतमा पर्दछ । उत्पादन लागत नै बढे पछि नेपालमै रहेको अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने यहाँका उद्योगीहरुको तर्क रहेको छ ।

अहिले पनि भैरहवा भन्सारहुँदै आउने सामान बोकेको गाडीहरुको भारतमा लामो लाइन रहेको छ । भैरहवा भन्सार कार्यालयमा भौतिक पूर्वाधारको कमि हुँदा भारतमा मालवाहक गाडीको लामो लाइन गरेको छ, यसले यहाँका उद्योगी व्यवसायीहरुमा चिन्ता थपेको छ । अहिले पनि भारततर्फ करिब २५ किलोमिटर गाडीहरुको लाइन रहेको उनिहरुको दाबी छ । एउटा गाडी नेपाली आयातकर्ताहरु सम्म आई पुग्न १० दिन सम्म लाग्ने गरेको उनिहरुको गुनासो छ । यसले नेपालीहरुको २५ देखी ३० प्रतिशत भाडा शुल्क बढाएको कारण दैनिक करिब १ करोड भारतीय रुपैयाँ नोक्सान भइरहेको उद्योगीहरुको तर्क रहेको छ ।

यो समस्या भैरहवा भन्सारमा मात्र रहेको छ । अन्य नाका सहज हुँदा आपूर्तिकर्ता भैरहवाबाट सामान ढुवानी गर्न मान्दै-मान्दैनन् । भैरहवाबाट सामान ल्याए पनि त्यसको भाडा बढी लिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् उद्योगी राजेश अग्रवालको गुनासो छ ।
भैरहवा भन्सार कार्यालयमा पार्किङ्ग क्षमता कम हुँदा यो समस्या आएको आयातकर्ताको दाबी छ । आयात बढे पनि त्यस अनुसारको पार्किङ्ग क्षेत्र नबढेको कारण यो समस्या आएको उनिहरुको भनाई छ ।

चार्डपर्व वा सिजनका बेला दुवैतर्फ हुने जामका कारण हप्ता दिनसम्म बेलहिया–सुनौलीको सडकमै गाडी रोकिन्छन् । जसका कारण डिटेन्सन, डेमरेज लगायत चार्ज तिर्नुपर्दा व्यापारी मर्कामा परिरहेका छन् । त्यस्तो अवस्थामा अवैध असुलीको मारमा पनि व्यापारी पर्छन् ।

५२ बिघा जग्गा प्रयोग विहिन, आयातकर्ता अतिरिक्त शुल्क तिर्न बाध्य

व्यपारीहरुले यो समस्याको समाधान पनि सुझाएका छन् । लामो समय देखी सञ्चालनमा आउन नसकेको आईसीपीका लागि भनि अधिग्रहण गरिएको जग्गामा तत्कालको लागि पार्किङ्ग क्षेत्र बनाउन आयातकर्ताले सरकारसँग माग राखेको छन् । आईसीपी बनाउन ९ वर्ष अघि ५२ विगाहा जग्गा अधिग्रहण गरिएको थियो जुन अहिले गौचरणको रुपमा प्रयोगविहिन अवस्थामा रहेको छ ।
स्थानीय उद्योगी व्यवसायीले यसलाई प्रयोगयोग्य बनाउन सरकारलाई आग्रह गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले आयात निर्यात व्यस्थित बनाउन आईसीपी प्रयोजनको लागि अधिग्रहण गरिएको जग्गामा अस्थायी पार्किङ्ग बनाउन माग गरे ।

यस्तै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले भैरहवालाई पन्छाएर नेपालगञ्जमा आईसीपी निर्माण हुनुले पनि यस क्षेत्रमा तत्काल आईसीपी निर्माणको सम्भावना नरहेको कारण यसलाई अस्थायी पार्किङ्गको रुपमा प्रयोगमा ल्याउनु पर्ने जिकिर गरे ।

यता भैरहवा भन्सार कार्यालयले आफ्नो क्षमता अनुसारका काम गरिरहेको जनाएको छ । बिचमा पानी परेर हिलो भएको कारण समस्या आए पनि अहिले पूर्ण रुपमा काम भैरहेको भैरहवा भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत कमल प्रसाद भट्टराईले बताए । उनले आईसीपीको जग्गालाई वैकल्पिक पार्किङ्गको रुपमा ल्याउन सकिने जनाए । तर यसको लागि ईन्टरमोडेल यातायात व्यवस्था समिति मार्फत जानु पर्ने उनको भनाई छ ।

नेपाल र भारत बीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले २०६४ मा भारत र नेपाल सरकार बीच देशका चारवटा प्रमुख नाकामा इन्टिग्रेटेड चेक पोष्ट निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौतामा दुबै देशका तर्फबाट आवश्यक जग्गा अधिग्रहण गरी भारत सरकारको प्राविधिक तथा आर्थिक लगानीमा एकीकृत जाँच चौकी निर्माण गर्ने भनिएको छ । सम्झौताअनुरुप नेपालतर्फको ५२ विगाहा जग्गा अधिग्रहण गरेकै ९ वर्ष बित्यो । तर भारततर्फ भने अहिले पनि जग्गा अधिग्रहणको काम टुंगिएको छैन । भारततर्फ उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लास्थित सुनौली र आसपासको केवटलीया, जुगौली र सुक्रौली गाउँको ७७ हेक्टर जमिन आइसिपीका लागि अधिग्रहण गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।