ताजा अपडेट »

शैक्षिक क्षेत्र चलायमान: अनुमति दिए लगत्तै कक्षा १२ को परीक्षा, त्रिविको निर्णय अर्को साता

शुक्रबार, ०२ असोज २०७७, ०७ : ५७
8 Shares

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ ।

विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो ।

अनुमति दिए लगत्तै परीक्षा
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए लगत्तै कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने जनाएको छ । परीक्षाका विभिन्न मोडल प्रस्तुत गरी स्वीकृतिका लागि पठाइएको र स्वीकृति दिए लगत्तै परीक्षा गर्ने तयारीमा आफूहरू रहेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

सरकारले अनुमतिपछि बोर्ड बैठकबाट निर्णय गरेर अघि बढ्ने उनले बताए ।

त्रिविको निर्णय अर्को साता
यसैबीच त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर माध्यममा अध्ययन गर्ने विद्यार्थीको परीक्षाका बारेमा एक साताभित्र निर्णय गर्ने जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही दिनको परिस्थिति हेरेर परीक्षाबारे निर्णय गरिने जानकारी दिए। पदाधिकारीको बैठकबाट यसको निधो गरिनेछ । वार्षिक तथा सेमेस्टरका विद्यार्थीको परीक्षा हाल सञ्चालन हुन सकेको छैन । सेमेस्टर प्रणालीका बारेमा डिन कार्यालयले तयारी गर्ने स्पष्ट गर्दै उनले वार्षिक परीक्षा भने तिहारपछि गर्ने योजना रहेको बताए ।

अर्कोतिर लुम्बिनी बौद्ध विश्वविद्यालयले भने भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा।डा। हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिए लगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिए। विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।