ताजा अपडेट »

भैरहवा विमानस्थलको काम ९१ प्रतिशत सम्पन्न

आइतबार, ११ साउन २०७७, ०७ : ४६
8 Shares

भैरहवा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ।

‘संक्रमण अघिजस्तो रफ्तारमा काम गर्न नसकिए पनि भएको थोरै जनशक्तिले पनि काम जारी राख्यौँ’, आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ।’लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए। खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पुर्‍याइएको छ। काम धमाधम भइरहेको छ।

बिदामा चीन (स्वदेश) गएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको छ। विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन्।

संक्रमणका कारण चीनबाट जनशक्ति र अन्तिम चरणमा जडान गरिने आवश्यक उपकरण आउन नसक्दा आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ। ‘एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएका छन्। महत्वपूर्ण काम गर्ने जनशक्ति नहुँदा केही कठिनाइ छ’, उनले भने।

विमानस्थलमा अहिले कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ टायल्स विछ्याउने, उपकरण जडान, विद्युतीकरण काम जारी छ। यस्तै धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ। फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ।

आयोजनाका अनुसार धावनमार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरण तेस्रो मुलुकबाट आयात गर्नु पर्ने भएकाले उडान नहुँदा रोकिएको छ। तर, अब बाह्य उडान हुने सरकारको घोषणासँगै उपकरण र दक्ष जनशक्ति आउने भएका छन्। यससँगै रोकिन पुगेका केही काम भने धमाधम सुरु हुनेछन्।

‘टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्यान्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइटलगायत उपकरण चीनबाट ल्याउनुपर्ने हो, तर कोरोनाका कारण ल्याउन सकिएको छैन’, प्रमुख अधिकारीले भने, ‘अब अन्तर्राष्ट्रिय उडान सुरु भए लगत्तै उपकरण आउँछन्। त्यसअघि बाँकी अन्य कामलाई तीव्रता दिइरहेका छौं।’

यी उपकरण जडान गर्न अमेरिका, अस्ट्रिया र थाइल्यान्डबाट जनशक्ति ल्याउनुपर्ने हुन्छ। संक्रमणका कारण यी जनशक्ति पनि आउन सकेका छैनन्। निर्माणाधीन विमानस्थलको हालसम्म ९१ प्रतिशत काम सम्पन्न भएको छ। तर, वित्तीय प्रगति भने ६३ प्रतिशत मात्र छ। ठेकेदारलाई हालसम्म तीन अर्ब रुपैयाँ मात्रै भुक्तानी दिइएकाले वित्तीय प्रगति न्यून छ।

विमानस्थल निर्माणको काम चौथोपटक थपिएको समयमा पनि नसकिने निश्चित भएपछि आयोजनाले म्याद थपका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्रचार गरिसकेको छ। चौथोपटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो। उक्त अवधिमा उपकरण ल्याएर जडान भइनसक्ने अवस्था देखिएपछि पाँचौपटक म्याद थपको माग गरिएको आयोजना प्रमुख अधिकारीले बताए।

‘हामीले २०२० को डिसेम्बरसम्म म्याद थपका लागि माग गरेका छौं’, उनले भने, ‘उक्त अवधिमा कुनै प्राविधिक कठिनाइ नआएमा आयोजनाको काम सकिन्छ।’ सन् २०१८ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित विमानस्थल निर्माण सुरु गरिए पनि विभिन्न कारण देखाउँदै पाँचौपटक म्याद थपको तयारी गरिएको हो।

विमानस्थल निर्माण अन्तिम चरणमा आइपुग्दा मुआब्जा वितरणको काम पनि अन्त्यतिर आएको आयोजनाले जनाएको छ। मुआब्जा वितरणमा २३ अर्ब रुपैयाँ लाग्ने बताइएको थियो। त्यसमध्ये अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ वितरण गरिसकिएको छ। विमानस्थल निर्माण गर्दा १ हजार ७ सय ४० परिवारको घरजग्गा अधिग्रहण गरिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।