ताजा अपडेट »

नेतृत्वमा ‘कमनसेन्स’ खोजी

बुधबार, ३१ असार २०७७, १९ : ५५
6 Shares

देशमा केहि समयदेखि अचम्म अचम्मका घटनाहरु घटिरहेका छन् । सत्ता पक्ष होस् वा प्रतिपक्ष, ठूलो नेता होस् वा सानो, स्कूल पढेको होस् वा क्याम्पस पढेको, यी सबै मानिसहरूको विवेक र व्यवहार देखेर सामान्य मानिसहरु समेत आश्चर्यमा परेका छन् । हामी जानू पर्ने कहाँ थियो, कतातिर गइरहेका छौं ! हामीले हिजो के बोलेका थियौं, आज के गरिरहेका छौं । हाम्रो दर्शन, विचार र कार्यदिशाले के माग गरेको थियो । तर, हामी ठिक त्यस्को बिपरित किन गई राखेका छौं ! इतिहासमा सबैभन्दा भ्रष्ट कर्म गर्नेमा सायद हामी नै पहिलो नम्बरमा पर्दछौं होला तर, फेरि हामीले नै इतिहासको सबैभन्दा राम्रो असल शासन यहिँ त हो भन्नमा लजाई रहेका छैनौं ।

देशलाई सबैभन्दा बढी नोक्सानी गरेको राष्ट्रघाती महाकाली सन्धी गरेर कलंकित बनेका शासकहरु आज फेरि अर्को डरलाग्दो देशलाई नै औपनिवेशिक बनाउने खालको एमसिसि परियोजना पारित गराउनको निमित्त पार्टी विभाजन सम्म गर्न दुष्शाहस गर्ने शाषकहरुलाई सबैभन्दा अब्बलदर्जाको ‘राष्ट्रवादी’ देख्ने, नेता, कार्यकर्ता र बुद्धिजिवीहरुको २१ औँ शताब्दीको विवेकहिन चेतना र एउटै पार्टी भित्र राष्ट्रवाद र राष्ट्रघातको गेम खेल्ने शाषकहरु अनि जयजयकार गर्ने हाम्रो विवेक ! सत्य र असत्य, न्याय र अन्याय, ठिक र बेठिक, उज्यालो र अँध्यारोको बारेमा छुट्टाउन नसक्ने हाम्रा इन्द्रियहरु, एक ढिक्का हुने भनेका थियौं तर टुक्रा–टुक्रामा खण्डित भएका छौं ।

सामूहिक निर्णय ब्यक्तिगत जिम्मेवारी भनेका थियौं । तर,एकात्मकता तिरको यात्रा गरिरहेका छौं । भिन्नलाई पनि साथमा लिएर मात्र पदार्थको अस्तित्व रहन्छ भनेका थियौं । तर, अहिले सहयोद्धालाइ नै नैतिक रुपमा समाप्त पार्ने योजनामा लागिरहेका छौं । जुन गाडिमा हामिले यात्रा गरिरहेका छौं, यो गाडी कुनै न कुनै ठाउँमा पुगेर दुर्घटना हुन्छ भन्ने पनि थाहा नपाउने हाम्रो चेतना । मन्त्रीको कुर्चिमा बसेकी बैनिले भन्छिन कि लिप्पियाधुरा, कालापानी नेपालको नक्सामा छँदै थिएन ।

अनि प्रधानमन्त्री भन्नुहुन्छ कि,श्रीराम ज्वाइँ होइनन् नाताले छोरा पर्दछन् अर्थात अयोध्या यूपिमा होइन पर्सामा रहेको छ । प्रतिपक्षलाई जनताले हेर्दछन त डेट सिद्धिएको औषधि जस्तो छ, न क्रिया छ न प्रतिक्रिया छ । न सडकमा बोल्छ न शदनमा बोल्छ । सत्ता पक्षलाई सच्चाउने काम गर्छ कि भनेको खाली मिल्ने मात्रै कुरा गर्छ । एमसिसिमा मिलौं भन्छ, नियूक्तिमा मिलौं भन्छ, अनि कोहि जंगलबाट मुक्ति ल्याउछौं भन्दछन, कोहि न शहर न जंगल । अनि कोहि ०३१ सालदेखि क्रान्ति भनेका छन्, किताबदेखी किताबसम्म दगुरी राखेका छन् । अनि बाबुराम जी यताबाट भएन उता, उताबाट भएन यता, दगुर्दा दगुर्दै दारी फुलिसकेको छ, मिलाउँदा मिलाउदैं हैरान छ ।

यस खालको नेताहरुको कार्यशैली, व्यवहार र चिन्तन देखेर शहर बजारका मान्छेहरु आश्चर्यमा परे । यति साना साना कुराहरु जो व्यबहारमा स्पष्ट देखिएको छ, जस्लाई सामान्य ज्ञानले पनि ठिक र बेठिक छुट्टाउन सकिन्छ तर, ठूलाठूला नेता, ठूलाठूला बुद्धिजिवी भनिएकाहरुले समेत देखिरहेका छैनन् । यिनिहरुका इन्द्रियहरुले यी कुराहरुको बोध गरिरहेका छैनन्, यस्तो दृश्य देखेर यिनिहरुलाई शहर–बजारका मान्छेहरु ‘कमन्सेन्स’ नभएका मानिसहरु भनेर चर्चा गर्न थालेका छन् । जुन शहरमा गएपनि, जुन गल्लिमा छिरेपनी ‘कमनसेन्स’ कै चर्चा चलेको सुनिन्छ । टेक्सी वाला, ठेला वाला, फुटपाथ वाला, सब्जिवाला, दुधवाला, फेन्सिवाला, किरानावाला, बूढो होस वा बुढी, तरुनो होस वा तरुनी, शिक्षक होस वा कर्मचारी, गुरुजी होस् वा कन्डक्टर, प्रेमी होस वा प्रेमिका, बिहान होस वा बेलुका, होटल होस वा रेष्टुरेण्ट सबैतिर ‘कमन्सेन्स’ कै चर्चा छ ।

यतिठूलो राष्ट्रिय चर्चा भएको विषय जस्को मुखमा पनि ‘कमन्सेन्स’ झुण्डिएको छ । शहर–बजारमा भइरहेको यो चर्चा परिचर्चाको समाचार हाई कमाण्डसम्म पनि पुग्यो । यो समाचार थाहा पाउने बित्तिकै हाई कमाण्डले तुरुन्तै आपतकालिन बैठक डाके, बैठकमा प्रवक्ताले बैठकको महत्व र विषयवस्तु बारे प्रकाश पार्दै भने कि साथीहरु हामीसँग सबै कुरा छ, सबै वस्तुबाट हामी परिपूर्ण छौं । हाम्रो सबैभन्दा ठूलो पार्टी, सबैभन्दा धेरै कार्यकर्ता, सबैभन्दा धेरै लिडरहरु, थुप्रै किताब लेखेका, थुप्रै लडाई लडेका, दर्शन, राजनीति सबै जानेका, तलदेखि माथिसम्म हाम्रै चहलपहल, ठूलाठूला ब्यापारी पनि हाम्रा ‘क’ श्रेणीका ठेकेदार पनि हाम्रा अथवा समग्रमा भनौं कि हामी सबै कुराबाट भरिपुर्ण छौं तर यतिबेला शहर–बजारमा हामीलाई नै ‘कमनसेन्स’ नभएकाहरु भनेर चर्चा भैरहेको छ । त्यसैले हामीले जहाँ गएर भए पनि जुन तरिकाले भए पनि मूल्य जे जति परेता पनि त्यस्को खोजी र संग्रह गर्नुपर्दछ । प्रवक्ताको प्रस्तुति पछि ‘कमन्सेन्स’ खोज तथा अनुसन्धान समितिको निर्माण गर्ने काम सम्पन्न भयो ।

भर्खरै गठन भएको तीन सदस्यिय ‘खोज तथा अनुसन्धान’ समितिको बैठक बस्यो । ‘कमनसेन्स’ खोज्न कहाँ जाने भन्ने बारेमा छलफल भयो । अन्त्यमा अमेरिकाको न्यूयोर्क शहरको निम्ति टोली प्रस्थान गर्यो । न्यूयोर्क पुगेर पाँचतारे होटलमा आराम गर्ने काम भयो । भोलिपल्ट बिहानबाट एउटा टेक्सी खोजेर ‘कमन्सेन्स’ को अध्ययनमा टोलि अगाडि बढ्यो । प्रत्येक बजारहरु, प्रत्येक डिपार्टमेण्टल स्टोरहरुमा ‘कमन्सेन्स’ खोज्ने काम प्रारम्भ भयो तर अपशाँेच ‘कमन्सेन्स’ भनेर सोध्यो ‘सरि’ भनेर जवाफ आउँछ । अर्को दोकानमा ‘कमन्सेन्स ’भनेर सोध्यो ‘सरि’ भनेर जवाफ आउँछ । दिनभरिमा हजार दोकानमा सोधपुछ गरियो तर कुनै दोकानबाट पनि यहाँ ‘कमन्सेन्स’ छ भन्ने जवाफ मिलेन ।

टोलि निराश भएर, थाकेर, हरेस खाएर होटल फर्कनको लागि टेक्सिमा बसे । यिनिहरुको अनुहार र थकान देखेर टेक्सी ड्राइभरले भन्यो कि ‘महाशयहरु ! तपाईहरु यति धेरै निराश किन हुनुहुन्छ ? के समस्या पर्यो ! भन्नुहोस त ! म पनि केही सहयोग गर्न सक्छु कि !’ टेक्सी ड्राइभरको कुरा सुनेर टोलि प्रमुखले भने कि ‘हेर्नुस महाशय ! हामी नेपालबाट ‘कमनसेन्स’को खोजीमा यति ठूलो शहर न्यूयोर्कमा आयौं । सारा डिपार्टमेण्टल स्टोरहरुमा खोजी गर्यौ तर अपशोच ! हामिले ‘कमन्सेन्स’ प्राप्त गर्न सकेनौं । त्यसैले निराश र थकित छौं ।’ यिनको कुरा सुनेपछि टेक्सी ड्राइभरले भने कि महाशयहरु ! तपाईहरु जुन बस्तुको खोजिमा आउनु भएको रहेछ, त्यो बस्तु ठूलाठूला डिपार्टमेण्टल स्टोरहरुमा पाइँदैन । त्यो बस्तु भनेको मानिसको चेतनामा पाइने कुरा हो । तपाइँहरुले खोजेको बस्तु मसँग पनि रहेको छ ।

टेक्सी ड्राइभरको कुरा सुनेर सबै हर्षले गदगद भए । हराएको जाँगर पलाएर आयो । शरीरमा स्फुर्ती बढ्यो, सबैका चेहरामा कान्ति छायो । सबै होटलमा पुगे, पैसाको मोलतोल भयो । अनि टेक्सी ड्राइभरले प्रश्न गरे कि महाशयहरु ! मेरो परिवारमा तीन जना छौं । एउटि मेरि छोरी, एउटि मेरि श्रीमति र तेस्रो व्यक्ती को होला ? टिमका सदस्यहरु मुखामुख गरे, अलमलमा परे, मनमा प्रश्न दोहोरिरह्यो कि तेस्रो ब्यक्ती को होला ! धेरै समयको सन्नाटापछि टेक्सी ड्राइभरले भने कि महाशयहरु ! मेरो परिवारमा तीन जना छौं । एउटि मेरि छोरी, एउटी मेरि श्रीमती, तेस्रो ब्यक्ति भनेको म आफै नै त हो । ‘कमनसेन्स’ भनेको यहि त हो । सबैले भने ‘हो हो हो ! ठिक भन्नू भयो । तेस्रो ब्यक्ती तपाईं नै त हो ।’

सबैजना हलबाट उठे, नेपाल फर्कने तयारी भयो । हामी आउँदै छौं भन्ने खबर पठाउने काम भयो । यतापट्टी सबै फुलमाला लिएर एयरपोर्ट आइपुगे, जहाजले लेण्डिङ गर्यो । सान र गर्वका साथ टोली प्रमुखसहित सबै प्लेनबाट बाहिर निस्के । उनिहरुको खादा र मालाको थुप्रोले गर्दन झटार्यो । पजेरो र लेण्डकुजर गाडिहरु सिधै सोल्टी होटलको गेटमा गएर रोकिए । पहिलेदेखि ब्यवस्था गरिएको हलमा सबैले आशन ग्रहण गर्नुभयो । मञ्चमा पुगेर टोली प्रमुखले प्रश्न गरे कि ‘महाशयहरु ! मेरो परिवारमा तीन जना छौं । एउटी मेरि छोरी, एउट मेरि श्रीमती अनि भन्नुहोस् तेस्रो ब्यक्ती को होला ?’ प्रश्न सबैको कानको इन्द्रिय मार्फत मस्तिष्कमा पुग्यो र प्रश्न सबैको दिमागमा घुमिरह्यो ।

तेस्रो ब्यक्ती को हो ? लामो समयको मौनता र एकाग्रतालाइ चिर्दै टोलि नेताले मञ्चबाट भने कि ‘हेर्नुस महाशयहरु ! ‘कमनसेन्स’ भनेको यहि त हो । अब मेरो परिवारमा तीन जना छौँ, एउटि मेरी छोरी, एउटी मेरि श्रीमती र तेस्रो ब्यक्ती भनेको अमेरिकाको ड्राइभर ! बुझ्नुभयो कि भएन ! ‘सबैले भने की हजुर हामी सबैले बुझेउ । पैसा खर्च गरेरै भएपनी ‘कमनसेन्स’ प्राप्त भएकोमा सबै प्रशन्न मुद्रामा हलबाट बाहिरिने काम भयो । जिम्मेवारीलाई तदरुकताका साथ बहन गरेकोमा टिमलाई सबैले विशेष धन्यवाद दिने काम पनि सम्पन्न भयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।