ताजा अपडेट »

निर्मला हत्या प्रकरण: दिल्ली विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

विहीबार, २३ फागुन २०७५, १४ : ३५
6 Shares

फागुन २३
काठमाण्डौ ।

निर्मला हत्या प्रकरणमा प्रहरीले ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।

बलात्कारपछि हत्या गरिएकी निर्मला प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा एसपी विष्टसहित ८ जनाविरुद्ध सरकारी वकिल कार्यालय कञ्चनपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।

यातना दिएको अभियोगमा एसपी विष्ट, तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी र इन्सपेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको हो ।

त्यस्तै प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्सपेक्टर जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध पनि मुद्दा दायर गरिएको डिएसपी ओझाको भनाई छ ।

डिएसपी ज्ञानबहादुर सेठीसहित ६ जना प्रहरीलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुर उपस्थित गराइएको छ । उनीहरु सबैलाई कञ्चनपुर प्रहरीको हिरासतमा राखिएको छ ।

सरकारले निर्मला प्रकरणमा तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवाबाटै बर्खास्त गरिसकेको छ भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या गरिएको ८ महिना वितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।