कोरोना भाइरस सन्त्रासका बावजूद अहिले हामीकहाँ साह्रै नै चर्चित रुपमा भर्चुअल अनलाइन कक्षाहरु चलाउने अनि सहभागी हुनेको लहड देखिएको पाइन्छ। कतिपयले प्राविधिक आधारमै यस्ता कक्षाहरु सञ्चालन गरेका पनि छन। सन २०१३ मा एडिबीले अध्यायन गरेर सन् २०११ सम्मको डेटा प्रस्तुत गरेको तथ्यांकलाई मान्ने हो भने त्यो बेलामा २५.२% जनसंख्या उच्च गरिबीको रेखामुनी रहेको पाइन्छ। त्यस्तै गरि UNICEF ले २०१७ मा प्रस्तुत गरेको डेटा अनुसार गत २० बर्षमा नेपालले शिक्षामा उल्लेखनीय प्रगती गरेको पाइएता पनि ५ - १२ वर्षका लगभग ७ लाख ७० हजार बच्चाहरु विद्यालय जानबाट बन्चित रहेको पाइएको छ।
UNICEF कै अर्को अध्ययनले जम्मा ११% बिद्यालयका भवन मात्र भूकम्प प्रतिरोधात्मक रहेको उल्लेख गरेको पनि पाइन्छ। त्यस्तै गरी इन्टरनेट प्रयोगकर्ताको संख्यालाई मात्र हेर्ने हो भने त्यो पनि दयनिय नै देखिन्छ। इन्टरनेट प्रयोगकर्ताको डेटा अध्ययन गर्दा नेपालको केन्द्रिय तथ्यांक बिभागले बर्ष २०१६ - २०१७ को अध्ययन पश्चात प्रस्तुत गरेको प्रतिवेदन अनुसार नेपालको शहरी क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ता ९२% र ग्रामिण क्षेत्रमा ८५.७% रहेको भएता पनि इ-मेल/इन्टरनेटमा पहुच रहेको प्रयोगकर्ताको संख्या शहरी क्षेत्रमा १९% र ग्रामिण क्षेत्रमा ७. ८% मात्र देखाएको छ। अब यो बुझ्न जरुरी छ की हामीहरुले अगाडी सारेको फेशबुक (Facebook), ZOOM, माइक्रोसफ्ट टिम्स (Teams), गूगल मिट (Meet) अन्तर्गतका भर्चुअल कक्षाहरु कत्तिको प्रभावकारी रहन्छन त ?
हामीहरु प्रविधिमा छलांग मार्नु ठिक हो। प्रविधिमैत्री कक्षाको म स्वयं वकालत गर्छु पनि। तर समय-सापेक्षिक अनि बिद्यार्थी मैत्री पनि हुनु पर्ने मेरो धारणा हो। हाम्रो ग्रामिण क्षेत्रको अध्ययन गर्ने हो भने अधिकांश किसानहरुको घरमा बरु केबल टिभी अथवा डिशहोमको एन्टेना ठडिएको पाइएला तर अझ पनि उनीहरु मध्ये केहीमा इन्टरनेटको बारे जानकारी नभएको पाइन्छ। तथ्यांक बिभागकै प्रतिवेदनलाई हेर्ने हो भने शहरी क्षेत्रमा केबल टिभी प्रयोगकर्ता ५९.८% छ भने ग्रामिणमा ३३% रहेका छन। यसै बाट प्रष्ट हुन्छ आम जनतामा इन्टरनेट भन्दा टिभी प्रतिको आकर्षण बढी छ। फेरी अर्को कुरा ZOOM मा कक्षा संचालन गर्दा वाइट बोर्डको नभई डेस्कटप अथवा ल्यापटप मार्फत नै गरिएको हुन पर्ने हो। ZOOM भनेको भर्चुअल मीटिंग पोर्टल हो। ZOOM मार्फत हामीले गर्न मिल्ने भनेको अडियो अथवा भिडियोका माध्यमबाट कन्फरेन्स, च्याट, वेबिनार हो। यसका अडियो तथा भिडियोहरु केवल होस्टले मात्र कन्ट्रोल गर्न पाउछ। यसको प्रयोगको फाइदाहरु प्रशस्त रहेता पनि सुरुवाती समयमा प्रयोग गर्न त्यति सजिलो भने छैन।
प्रविधिको विकासको अवस्था बारे एउटा सानो प्रसंग जोड्न चाहे। हामी केही साथीहरु मिलेर एउटा कंपनी दर्ता गर्न पर्यो भन्दै कम्पनी रजिस्ट्रारको कार्यलयको आधिकारिक वेबसाईट "http://www.ocr.gov.np" २०७६ सालको नया बर्षको दिन हेरियो। नेपाल सरकारले कम्पनी दर्ता गर्न सहजीकरण गरेको जतिसुकै प्रचार गरेता पनि प्रचार गरिए जस्तो सहज महसुश भएन। उदाहरणको लागि सोही वेबसाइटमा कम्पनी दर्ता बिधि रहेता पनि कम्पनि दर्ताको लागि घरमै बसेर प्रक्रिया अगाडी सार्ने प्रविधि नरहेको पाइयो। त्यस बाहेक कम्पनी प्रशाशन लगायतका आइकन रहेता पनि त्यहाँ भित्र खोज्दा खाली रहेको पेज बाहेक केही भेटिएन र बन्दाबंदी सकिए पछि सोही बिषयमा रुची रहेमा दर्ता प्रकृया अगाडी बढाउने निर्णय सहित तत्काललाई सबै कम रोक्ने निर्णय गरियो। हामी प्रविधिमा कत्तिको अगाडी बढ्दै छौ भन्ने यो एक नमुना उदाहरण मात्र हो। बिज्ञद्वारा निर्मित अनि बिकशित नेपालको सरकारी निकाय अन्तर्गत रहेका वेबपेजहरु त पूर्ण देखिदैनन भने आम जनताहरु प्रविधिसंगै हुर्किएका - अगाडी बढेका सोच्नु कति सम्मको सान्दर्विक होला ?
अर्को आधारभूत कुरा के छ भने ZOOM लगायतका हाललाई लोकप्रिय एप्लिकेशनहरु चलाउन टेक्निकल युजर हुन जरुरी छ। प्रविधि संग घुलमेल नभएकाहरु बीच यसको प्रयोग बिधि सिकाउन जटिल र कतिपय अवस्थामा असम्भव पनि देखिन्छ। त्यस बाहेक यसको डेटा गोपनियताको बिषयमा समय समयमा प्रश्नहरु उठिरहेको पाइन्छ। अहिलेको अवस्थामा यो भनेको दीर्घकालीन उपाय पनि होइन किन भने यसको प्रो भर्जन लिनको लागि मासिक रुपमा लगभग नेपाली रु. २००० जति तिर्नु पर्दछ। अहिले विश्वमा ब्याप्त कोरोनाका कारण सहुलियत स्वरुप यो एप्लिकेशनले केही सहजीकरण मात्र गरेको हो। हाम्रो जस्तो मुलुकमा सबै प्रयोगकर्ताका लागी यस्ता प्रविधिहरु आवश्यक रहेता पनि आर्थिक कारणले त्यति सहज देखिदैनन।
यस्तो अवस्थामा नेपाली परिवेशमा भर्चुअल भन्दा पनि अनलाइन कक्षा मात्र बढी प्रभावकारी देखिन्छ। उदाहरणको लागि जनमानसमा चर्चित यूट्युब (YouTube) अथवा फेशबुक लाइव (Facebook Live) लाई अनलाइन कक्षाको माध्यम मान्ने हो भने यो माथी उल्लेखित प्रविधि भन्दा धेरै सजिलो र प्रयोगात्मक मानिन्छ। विश्व इन्टरनेट तथ्यांकको (Internet World Stats) सन २०१८ को डिसेम्बर महिनामा तैयार पारिएको डेटा अनुसार नेपालमा लगभग २९.८% जनता फेशबूक मार्फत इन्टरनेटमा कनेक्टेड रहेको पाइन्छ। यो भनेको माथी उल्लेखित १९% र ७.८% भन्दा उल्लेखनीय संख्या हो। अर्को कुरा यू-ट्युब मार्फत प्रसारित हुने भिडियोहरु फेशबूक भन्दा बढी गुणस्तरिय मानिन्छ। साथै जो कोहिले जहिले पनि कम डेटा प्रयोग गरेर यू-ट्युबका भिडियोहरु सजिलै हेर्न अथवा भिडियोलाई अफलाइन डाउनलोड गरेर हेर्न सकिने लगायतका फिचर्स भएकाले यसको लोकप्रियता जनमानसमा बढेको छ। यसका साथै यू-ट्युब भिडियो हेर्न कुनै अकाउन्ट नै चाहिन्छ भन्ने पनि छैन। मोबाइलको एयाप स्टोर मार्फत सजिलै डाउनलोड गरेर तुरुन्त प्रयोग गर्न सकिन्छ। साथ-साथै आम जनतामा प्रचलित प्रविधि छोडेर नया खालका टेक्निकल प्रविधिहरुको प्रयोगले अज्ञानताका कारण उनीहरुमा हिनताबोध त हुन्छ नै त्यस माथि हामीले प्रयोग गरेको प्रविधि कत्तिको प्रयोगात्मक रहन्छ त यो पनि सोच्न पर्ने बिषय हो।
यू-ट्युब च्यानलका प्रशस्त फाईदाहरु पनि छन। कैयौ बेरोजगार युवाहरुका लागी यू-ट्युब एक रोजगारको श्रोत पनि भएको छ। यू-ट्युब स्टुडियो मार्फत भिडियोहरु अपलोड गर्नका साथै त्यसमा रहेको कस्टमाइज च्यानल मार्फत अपलोड गरिएका भिडियोहरुलाई आम्दानीको श्रोतमा सजिलै परिणत गर्न सकिन्छ। साथै वेबसाइटमा उपलब्ध निशुल्क साइटहरु जस्तै www.canva.com लगायतले हाम्रो यू-ट्युब च्यानललाई आवश्यक पर्ने Thumbnails/Icon सहितका आवश्यक टुल्सहरुलाई प्रोफेशनलली बनाउन मद्धत पुर्याउदै आएको पनि छ।
अन्त्यमा अनलाईन कक्षाहरु देखावटी भन्दा पनि प्रभावकारी रुपमा अगाडी बढाउन सकेमा सबैलाई सहयोग पुर्याउदछ। कक्षा संचालकहरुले आफुलाई भन्दा पनि आम बिद्यार्थी केन्द्रित अनलाईन श्रोतको माध्यमबाट कक्षा सुचारु गरे यसको दूरगामी प्रभाव रहला। अन्यथा सस्तो लोकप्रियताका लागी जटिलता मुख्य चुनौती रहने सुनिश्चित छ। निश्चित निकाय, बिद्यालय तथा क्याम्पसहरु सामाजिक संजालमार्फत लोकप्रिय हुन कक्षा संचालन गरेको देखाइरहदा आम बिद्यार्थीको त्यस प्रतिको पहुच र प्रयोग कुन तहमा छ अध्ययन र अनुसन्धान नगरी प्रयोगमा ल्याइनु एक दुखद दूर्घटना मात्र हो ।
श्रोतहरु: https://www.adb.org/sites/default/files/linked-documents/cps-nep-2013-2017-pa-detailed.pdfhttps://www.canva.comhttps://cbs.gov.np/annual-household-survey-2016_17/https://www.cnet.com/news/zoom-security-issues-zoombombings-continue-include-racist-language-and-child-abuse/https://www.internetworldstats.com/asia.htmhttp://www.ocr.gov.np/index.php/np/https://www.unicef.org/nepal/educationhttps://www.youtube.comhttps://zoom.us
प्रतिक्रिया