ताजा अपडेट »

स्वस्थानी ब्रतकथा : समालोचनात्मक चेत

सोमबार, २९ पुस २०८१, १३ : ४३
146 Shares
सोमबार, २९ पुस २०८१
146 Shares

राजेन्द्र कुँवर/ आजबाट स्वस्थानी व्रत कथाको प्रारम्भ  हुँदै छ । स्वस्थानी ब्रत कथा नेपाली हिन्दू समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले निकै महत्त्वपूर्ण छ। हिन्दू नारीहरुले यसलाई  अत्यन्तै  महत्त्वपूर्ण  ब्रतका रुपमा लिने गर्दछन् । मेरो दृष्टिकोणमा यसका सबल र दुर्बल  आयामहरु यस प्रकार छन्स्
सबल आयामहरु 

१.धार्मिक विश्वासको सुदृढीकरण
यो कथा मूलतः  शिवपार्वतीको आराधनमा केन्द्रित छ । हिन्दूहरुमा धार्मिक  सबलीकरणका लागि गरिने ब्रतहरुमध्ये यो सबैभन्दा ठूलो व्रत हो।
२. स्वास्थ्य  लाभ 
ब्रतहरु स्वास्थ्यका दृष्टिकोणले  उपयुक्त  हुन्छन । खानपिनलाई मिलायर व्रत गर्नु स्वास्थका दृष्टिले लाभदायक  मानिन्छ ।
३ .पारिवारिक  मिलन 
यो ब्रतका समयमा साँझमा  स्वस्थानी पढिन्छ । परिवार र छरछिमेकमा सामूहिक रूपमा कथा वाचन र पूजा गर्दा सामाजिक एकता बढ्छ। पारिवारिक  सदस्य  र छिमेकमा सुमधुर  सम्बन्ध  स्थापित  हुन्छ ।
४.  परम्पराको संरक्षण
यो अलौकिक कथा हो । यो परम्परादेखि चलिरहेको महत्त्वपूर्ण  कथा र व्रत हो । पुरानो परम्परा र संस्कृतिको निरन्तरता दिन यसले ठूलो भूमिका खेल्छ। 
५.मनशान्ति 
मानिसका आआफ्ना  स्वभाव  र रुचि हुन्छन । कथा सुन्नु र ध्यान गर्नुले मानसिक शान्ति प्राप्त हुन्छ। यो एक किसिमको  ध्यान पनि हो ।
६. पठन र श्रवण सीपको विकास 
पठनुभन्दा धैर्यताका साथ श्रवण  गर्नु कठिन काम हो । महिला र बालबालिकालाई  पठन र श्रवण  सीपको विकासमा यसले महत्त्वपूर्ण  भूमिका निर्वाह गरेको छ।
७. आत्मबलको विकास 
 खास गरेर महिला , बालबालिका  र ज्येष्ठ नागरिक यस कथाका रुचिकर  पात्र हुन । विशेष गरी महिलाले यो ब्रत लिने भएकाले उनीहरूको धार्मिक सक्रियता र आत्मबल विकासमा सहयोग पुग्छ। व्यक्तित्व विकास र नेतृत्व  विकासमा यसले सहभागीहरूमा विशेष  भूमिका निर्वाह गर्दछ।
८. अनुशासन 
धर्म एउटा अनुशासन  हो। यो व्रत र कथाले पनि मानिसलाई  सरसफाइ , ठूलालाई आदर र सानालाई माया गर्ने परम्परागत मान्यतामा विशेष टेवा पुर्याउने काम गर्दछ ।
९. शाकाहारी भोजनमा बढोत्तरी 
स्वस्थानी व्रत कथाको समयमा मानिसहरु शाकाहारी भोजन ग्रहण  गर्छन् । कतिपय  मांशाहारीहरु यही समयबाट नै सधैका लागि शाकाहारी बन्छन जुन स्वास्थ्यका लागि हितकर छ।
१०. पशुबधमा कमी
स्वास्थानीब्रतले संसारका प्राणीको  बाँच्न पाउने अधिकारको संरक्षण गर्दछ । मूलत हिन्दू बाहुल्य  क्षेत्रमा  यो समयमा पशुबधको संख्यामा  उल्लेख्य  रुपमा कमी आउँछ ।
दुर्बल आयामहरु 
१ .  धार्मिक  अन्धविश्वास 
वर्तमान  युग विज्ञान र प्रबिधिको युग हो । यो कथाले काल्पनिक , असम्भव र कपोलकल्पित विषय उठान गरी धार्मिक  अन्धविश्वासलाई बढावा दिएको छ।  धर्मको वैज्ञानिक  व्याख्याले यसको महत्त्व  र गरिमा बढाउँछ भन्ने अन्धविश्वासले यसका दर्शक, श्रोता मात्रै  नभएर धार्मिक  जनसंख्यामासमेत प्रभाव पार्दछ।
२. लैङ्गिक विभेद
स्वस्थानी ब्रत विशेषतः महिलाले मात्र लिनुपर्ने परम्पराले लैङ्गिक असमानता झल्काउँछ। यसको सबैभन्दा दुर्बल पक्ष नै यही हो। यो कथाले नारीजातिलाई दोस्रो  दर्जाका मानिसका रुपमा चित्रण  गरेको छ। हिन्दूहरुका धार्मिक  ग्रन्थमध्ये नारीहरुलाई सबैभन्दा हेपिएको, दबाइएको र महिला भएर जन्मिएकोमा ग्लानि बोध गर्नु पर्ने कथा स्वस्थानी कथा हो।
३. आर्थिक  विभेद
स्वस्थानीब्रत एक महिनासम्म लगातार रुपमा गर्नु सर्वसाधारण महिलाका लागि कठिन छ । सम्पन्न र मध्यम  वर्गलाई सहज भए पनि मजदुर , किसान र श्रमिकका लागि अति कठिन देखिन्छ ।
४. बालविवाह  र बहुविवाहलाई प्रश्रय 
स्वस्थानी ब्रतकथामा हरेक कोणले महिला मात्रै   चरित्रवान हुनु पर्ने , बालिकाको बालविवाह   पनि गर्न सकिने अनि पुरुषले  बहुविवाह  र  पर  नारीसँगको सम्बन्धलाई पनि सामान्य रुपले लिएक‍ छ । पुरुषलाई  शास्त्रकै बलमा नारीहिंसामा लाग्न हौसला दिएको देखिन्छ ।
५ पुरुष प्रधान दृष्टिकोण 
स्वस्थानी ब्रतकथा पुरुष  शासक र महिलालाई  शासित बनाउने कथा हो। महिला  पुरुषको इसारामा नाँच्नु पर्ने , उनीहरुको दास बन्नु पर्ने  अनि पुरषका सम्पूर्ण  इच्छाशक्ति  महिलाहरुले पूरा गर्नुपर्ने एकपाखे दृष्टिकोण यसमा देखिन्छ ।
६ जातीय  र सामाजिक विभेद 
स्वस्थानी ब्रतकथाले जातिबादलाई बढावा दिएको छ । मानिस कर्मले होइन जातले ठूलो भइन्छ  भन्ने सामाजिक सोचलाई मलजल गरेको छ । समाजमा हरेक मानिसको समान हैसियत  हुन्छ भन्ने कुरालाई बिर्सिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।