ताजा अपडेट »

गाउँमै उद्यम, गाउँमै रोजगारको अभियानमा निरु

मंगलबार, १८ असार २०८१, १५ : १७
2.53K Shares
मंगलबार, १८ असार २०८१
2.53K Shares

निरु घर्ति, यतिबेला ताराखोला गाउँपालिका, बाग्लुङ्गमा उद्यम विकास सहजकर्ता छिन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट दोस्रो तहको सीप परीक्षणमा उत्तीर्ण उनी यतिबेला गाउँले दिदीबहिनी तथा दाजुभाइलाई उद्यमी बन्नका लागि सिकाउँदै छिन् । आर्थिक वर्ष २०७७÷०७८ बाट ताराखोला गाउँपालिकामा उनले आफ्नो जागिर सुरु गरेकी हुन् । २०८०÷०८१ सम्म आइपुग्दा उनका गाउँपालिकामा तीन सय १० जनाले सीप तथा व्यवसायमूलक तालिम पाएपछि करिव ५० जना बाहेक बाँकी सबैजना रोजगार एवम् स्वरोजगारी भएका छन् ।

गाउँगाउँमा उद्यम गर्न रुचाउने तर ज्ञान, सीप र क्षमता नभएकाहरुलाई भेला गर्ने, कुन उद्यम वा व्यवसाय गर्ने हो सो बारेमा जान्ने र छनौट गर्ने, स्थानीय साधन–स्रोतका आधारमा गाउँघरमै स्वरोजगार हुन सक्ने उद्यम, व्यवसायको पहिचान गरी समूह बनाएर अब्बल प्रशिक्षकहरुबाट सोही विषयमा तालिम दिँदै सहभागीहरुलाई दक्ष बनाउँदै आएको निरुले सुनाइन् ।

niruko uddham

ताराखोला गाउँपालिका आलु र अल्लोको लागि नामी गनिन्छ । यहाँका आलुलाई चिप्स बनाउने तालिम दिएर गाउँलेहरुलाई पालिकाले स्वरोजगार बनाएको छ । त्यसैगरी अल्लोबाट टोपी, कोट, आस्कोट, ब्याग, पर्स लगायतका सामग्रीहरु तयार पारेर देश, विदेशसम्म बेच्न पुराईएको निरुले बताइन् । यसबाट गाउँलेहरुले मनग्य आम्दानी गर्दै आएका छन् । ताराखोला गाउँपालिकाको आलुको बयान गर्दै कलाकारहरु वसन्त थापा र खीमा रोका मगरले पञ्चेबाजाको तालमा गीत गाएका छन् । गीतले ताराखोला र यहाँ उत्पादित आलुको भव्य बयान र प्रचार गरेको पाइन्छ ।

आलु मीठो ताराखोलाको
 हाँसम बोलम
 हा ....हा ....
 गरौं रमाइलो  
के भर छ र ?
मर्ने चोलाको
 नारान
मर्ने चोलाको ?

पञ्चेबाजाको तालमा गाइएको यो गीतले पक्कै पनि धेरैको मन छोएको छ । जीवनको गहिराईसम्म सबैलाई पुर्याउने काम गरेको छ ।

निरुले आफू उद्यम विकास सहजकर्ता भईरहँदा  गाउँलेहरुलाई परम्परागत सिलाईकटाई तालिममात्र होइन, कुल्फी बनाउने, होजरी उद्यम सञ्चालन गर्नका लागि तालिमको व्यवस्थापन गरिसकेकी छन् । त्यतिमात्र होइन ताराखोला गाउँपालिकाका पाँचै वडामा त्यहाँका दिदीबहिनी, दाजुभाइहरुलाई साबुन, सरफ बनाउने, व्यवसायिक तरकारी खेती, अगरबत्ती बनाउने, ढाका बुन्ने, खाडीभाङग्रा बुन्ने लगायतका तालिमको गाउँपालिकासँग मिलेर प्रवन्ध गरिसकेकी छन् ।

गाउँलेहरुले दूधजन्य उत्पादनबाट मिठाई बनाउने तरिका सिकेका छन् । झिलिङ्गा बनाउने तालिम पाइसकेका छन् । कतिपय दिदीबहिनीहरुले तिहारमा झिलिङ्गा बेचेर पैसा आर्जन गरे । कतिपय युवाहरुले मिनिटेलर मर्मतसम्बन्धि तालिम लिएर गाउँलेहरुलाई सहयोग गरिरहेका छन् । अल्लो धागो उत्पादन, सोबाट ब्याग निर्माण सम्बन्धी तालिम पाएर गाउँमै स्वरोजगार भईसकेका छन् ।

उद्यम विकास सहजकर्ताको तालिम लिन बुटवल जाँदा निरुले बाबा लक्षुमन घर्तिसँग रोइकराई गरेकी थिइन् रे ! एकलाख १५ हजार तालिम केन्द्रलाई बुझाउनु पर्ने अनि होस्टेलमा बस्दा, खाँदाको छुट्टै खर्च । त्यत्रो पैसा कसरी जुटाउन सकिन्छ र, भनी उनकी आमा मनकलीले लेघ्रो तानेको हिजोजस्तै लाग्छ रे ! निरुलाई ।

बाबाआमाका चार सन्तानमध्येकी निरु जेठी छोरी हुन् । बाबा वैदेशिक रोजगारका लागि परदेश छन् । आमाले घाँस, दाउरा, छोराछोरीको स्याहारसुसार गर्दै जीवन गुजार्दैछिन् । निरुले उद्यम विकास सहजकर्ताका रुपमा पहिलोपटक लमजुङको दोर्दी र कोहलासोथार गाउँपालिकामा काम गर्ने गरी नेपाल युवा विकास मञ्च नामक गैरसरकारी संस्थामा तीन महिनाका लागि जागिरे भइन् । महिनामा २० हजारका दरले तलब बुझेकी थिइन् । पाएको तलबले धवलागिरी बहुमुखी क्याम्पसमा व्यवस्थापनतर्फ स्नातक तहको पहिलो वर्षका लागि भर्ना भइन् । भाइ मिलन घर्तिलाई राम्रो मोबाइल किन्दिइन् । बचेको पैसाले क्याम्पसको मासिक शिक्षण शुल्क एकमुष्ट तिरिन् र लत्ताकपडा खरीद गरिन् ।

बाग्लुङको विकट बस्ती ताराखोलामा जन्मि, हुर्केकी निरुलाई गाउँले जीवन र अविवाहित भएपनि घरव्यवहार सञ्चालन पद्दतिका बारेमा राम्रो हेक्का छ । उनले स्नातक तहको पढाईलाई अन्तिम चरणमा पुराएकी छन् । भाइबहिनीको पढाईमा सघाएकी छन् । उमेर र कदले सानी भएपनि निरुको व्यवहारिक जीवनको उचाइँ अग्लो मान्न सकिन्छ ।

uddham talim

ताराखोला गाउँपालिकाभित्र सबैका घरदैलामा पुगेकी छन् । गाउँको परिवेश बुझेकी छन् । गाउँलेहरुलाई आत्मनिर्भर बनाउनका लागि उद्यममा जोड्न हरदम प्रयास गरिरहेकी छन् । स्थानीय सरकारले रोजगार र उद्यममा जोड दिइरहेको बेला गाउँलेहरुको वैदेशिक रोजगारका लागि परदेशिने दरलाई रोक्न गाउँमै उद्यम, गाउँमै रोजगारको नारालाई साकार बनाउन कम्मर कसेर लागेकी छन् । गाउँलेहरुका आर्थिक गतिविधिहरुलाई नजिकबाट नियालेकी छन् । आफूले पढ्दा र परेर जानेका उद्यम, व्यवसायसम्बन्धि  सैद्धान्तिक एवम् व्यवहारिक कुराहरुलाई गाउँलेहरुसँग साटेकी छन् ।

आफ्नो फेसवुकवालमा गाउँका आर्थिक समृद्धिका कुरा तथा फोटोहरु राखेर बयान गरेकी हुन्छिन् । टिकटकमार्फत संसारभरि गाउँलेहरुका कामलाई प्रचार गरेकी हुन्छिन् । ताराखोलाको आर्थिक समृद्धिका लागि उनको सामाजिक सञ्जाल समेत प्रचारप्रसारको गतिलो साधन बन्न सकेकोमा उनी आफू खुसी छिन् ।

इच्छुक गाउँलेहरुलाई व्यवसाय एवम् उद्यम गर्नका लागि प्रारम्भिक ज्ञान दिन्छिन् । व्यवसाय तथा उद्यम सञ्चालकहरुलाई व्यवसायिक योजना बनाउन सिकाउँछिन् । व्यवसाय तथा उद्यम सञ्चालका कठिनाइ, आइपर्ने समस्याहरु र समाधानका बाटाहरुका बारेमा समेत निरुले सहजीकरण गर्दै आएकी छन् । उनी भन्छिन्–निर्वाहमुखी पशुपालन र खेतीपाती गर्दै आएका गाउँलेहरुलाई आधुनिक एवम् प्रविधिमैत्री र निर्यातमुखी पशुपालन तथा खेतीपातीमा समाहित गर्न खोज्नु चुनौतीपूर्ण काम रहेछ । परम्परागत प्रचलन नै आजको समस्या मान्न सकिन्छ ।

सरकारसँग उनी र उनीजस्तै धेरै उद्यम विकास सहजकर्ताहरुको एउटै गुनासो छ । त्यो हो–सरकारले उद्यमशीलताका लागि प्राथमिकता दिन छाड्यो । उद्यम विकास सहजकर्ताहरुका लागि बजेट स्थानीय सरकारहरुले छुट्टाउनु पर्ने बाध्यकारी अवस्था आइसकेको बेला केन्द्रीय तथा प्रदेश सरकारले गाउँगाउँमा व्यवसायी तथा उद्यमी तयार पार्ने कामलाई यथेष्ट बजेट विनियोजन गर्नुपर्छ ।

niru gharti

निरुजस्ता सयौं उद्यम विकास सहजकर्ताहरुले देशभरि व्यवसायी तथा उद्यमीहरु तयार पार्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । देशलाई आर्थिक समृद्धिमा लैजानका लागि उद्यम विकास सहजकर्ताहरुको योगदान महत्वपूर्ण छ भन्ने कुरालाई कसैले भुल्न नहुने निरुको तर्क छ ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार