ताजा अपडेट »

राष्ट्र बैंकले सार्वजनिक गर्यो मुलुकको आर्थिक स्थिती (पूर्ण विवरणसहित)

सोमबार, २८ जेठ २०८१, १८ : ०३
676 Shares
सोमबार, २८ जेठ २०८१
676 Shares

बुटवल । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेको छ ।

नेपाल सरकारको खर्च रु १०५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु ८३१ अर्ब ९३ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२. ४ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको पनि बैंकले जनाएको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १७.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु ३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु १९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको बैंकले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।