ताजा अपडेट »

'दालचिनी बेचेको चार करोड कता गयो ?'

सोमबार, २१ जेठ २०८१, ०७ : ५०
2.64K Shares
सोमबार, २१ जेठ २०८१
2.64K Shares

जेठको १० गते । सामुदायिक वन समन्वय समिति, तिनाउ र  बुटवल उपमहानगरपालिका, बुटवलका कर्मचारी साथीहरु विहान नौ बजेतिर तिनाउ गाउँपालिका वडा नं. ३ को बेरुवा गाउँ पुगेका थियौं । दालचिनी कृषि सहकारीको भवनमा दालचिनीको उत्पादन, विक्रीवितरण, देखापरेका समस्या र समाधानका उपायहरुका बारेमा लामो छलफल भयो ।

दालचिनी उत्पादक किसानहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा तिनाउ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष चित्रबहादुर थापा मूल पाहुनाका रुपमा उपस्थित भएका थिए । तिनाउ गाउँ कार्यपालिका सदस्य पम्फा मगर विशिष्ट अतिथिका रुपमा थिइन्  । बुटवल उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन तथा अनुगमन समितिका संयोजक ठगिश्वर पोखरेल अतिथिका रुपमा आसिन थिए ।

दालचिनी सहकारीका अध्यक्ष गुरुप्रसाद शर्माले आफ्नो सहकारीले गर्नुपर्ने धेरै काम रहेको सुनाउँदै दालचिनीले यतिबेला भाउ पाएपनि भण्डारण गर्न नसक्दा समस्या रहेको सुनाए । दालचिनीमा सेतो झुसिलीकीरा जस्तो कीराले समस्या पुराएको हुँदा पात टिप्न गारो रहेको बताए । गाउँमा नगदेबालीको रुपमा रहेको दालचिनीले गाउँलेहरुलाई दाल, चिनी, चियापत्ती, नून, तेल, चामल, लत्ताकपडा, औषधी, शिक्षादीक्षामा खर्च सहयोग पुराएको छ ।

स्थानीय दालचिनी उत्पादक लालु थापाले आफूले दालचिनी मेसीनमा कुटेर बेचेको अनुभव सुनाउँदै गाउँमै बेसार, दालचिनी कुट्ने मेसीन भए उत्तम हुने कुरा सुनाए । उनले सहरमा दालचिनीको भाउ राम्रो भएपनि गाउँलेहरुले लाभ लिन नसकेको गुनासो गरे । बेलदमार, फिरफिरे, बेरुवा, ज्यामिरे, देउराली र झ्याण्टुङ्गमा गरी करिव दुई सय घरमध्ये ९० प्रतिशत स्थानीय किसानहरुले दालचिनी खेती गर्दै आइरहेको र न्यूनतम एकलाख रुपैयाँदेखि चार लाख रुपैयाँसम्मको दालचिनी बेच्ने किसान गाउँमै रहेको प्रमुख अतिथिका रुपमा रहेका वडाध्यक्ष थापाले सुनाए ।

आफ्नो गाउँको मुहार फेर्न दालचिनीले सकेको सुनाउँदै गर्दा विशिष्ट अतिथिका रुपमा रहेकी पम्फा थापाले दालचिनीले गाउँका पुरुषहरुलाई अल्छी बनाएको र दालचिनीको पैसाले उनीहरुलाई खर्चालु बनाएको समेत उल्लेख गरिन् । गाउँमा दालचिनी बेचेर यो वर्ष चार करोड आएपनि त्यो पैसा कहाँ गयो ? कसैलाई हेक्का नभएको सुनाइन् । पैसाले सबै काम हुन्छ भन्ने गलत सोचले समाजलाई हानी गर्न थालेको उनको तर्क थियो । महिला र पुरुषले मिलेर दालचिनीको काम गर्ने हो भने अहिलेको आम्दनीलाई दोब्बर बनाउन सकिने उनको तर्क थियो ।

उनले अर्कोपटक समन्वय समितिको टोली आउँदा पुरुष शिक्षा लिएर आउनुपर्ने ठट्यौली पारामा सुनाइन् । एकछिन हाँसोको फोहोरा छुट्यो । त्यो कुराले एकपटक सबैलाई गम्भीर भएर सोच्ने बनायो । बुटवल उमहानगरपालिका कृषि शाखा प्रमुख सन्तोष जीसीले किसानहरुका समस्याहरुलाई मसिनो तरिकाले केलाएर समाधानका उपायहरुका बारेमा लामो व्याख्या समेत गरेका थिए । दालचिनीको पात र जरामा देखिएको समस्याहरुलाई सहज तरिकाले समाधान गर्ने उपायहरु किसानलाई मज्जाले ब्याख्यात्मक तरिकाले वर्णन गरेका थिए ।

ठगिश्वर पोखरेलले आफ्नो नगर र तिनाउको नाता,सम्बन्ध प्रगाढ रहेको र तिनाउ क्षेत्रको समग्र विकासका लागि हातेमालो आवश्यक रहेको औंल्याए । तिनाउ,बुटवलको शीर रहेको र हरेक कुरा तिनाउबाट प्राप्त गर्न सकिएको बताउँदै तिनाउमा भइरहेको संरक्षणमुखी क्रियाकलापले बुटवललाई अत्यधिक लाभ  भएको सुनाए ।

समन्वय समितिले २०६८ सालमा बेरुमा नै एक दिने दालचिनी मिनी महोत्सव सञ्चालन गरेको थियो । गत वर्षमात्र तिनाउका तीनवटा वडाबाट १५ करोडको दालचिनीको बिक्रीवितरण भएको तिनाउ गापा अध्यक्ष प्रेम श्रेष्ठले बताएका थिए । यतिमात्र होइन समन्वय समितिले बेलदमार, फिरफिरे, बेरुवा, हात्तीकोटहुँदै सराङखोलाबाट झुम्साको पलन्धरसम्मको करिव १२ किलोमीटरको दूरीलाई तीनवर्ष अघि दालचिनी पदमार्ग (फूट ट्रेल) का रुपमा घोेषणा गरेको थियो ।

सोही दिन हामीलाई तिनाउको वडा नं २, सुकेतालमा रहेको चिउरी संरक्षण अभियानको अवलोकन र अनुगमन गर्ने अवसर प्राप्त भयो । साथमा सोही वडाका वडाध्यक्ष तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल पनि थिए । सुकेताल क्षेत्रमा ट्याग लगाइएको ६ सय बढी चिउरीका रुखहरु रहेछन् । गाउँलेहरुले चिउरीको बोट,घाँस काट्ने कामलाई दुई वर्ष रोक्ने अभियानले यो वर्ष स्थानीयहरुले प्रशस्त पाकेको चिउरी फल प्राप्त गर्न सकेको बताए । त्यसबाट स्थानीयहरुले रक्सी पार्न पाएको,चिउरीको गेडाबाट घ्यू निकाल्न सकेको र बस्तुभाउलाई प्रशस्त घाँस प्राप्त गर्न सकेको शिवगुफा सावउसका अध्यक्ष शिवबहादुर पेग्मीले सुनाए । सामुदायिक वन समन्वय समितिले चिउरी संरक्षणका लागि गरेको यो अभियानले सार्थकता पाउँदै गरेको छ ।

वडाध्यक्ष यादवप्रसाद अर्यालले तिनाउको सुकेतालमा किसानहरुको माग र आवश्यकता भएमा चिउरीको घ्यू निकाल्ने मेसीन किन्न सकिने बताए । तर किसानहरुले जागरुक्ता देखाउनु पर्ने र स्रोतको राम्रो प्रयोग गर्न सकिएमा गाउँलेका आम्दानी बढ्ने उल्लेख गरे ।

दिनभरिको यात्रामा सामुदायिक वन समन्वय समितिका तर्फबाट प्रेम पाण्डेय,गणेश रास्कोटी,नैना क्षेत्री,जगबहादुर क्षेत्री,सरिता गुरुङ लगायतका साथीहरुको सार्थक सहभागिता थियो । तिनाउको समृद्धिका लागि दालचिनी,अम्रिसो,चिउरीको उचित व्यवस्थापन आवश्यक देखिन्छ । उत्पादन र बजारीकरणलाई राम्रो प्रवन्ध गर्न सकिएमा तिनाउमा हरित् क्रान्तिबाट आर्थिक समृद्धि देखिन्छ ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार