ताजा अपडेट »

पहिले नाम अहिले बदनाम : ग्राहक ढाट्दै 'खुदो' खुलाउने गुल्मीका व्यापारी !

शुक्रबार, ११ जेठ २०८१, ०४ : ४३
3.86K Shares
शुक्रबार, ११ जेठ २०८१
3.86K Shares

गुल्मी । शुद्ध खुदो-गुड पाइने भनेर प्रसिद्धि कमाएको गुल्मी जिल्ला केही व्यापारीको स्वार्थ र बदमासीले अहिले भने बदनाम बनेको छ । गुल्मीको अगाह बजारका व्यवसायीहरुले ग्राहकलाई शुद्ध खुदो तथा गुडका नाममा ठगी गरेको प्रमाणित भएको छ । 

जिल्लाको छत्रकोट गाउँपालिका-४ मा पर्ने अगाह बजारमा जिल्ला प्रशासन कार्यालय गुल्मीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय गुल्मी लगायतका विषयगत कार्यालयहरुले गरेको अनुगमनको प्रतिवेदनबाट भारतीय बजारबाट आयातित भेली र चिनी मिसावट गरी शुद्ध गुड भन्दै  ग्राहकलाई ठगी र कालोबजारी गर्दै आएको  खुलासा भएको हो । केही दिन अघि उखु महोत्सव आयोजना गरी दिगामको  उखु, खुँदो र गुँडलाई देश-विदेशसम्म प्रचारप्रसार गराउने छत्रकोट गाउँपालिकाको पवित्र उद्देश्यमाथि यस घटनाले गम्भीर धक्का पुर्याएको छ । त्यस वडामा सबै भन्दा बढी कारोबार गर्ने गाउँले ग्रुप अफ इण्डस्ट्रीज प्रा.लि. रहेको छ । त्यसका सञ्चालक जगदिश पाण्डेले महोत्सवमा आफूले चार सय रोपनी क्षेत्रफलमा उखु खेती गरेको र वार्षिक एक करोडसम्म कारोबार गर्ने बताएका  थिए । उनकै उद्योग दर्ता नगरीएको, उद्योग स्थलमा सरसफाईमा कमजोरी गरी चलाईएको प्रतिबेदनमा उल्लेख छ । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भने-'दुई पटक अनुगमन गरियो । अब तेश्रो पटक अनुगमन गर्दा मापदण्ड अनुसार दर्ता गरी शुद्ध गुड खुदोको कारोबार नगर्ने ब्यबसायीको ब्यबसायी बन्द  गर्ने प्रकृयामा छौं ।'

छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा गरिएको अनुगमनमा छत्रकोट ४ को अगाह बजारमा  सबैभन्दा बढी ग्राहक ठगीको धन्दा हुने गरेको प्रतिबेदनमा उल्लेख छ । 'कति वटा उद्योगले कालो बजारी गर्दै ठगी गरे ?, भनेर नसोध्नुस् अगाह बजारको गुँड खुदोमा सतप्रतिशत ठगी गरेको हामीले पायौं ।'-अनुगनमा पुगेका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिृकत  दिनेश ज्ञवालीले भने । अगाह बजरका अधिकांस गुँड खुदो रिडी बजार र बुटवलसम्म विक्री वितरण हुने गरेको छ । रुरुक्षेत्र १ को रिडी बजारका पसल, होटलहरुमा पनि टोलीले अनुगमन गरेका छ । त्यस्तै रुरुक्षेत्र गाउँपालिका-३ थोर्गाथाना उखु खेती र खुदो  गुँड उत्पादनमा सदियौंदेखि कहलिएको  थलो हो । अनुगमन टोलीले उक्त ठाउँमा समेत विभिन्न कमजरी फेला पारेको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका वरिष्ठ उद्योग अधिकृत सुरेन्द्र भण्डारीको संयोजकत्वमा पुगेको अनुगमन टोलीले कमजोरीहरु फेला पारेको हो । त्यस वडाका देवेन्द्र गौतमको उद्योगमा गुँड खुदोसंगै भारतबाट आयातित भेली फेला पारेको छ  ।

अधिकांशले मूल्य सूची र साइन बोर्ड नटागेको, खरिद विक्रिका बिल नकाटी मनोमानी विक्रिवितरण गरेको, शुद्ध खुदो उत्पादनका लागि छुट्टै उद्योग दर्ता नगरेको र उत्पादकहरुमा कानुनी चेतनाको अभाव भएको अनुगमन टोलीको निकर्ष छ ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले अब यसरी ग्राहक ठग्ने र  खुदो गुणमा थानापति थोर्गालाई बदनाम गर्ने जो कोहीलाई नछाडिने चेतवानी दिए । यस्ता गल्ती बढी देखिएकाले अनुगमन टोलीबाट दिएको सुझाव, निर्देशन तथा चेतावनीलाई अटेर गरी कानुन विपरित जनस्वास्थ्यसँग खेलवाड गर्ने व्यवसायीलाई कारबाही  गर्ने गरी जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा पुनः पटक-पटक बृहत रुपमा अनुगमन गर्नुपर्ने  जरुरी देखिएको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार