ताजा अपडेट »
पर्यटन

थाई एयरवेजद्वारा नेपालमा पुनः उडान सुरु

शुक्रबार, ११ जेठ २०८१, ०७ : ००
38 Shares

काठमाण्डौं । थाइल्याण्डको ध्वजाबाहक एयरलाइन्स् थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरुआत गरेको छ। थाइ एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौँ सम्मको उडान गरिरहेकामा कोरोना महामारीका कारण आफ्नो उडान स्थगित गरेको थियो।

 नेपाललाई विश्वसँग जोड्ने र विश्वबजारका यात्रुहरुलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो। थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो।

हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुन उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाइ एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो।

थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन बिट किचाथोर्नले काठमाडौँ र बैंकक बीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा भएको भन्दै यो सेवाले नेपाललाई थाइल्याण्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने विश्वास व्यक्त गरे।

नेपालमा पहिलो पटक सेवा सुरु गरेदेखिनै थाई एयरवेजको यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको उनको भनाइ छ।  हाल थाई एयरवेजले ६० भन्दाबढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रीमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ। हाल थाई एयरवेजसँग कूल ७३ विमान छन्।

थाई एयरवेजले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ। थाइ एयरवेज थप नेपाली यात्रुहरूलाई थाई आतिथ्यताको न्यानोपनसहित स्वागत गर्न तत्पर रहेको विज्ञप्तिमा जनाइएको छ। #रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।