ताजा अपडेट »

असिम बाबु गरुङ्गे : संघर्ष, समर्पण र सफलता

विहीबार, १० जेठ २०८१, १६ : ३४
174 Shares

असिम बाबु गरुङ्गे, एक प्रेरणादायक व्यक्तित्व, अध्ययन  बायोमेडिकल इन्जिनियरिङ तर बडिबिल्डिंग खेलबाट देशमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। नवलपरासीको पर्सौनी भेउरन भन्ने गाउँमा २०४७ साल असोज १६ गते जन्मिएका असिमको जीवन कथा संघर्ष र साहसको अनुपम उदाहरण हो।

बाल्यकालका कठिन दिनहरू

असिमको बाल्यकाल धेरै कठिन थियो। उनका बुवा बिर बहादुर गरुङ्गे प्रहरी सेवामा संलग्न थिए भने आमा कुसुम कुमारी गरुङ्गे घरका काममा ब्यस्त रहन्थिन्। असिमको बाल्यकालको अधिकांश समय दीपेन्द्र प्रहरी विद्यालय, साँगाको होस्टेलको कडा अनुशासनमा बित्यो। एकपटकको दशैंको छुट्टीमा सबै साथीहरू घर गएर खुशी मनाउँदै गर्दा उनलाई लिन भने घरबाट कोही नआउँदा, त्यो दुखद पल अझै पनि उनको मानसपटलमा ताजै छ। 

खेलमा उत्कृष्टता

एक्लोपन र दुःख भुलाउन उनले खेलकुद र पढाइमा आफूलाई व्यस्त राखे। फुटबल र तेक्वान्दोमा असिमले अपूर्व सफलता प्राप्त गरे। तेक्वान्दोमा ब्ल्याक बेल्ट र फुटबल प्रतियोगिताहरुमा बेस्ट प्लेयरको उपाधि जित्दै, उनले आफ्नो उत्कृष्टता प्रमाणित गरे। प्लस टु सकाएपछि भने उनले व्यायामशालाको यात्रा सुरु गरे, निकै खर्चिलो हुने उक्त खेलका खुराकका लागि घरबाट दिइएको पकेट मनी र कहिलेकाहीँ सापट समेत लिएर पनि व्यायामलाइ निरन्तर कायम राखे।

बडिबिल्डिंगमा उत्कर्ष

 

बलिउड अभिनेता सलमान खान र अमेरिकी बडिबिल्डर आर्नोल्ड श्वार्जनेगरबाट प्रेरित असिमले १५ वर्षसम्म कडा परिश्रम गरे। २०७९ सालमा आयोजित १६औं धर्मश्री प्रतियोगितामा पहिलो पटक भाग लिएर, ६५ केजी तौल वर्गमा टप ६ मा परे। त्यसपछि ९औं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक, ८औं मिस्टर हिमालय प्रतियोगितामा स्वर्ण पदक, र ५५औं एसियन प्रतियोगितामा समेत ऐतिहासिक रजत पदक जित्दै, उनले नेपाली शारीरिक सुगठन खेलमा आफ्नो स्थान सुरक्षित गरे।

परिवार  व्यक्तिगत जीवन र प्रेरणा

असिमको व्यक्तिगत जीवन पनि संघर्ष र प्रेरणाले भरिएको छ। उनी एक प्रेमिल पिता पनि हुन्, जसले आफ्नो छोराको जन्मलाई जीवनको सबैभन्दा खुशीको क्षण मान्छन्। तर, श्रीमतीलाई डेलिभरी पश्चात् आईसियुमा राख्नुपरेको क्षण र एसियन प्रतियोगितामा स्वर्ण पदक जित्न नसकेको समय उनको जीवनको कठिन पलहरू हुन्। असिम  अहिले उनी Muscle and Fitness, Gym X, र Waterfront Fitness Studio मा नियमित रूपमा जिम प्रशिक्षण गरिरहेका छन्। उनले आफ्नो पहिलो जिम प्रशिक्षकका रुप प्रकाश महर्जनलाई मान्छन् भने अर्को महत्त्वपूर्ण प्रशिक्षक चर्चित शारीरिक सुगठन खेलाडी ग्रिस महर्जनलाई प्रेरणाको स्रोत मान्छन्।

2

हालको जीवनशैली र डाइट प्लान

उनको दैनिक जीवनशैली निकै अनुशासित छ। एक गिलास मन तातो पानीले दिनको सुरुवात गर्छन् र सन्तुलित खानपानमा ध्यान दिन्छन्। ब्रेकफास्टमा एग्सको आमलेट, फलफूल र कफि, लन्चमा दाल, भात, तरकारी, र अचार, मिड स्न्याक्समा फलफूल वा जुस, प्रि(वर्कआउटमा ओट्स, र पोस्ट(वर्कआउटमा एग वाइट, ग्रिल पनिर, बोईल चिकन, गाजर, ब्रोकाउली, आलु, र सलाद समावेश हुन्छ।

स्टेरोइड प्रयोग र सुझाव

स्टेरोइडको प्रयोगलाई औषधिको रूपमा लिई मिलाएर सही दिशानिर्देशमा प्रयोग गर्दा उपयुक्त मान्छन्, तर सकेसम्म प्रयोग नगर्न वा मात्रा मिलाउन नसक्दा विष सरह हुने सुझाव दिन्छन्। 
नयाँ खेलाडीहरूलाई उनले धैर्यता कायम राख्न, स्वस्थ जीवनशैली अपनाउन, र आत्मविश्वास र मेहनतलाई प्राथमिकता दिन सल्लाह दिन्छन्।

अगामी योजनाहरू

असिमले बडिबिल्डिंगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा छाउने लक्ष्य राखेका छन्। तर, हाल परिवारिक जिम्मेवारीलाई प्राथमिकता दिँदै आफ्नो जीवनलाई सन्तुलित बनाउन ध्यान दिइरहेका छन्। देशको परिवेश अनुसार योजना बनाउँदै, बडिबिल्डिंगमा निरन्तरता कायम राख्दै, परिवारसँग सुखद जीवन बिताउने उनको उद्देश्य छ।

3

असिम बाबु गरुङ्गेको यो प्रेरणादायक यात्रा, संघर्ष, समर्पण, र साहसको उत्कृष्ट उदाहरण हो। उनले आफ्नो लगनशीलता र मेहनतको बलमा खेलकुद र व्यक्तिगत जीवनमा सफलता हासिल गरेका छन्। उनको योगदानको कदर गर्दै उनलाई  २०७९ सालको उत्कृष्ट वर्ष खेलाडीको रुपमा सम्मानित समेत गरिएको थियो । आजको युगमा, उनीजस्ता व्यक्ति समाज र राष्ट्रका लागि प्रेरणा स्रोत बन्न सक्दछन्।

 

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार