ताजा अपडेट »

इटहरी भीम पण्डित हत्या प्रकरण:आशङ्कामा निर्दयी बन्दा पुछियो उर्मिलाको सिन्दूर, टुहुरा भए काखे बच्चा

मंगलबार, ०८ जेठ २०८१, १० : ३९
80 Shares
मंगलबार, ०८ जेठ २०८१
80 Shares

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ७ की उर्मिला पण्डितले आफ्ना दुई बच्चाका लागि भनेर शनिवार छिमेकी उमेश चौधरीको घरबाट एक पावा दूध किनेर ल्याइन ।

सोही घरबाट दूध ल्याउनु उर्मिलाको दिनचर्या नै हो । सो दिन पनि उमेशले नै एक पावा दूध भरेर दिएका थिए । तर उनलाई थाहा भएन कि त्यही दूध दिने व्यक्तिको हात यति निर्दयी बन्छन् भन्ने । आफ्ना श्रीमानलाई हत्या गरेर दुई बच्चालाई टुहुरो बनाउँछन् भन्ने उनले कल्पना नै गरेकी थिइनन् ।

शनिवार बिहान आफ्ना बच्चाका लागि दूध भरेर दिने उमेशले नै साँझ उनै उर्मिलाका श्रीमान् ३५ वर्षीय भीम पण्डितलाई लखेटी लखेटी बीभत्स ढङ्गले हत्या गरे । जसका कारण दुई बच्चा टुहुरा त भए नै उर्मिलाको सिउँदोको सिन्दूर पुछियो, जीवनको सहारा खोसियो र घरमा सन्नाटा छायो ।दुई सन्तान र श्रीमतीलाई सुख दिने सपना बोकेर भीमले दुबई जान आवेदन दिएका थिए र म्यानपावरबाट भिसा आइसकेको जानकारी गराएको थियो । तीन वर्षअघि पनि २४ महिना रोजगारीकै सिलसिलामा भीम दुबई बसेर आएका थिए ।

आफू काम गर्दै गरेको कम्पनी टुटेपछि नेपाल आएर उनले सफारी चलाएका थिए । सफारी चलाएर राम्रोसँग घर चलाउन नसकेपछि श्रीमान् श्रीमती दुवैको सल्लाहमा फेरी रोजगारीका लागि दुबई नै जाने सल्लाह भएपछि भीमले सफारी बिक्री गरेर मिस्त्री काम गर्न सुरु गरेका थिए । इटहरीमै रहेको एक म्यानपावरबाट एक लाख ७० हजार रुपैयाँ तिरेर पुनः दुबई नै जान तयार भएका थिए । बुधवारका दिन दुबई उड्नका लागि श्रीमती उर्मिलासँग सोमबार जहाजमार्फत काठमाडौँ जानलाई सम्पूर्ण सरसामान समेत जोहो गरिसकेका थिए । तर दुबई गएर परिवारलाई सुखका साथ राख्ने उनको सपना पुरा हुन पाएन ।

इटहरी ५ पचरुखीमा रहेका दाजु भाउजूको घरमा काम गर्न बाँकी रहेको भन्दै भीम काम गरेर फर्कँदै गरेका थिए । मिस्त्री काम गर्ने भीमको सिमेन्ट धेरै प्रयोग गरेकाले हातमा घाउ भएपछि श्रीमती उर्मिलाले शनिवार घरमै आराम गर्नु भनेर सम्झाएकी समेत थिइन । तर ‘दाजुको घरमा एक दिनको काम गर्नु छ पछि काम रह्यो भनेर रिसाउनुहुन्छ’ भन्दै भीम बिहानै काम गर्नका लागि पचरुखी पुगेका थिए ।

काम सकेर फर्किँदै गरेका भीमलाई घर पुग्नै लाग्दा सफारीमा रहेका उमेशले साइकलबाट लडाएर दाउ प्रहार गरेका थिए । पहिलो पटक दाउले लागेर घाइते भएका भीमले हात जोड्दै नर्मान भन्दै भागेका थिए । खेतमा पुगेर लडेका भीमलाई पुनः उमेशले सोही दाउले हानेर त्यही बीभत्स हत्या गरेका थिए । गत वैशाख १७ गते पनि इटहरीस्थित बिपी चोकमा उमेशले भीमलाई रडले हानेर घाइते बनाएका थिए । त्यति बेला टाउकोमा गम्भीर चोट लागेका उनलाई समाज नै बसेर उपचार भराइदिन आग्रह गरेपछि उमेशले नै उनको खर्च र बिग्रिएको साइकल समेत बनाइदिएका थिए ।

‘गाउँघरको कुरा हो । गाउँमै मिलाउनुपर्छ भनेर समाज बसेर घटना मिलाइयो । त्यति बेला देखिको रिस अहिलेसम्म आलै रहेछ । निर्दयी र क्रूर व्यवहार देखाए,’ शोकमा रहेकी श्रीमती उर्मिलाले प्रदेश खबरलाई भनिन् । ‘त्यति बेला रडले हानेर घाइते बनाउँदा पनि मारेरै जेल जान्छु भन्थ्यो । शनिवार मारेरै छाड्यो,’ उर्मिलाले भनिन् ।

परिवारको बिचल्ली
घरको एक मात्र कमाउने भीमको हत्यापश्चात् परिवारको बिचल्ली भएको छ । इटहरी–७ मा सामान्य जीवनयापन गर्दै आएका भीमको शनिवार हत्या भएपछि उनको परिवारको बिचल्ली भएको हो ।६ वर्षीय छोरा र ९ महिने छोरी हुर्काउँदै आएका उनको हत्यासँगै परिवारको पालनपोषण कसरी गर्ने भन्ने चिन्ताले सताएको माइली बुहारी नबिनाले बताइन ।

हत्यापश्चात् अहिले घरमा समेत जान नसकेर श्रीमानको काजक्रिया समेत मूल घरमा गर्दै आएकी उर्मिला अहिले आफ्नै घरमा जान समेत डर भएको बताउँछिन् । फेरी केही भइहाल्ने होकी भन्ने समस्याले गर्दा बुहारीसहित दुई सन्तानलाई मूल घरमै ल्याएको बुवा बिन्देश्वर पण्डितले बताए । बुबा बिन्देश्वरले हत्यामा संलग्नलाई आजीवन सजाय दिनुपर्ने माग गरेका छन् । ‘मेरो छोराको परिवार उजाड्यो, काखे नाति नातिनीलाई टुहुरो बनायो । यस्ता अपराधीलाई त्यतिकै छाड्न हुँदैन । हदैसम्मको सजाय दिनुपर्छ,’ बुबा बिन्देश्वरले भने ।

शङ्काकै भरमा हत्या
मृतक भीमलाई उमेशकी श्रीमतीले केही महिना अघि फोन गरेकी थिइन । नयाँ नम्बरबाट दुई तीन पटक रिङ बजेपछि भीमले फोन उठाएका थिए । पछि उमेशकी श्रीमतीले फोन गरेको भन्ने थाहा पाएपछि यसरी फोन नगर भन्दै भीमले उनलाई सम्झाएका थिए । पुनः श्रीमतीले भीमलाई बारम्बार फोन गरेको थाहा पाएपछि उमेशले समेत थाहा पाएका थिए । फोन आएकै विषयमा दुई जनाबिच वादविवाद समेत भएको थियो ।

आफ्नी श्रीमतीले भीमलाई ‘मन पराउने’ गरेको आशङ्का गरेर आवेगमा आएका उमेशले गत वैशाख १७ गते पनि इटहरीस्थित बिपी चोकमा मार्ने नियतले आक्रमण गरेका थिए । पछि छुटाउन गएकाहरूलाई पनि उमेशले हाम्रो पारिवारिक कुरा भन्दै बिचमा आउन दिएनन् ।

तर पनि स्थानीयले जबरजस्ती उमेशलाई घर पुर्‍याइदिएका थिए । भीमलाई उपचारका लागि सोही ठाउको बिपी मेडिकलमा राखेर तीन टाँका लगाइएको थियो । ‘अब यस्तो गर्दिन’ भनेर समाजमा कसम खाएका उनै उमेशले भीमलाई श्रीमतीबाट टाढा राख्नका लागि एक हप्ता अघिदेखि मार्ने योजना समेत बुनेका थिए । ‘उसको श्रीमतीले मेरो श्रीमान् मन पराएको भनेर मेरो श्रीमानलाई मार्नु कहाँ सम्मको आपराधिक सोच हो,’ काजक्रियामा बसेकी उर्मिलाले भनिन् ।

सोही योजना बमोजिम शनिवार उमेशले दाउ प्रहार गरी भीमको बीभत्स ढङ्गले हत्या गरेको खुल्न आएको छ । हत्याको थप कारणहरू खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए । पक्राउ परेका उमेशलाई पीडित परिवारले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको जनाएको छ । प्रहरीले उमेशलाई सात दिनको म्याद थपी अनुसन्धान अघि बढाएको जनाएको छ ।-पवन अधिकारी/प्रदेश खबर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।