ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री महराको सपथ भोली : यसरी हुँदैछ मन्त्रालय बाँडफाट

शनिबार, २४ चैत्र २०८०, १९ : ०७
678 Shares

बुटवल । लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले भोली आइतबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयले आइतबार दिउँसो १ः४५ बजे सपथ गराउने गरी तयारी गरेको छ ।

नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले तथा साना दलसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सपथ ग्रहण तथा मन्त्रीपरिषद गठनको गृहकार्यस्वरुप महरा शनिबार दिनभरदेखि नै आन्तरिक तथा बाह्य छलफलमा व्यस्त रहेका छन् । शनिबार साँझसम्मनै पार्टी भित्र आन्तरिक छलफलमा रहेका महराले उक्त छलफललगत्तै सरकारमा सहभागी हुने साना दलहरुसँग पनि छलफलको कार्यतालिका रहेको महरा निकट एक नेताले बताए । यसैगरी सबैभन्दा ठूलो सत्ता साझेदार दल नेकपा एमालेसँग भने आइतबार विहान छलफलका लागि समय तोकिएको छ ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीका अनुसार मन्त्रालयको सङ्ख्या बाँडफाटको मारेमा मोटामोटी सहमती जुटीसकेको छ । उनका अनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित २ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय दिने सहमती भएको छ । यसैगरी अन्तिम समयमा समर्थन गर्न आएको नागरिक उन्मुक्ति पार्टीलाई पनि मिलाएर लैजानु पर्ने भएकाले सो विषयमा मुख्यमन्त्रीले नै निर्णय गर्ने प्रतिक्रिया दिँदै चौधरीले एमालेको मन्त्रालय सङ्ख्या भने नघट्ने दाबी गरे ।

‘आइतबारको सपथ ग्रहणमा मुख्यमन्त्रीसहित माओवादी केन्द्र, एमाले तथा अन्य साना दलहरुबाट सहमती अनुसार एक/एक जना विना विभागीय मन्त्रीहरु सहभागी हुने र एकसातामै मन्त्रीपरिषद पूर्ण रुपमा विस्तार गर्ने भन्ने हाम्रो सुझाब हो ।’-एमाले सचेतक चौधरीले भने, ‘सरकारलाई पूर्णता दिएर एक साताभित्र नै विश्वासको मत लिन पनि मुख्यमन्त्रीलाई सुझाब दिएका छौं ।’

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।