ताजा अपडेट »

गुल्मी-बुटवलमा विद्युतबाट चल्ने सार्वजनिक सवारी, भाडादर पनि कम हुने

विहीबार, २२ चैत्र २०८०, १२ : ४२
1.52K Shares

गुल्मी । राजधानीसहित देशका ठूला शहरहरुमा विद्युतीय यातयातका साधन सञ्चालनमा आइरहेको बेला पाहडी जिल्ला गुल्मीमा पनि विद्युतिय गाडी सञ्चालनमा आएको छ । जिल्लाको पुर्कोटदह, तम्घासहुँदै  सुनौलीसम्म आवत जावतको अनुमति प्राप्त गरी ‘मैत्री यातायात सेवा’ विहिबारदेखि औपचारिक रुपमा शुमारम्भ भएको हो ।

सदरमुकाम तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बुहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्याधुनिक सुविधासहितको विद्युतबाट चल्ने १० वटा माईक्रो गाडी सञ्चालनमा ल्याएको हो ।सदरमुकाममा यातायात सेवा सुचारु भएको  ४१ वर्षपछि यातयात सुविधा नयाँ युगमा प्रवेश गरेको छ । बिहिबार विहान एक समारोहका बीच जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्घा नगर प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, राजनैतिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष बालसिंह काउछा लगायतले उक्त गाडीमा बसेर सदरमुकामको यात्रा गरेका थिए ।
   
गुल्मी सदरमुकाम तम्मासमा २०३९ सालमा पहिलो पटक ट्याक्टर आउँदाको स्मरण गर्दै स्थानीयले विहिबारदेखि यातायातको क्षेत्रमा विद्युतीय बसको शुभारम्भ हुनु खुसीको कुरा भएको उल्लेख गरे । विद्युत यातायात सञ्चालन गर्न जिल्लाको सदरमुकाम तम्घास र रिडीमा चार्जिङ  स्टेशन स्थापना गरिएको छ । आधा घण्टा चार्ज भएपछि गाडीहरु २ सय किलो मिटर गुड्ने यातायात ब्यवसायी काशी पाण्डेले बताए ।

काठमाडौंमा झण्डै २० प्रतिशत ई भेहिकल चलिरहेको अवस्थामा मैत्री सहकारीले मैत्री यातायात दर्ता गरी धुलो र धुवारहित सवारी साधान  सञ्चालन गर्न सुरु गरिएको सहकारीका सञ्चालक ओम काकीले जानकारी दिए । मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना १५ जना शेयर सदस्यहरुलाई लगानी प्रवाह गरी उद्यमी बनाएको हो । १० जना चालकहरुले प्रत्यक्ष रोजगारी पाएका छन । त्यस संस्थाका प्रबन्धक अजुर्न आचार्यले २० प्रतिशत शेयर सदस्य र ८० प्रतिशत अर्थात कुल साढे चार करोड लगानी गरेको र प्रति गाडीको मुल्य ५६ लाख ५० हजार रहेको बताए ।  

गाडी भित्र फ्रि–वार्इफाई सेवा, एसीको सुविधा, जिपीएस सेवा र सिसी क्यामेराको सुविधारहेको सहकारी संस्थाका अध्यक्ष शंकरप्रसाद गौतमले बताए । विद्युतीय सवारी सञ्चालनसँगै यात्रुहरुलाई भाडादर समेत कम हुने व्यवसायीहरुले बताएका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार