ताजा अपडेट »

पर्यटन संस्कृति

विहीबार, २२ चैत्र २०८०, ०६ : ३९
214 Shares

सामान्य अर्थमा पर्यटन भन्नाले ऐतिहासिक, दर्शनीय र महत्वपूर्ण स्थानहरु हेर्न वा मन बहलाउनका निम्ति देश, विदेशमा गरिने भ्रमण वा यात्रा भन्ने बुझिन्छ । पर्यटन शब्द संस्कृत भाषाको आगन्तुक शब्द हो । यसको अर्थ घुम्ने, फिर्ने भन्ने लाग्छ । सन् १८११ मा यसको प्रयोग अक्सफोर्ड शब्दकोषले गरेको थियो ।

सम्पन्नता नाप्ने आधार संस्कृति हो । संस्कृति, संस्कार, सभ्यताले नै मानिसको परिचय दिने गर्छ । मानिसले संसारमा आफ्नो परिचयको आधार संस्कृतिलाई नै ठान्दछ । भाषा,कला,साहित्य नै मानव संस्कृतिको मूलआधार हो । आज पर्यटन पनि संस्कृतिको आधार बन्दैछ ।

संसारभरका मानिस नेपालको हिमाल हेर्न आइपुग्छन् । गौतमवुद्धको पावन जन्मभूमि लुम्बिनी आउँछन् । उनीहरुले नेपाल आउँदा संसार देख्छन् । नेपालको वन, वातावरण, जैविक विविधता देख्छन् । नेपालीका रहनसहन, संस्कार, सभ्यता र जीवनयापन गर्ने शैली देख्छन् । नेपालीहरुले गर्ने आदरसत्कारको उच्च प्रशंसा नगर्ने को होलान् र ? यो नै नेपाली संस्कृतिको मूलमर्म हो । यसलाई पर्यटनसँग जोडेर लैजान सक्नुपर्छ ।

हिमाल हिउँको थुप्रोमात्र होइन बरु यो सिकाइको उचाइँ पनि हो । संसारभरका पर्यटकहरुले हिमाललाई हेरे,टेके र मनमा कल्पनाका कावा खाए । सुन्दर रचना गरे । आँखामा हिमाल सजाए जीवनभरका निम्ति । फोटो खिचे मन नअघाउञ्जेल । कसैले त हिमाललाई हातखुट्टा उपहार दिए ।  कसैले जीवनदान दिएर बिदा भए सदाका लागि ।

bhuthola

संसारमा चार एसले पर्यटन प्रवर्द्धन भएको ठानिन्छ । त्यसमध्ये पहिलो एस भनेको स्नो (हिउँ) हो । यही हिउँ खेल्न, हेर्न, डुल्न संसारभरका मानिसहरु पर्यटक बनेर पर्यटन विकासमा टेवा पुराइरहेका छन् । दोस्रो एस भनेको स्याण्ड(बालुवा) हो । संसारका ठूलाठूला मरुभूमिहरुमा बालुवाका थुप्रा भेटिन्छन् । त्यही बालुवामा दौडिन्छन् पर्यटकहरु, बालुवाका दरवार बनाउँछन् क्षणभरका लागि ।

बालुवामा मृगतृष्णा भेट्छन् । तेस्रो एस भनेको सेक्स( यौन) हो । त्यसलाई केही देशहरुले व्यापारका रुपमा लिएर अघि बढिरहेका छन् । सोही क्रियाकलापमा संलग्न हुनका निम्ति मानिसहरु देश, विदेशको यात्रामा पर्यटक बनेर आफ्नो आम्दानी खर्चिन पुग्छन् । चौथो एस भनेको सी (समुद्र) हो । संसारका धेरैजसो पर्यटकहरु समुद्रका किनारमा रमाईलो गर्न पुग्छन् । भरपूर मनोरञ्जन गर्छन् । समुद्री देशहरुका निम्ति पर्यटकहरुलाई आकर्षण केन्द्र बनिरहेको छ समुद्र । यी चार एस मध्ये नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुराउने भनेकै पहिलो एस अर्थात् स्नो(हिउँ) नै हो । आठ हजार मीटरमाथिका हिमालहरु नै पर्यटनका लागि काफी छन् ।

हामी पर्यटनलाई के भन्ने दोधारमा छौं । पर्यटन केवल मनोरञ्जन हो ? पर्यटन व्यवसाय हो वा उद्योग हो ? धेरैले पर्यटनलाई धूँवारहित उद्योग भनेर परिभाषित गरेको पाइन्छ । देश, विदेशबाट मन बहलाउन वा ऐतिहासिक स्थलहरु र महत्वूर्ण स्थानहरु अवलोकन गर्न आउने ब्यक्तिहरुको सुविधाका लागि स्थापना गरिने होटल, लज, रिसोर्ट वा दृश्यावलोकनका साधनहरु एवम् त्यसबाट हुने विदेशी मुद्राको आर्जन सम्बन्धि उद्योगलाई पर्यटन उद्योग भनिन्छ ।

पर्यटकहरुलाई आकर्षित गर्ने खालका स्थलहरु नै पर्यटन केन्द्र हुन् । नेपालमा धेरै किसिमका पर्यटन केन्द्रहरु छन् । त्यीनिहरुका वर्गीकरण गरी आवश्यक प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । पर्यटनकै कारण स्थानीयहरुले आम्दानीका बाटाहरु फराकिला बनाउन सक्छन् । सहरबजार र राजधानीमा होटल, मोटल, लज, रिसोर्ट सञ्चालमा आएका छन् । हजारौंले रोजगार पाएका छन् । जीवन गुजारेका छन् । नेपालमा पर्यटन पनि उद्योगका रुपमा स्थापित हुँदैछ भन्ने सन्देश प्रवाह हुँदैछ ।

पर्यटन संस्कृति भन्नेबित्तिकै हिप्पी संस्कृति बुझ्नेहरु पनि छन् । पर्यटन संस्कृति, नेपालीका शिर ठाडो राख्ने खालको हुनुपर्छ । नेपाली संस्कार र सभ्यतामा मिल्ने खालको हुनुपर्छ । नेपाली माटो सुहाउँदो हुनुपर्छ । पर्यटकहरु पैसा खर्च गर्न वा रमाँइलो गर्नमात्र आउँदैनन् । उनीहरु आउँदा आफ्ना विशिष्ट योग्यता, दक्षता, क्षमता बोकेर आएका हुन्छन् । यी कुराहरुलाई आफ्नो क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्ने कुरालाई पर्यटन उद्यमीहरुले हेक्का राख्नुपर्छ ।

वनसँग सम्बन्धित पर्यटक आउँदा उसले हाम्रा वनका बारेमा जानकारी लिने छ । आफ्नो वन र हाम्रो वनकाबीच तुलना गर्नेछ । वनबाट प्राप्त हुने फाइदाका सन्दर्भमा छलफल गर्नेछ । वन संरक्षणका लागि गर्न सकिने र गरिएका प्रयासहरुका बारेमा थप जानकारी लिन, दिन सकिने छ । वनको वैभवलाई जोगाइ राख्ने उपायहरुका बारेमा ज्ञान हासिल गर्न सकिने छ । उसले जानेको कुरा हामीलाई बतायो र हामीले जानेका कुरा उसलाई बतायौं । यो दोहोरो सम्वाद,सहकार्य र सहयात्रालाई पर्यटन संस्कृतिभित्र समाहित गर्न सकिन्छ ।

कृषिका विज्ञहरु भ्रमणमा पर्यटक बनेर आउँदा उनीहरुका आँखाले हाम्रो कृषिलाई देख्ने र हेर्ने कुराका बारेमा बुझ्न सक्छौं । नेपालमा ६० प्रतिशत् बढीले कृषिमा आफ्नो समय, श्रम र सीप लगाउँदा पनि छिमेकी मुलुकहरुबाट अन्न, सागसब्जी, दलहन, तेलनहन, अण्डा र मासु आयात गर्नुपर्ने बाध्यता कसरी सिर्जना भयो ? अमेरिकामा करिव २ प्रतिशतले कृषि कर्म गर्दा आफ्ना नागरिकहरुलाई खान पुराएर बाहिरी देशलाई निर्यात गर्छ भने हामीले के बुझ्ने ? हामीले आधुनिक प्रविधि अपनाउन सकेनौं कि ? निर्यातमुखीभन्दा पनि निर्वाहमुखी कृषिमा जोड दियौं कि ? एउटै बस्तु सय किलो उत्पादन होइन बरु सय थरिका बस्तु एकएक किलो पो उत्पादन ग¥यौं कि ? जसका कारणले किसान मर्कामा परे । व्यापारीहरु किसानका घरमा आउन सकेनन् । उत्पादित थोरै बस्तुहरु बजारमा आएनन् । घरमै खान वा ऐचोपैंचो गर्दा ठिक्क भयो ।

ramepithecus

पर्यटकहरुको बसाइ कसरी लम्ब्याउने भन्ने खुब चिन्ताको विषय पर्यटन क्षेत्रमा यतिबेला देखिएको छ । त्यसका लागि हामीले हाम्रा पर्यटकीय गन्तव्य वा केन्द्रहरु पहिचान गर्न सक्यौं ? त्यीनीहरुका प्रसिद्धि के हुन् ? केलाउन सक्यौं ? अनि ती स्थानहरुका बारेमा प्रचारप्रसार गर्न भ्यायौं त ? हाम्रा पर्यटन केन्द्र वा गन्तव्यहरुका पहिचान, त्यसको प्रसिद्धि( महत्व,गरिमा र महिमा) र त्यीनका ब्यापारका लागि गरिने प्रचारप्रसार कति प्रभावकारी छ ? हुन सक्यो ? कहिल्यै हामीले छलफल, समीक्षा गरेका छौं ? ती केन्द्रहरुमा पुग्नका लागि भौतिक सुविधा छन् ? त्यहाँ पुगिसकेपछि खाने, बस्ने सुविधा छ ? सुरक्षाको प्रवन्ध कस्तो छ ? त्यहाँ पुगेका पर्यटकहरुलाई उक्त स्थानका बारेमा जानकारी दिने सूचना बोर्डहरु छन् ? आवश्यक ब्रोसर, पम्प्लेट, डकुमेन्ट्री, फोटो फिचर छन् ? टूर गाइडहरु तयार छन् ?

हाम्रा पर्यटकीय केन्द्रहरुमा पर्यटकहरु आएनन वा आइसकेपनि बसेनन् भन्ने तर्कहरुलाई व्यवस्थापन गर्ने कुराहरु हामीसँग केके छन् ? हाम्रा पर्यटकीय केन्द्रहरुलाई हामीले कति व्यवस्थित गराउन सक्यौं ? पर्यटकका स्वास्थ्यलाई ख्याल गर्ने खाजा, खानाको प्रवन्ध गर्न सक्यौं ? उनीहरुका सुरक्षालाई ध्यान दिन सक्यौं ? यी सबै कुराहरु कसले हो प्रवन्ध गर्ने ? पर्यटन प्रवद्र्धनमा राज्यको दायित्व केके हुन् ? तीनै तहका सरकारहरुले पर्यटन योजनाका खाकाहरु कसरी कोरिरहेका छन् ? नीजि तहले पर्यटनलाई कसरी लिएको छ ? लगानी अनुसारको प्रतिफल पर्यटनबाट आउँछ कि नाइँ भन्ने दाउमामात्र हुने हो भने नेपालको पर्यटन उद्योग उठ्न अझै धेरै वर्ष लाग्नेछ ।

नेपाल सरकारले नेपालको पर्यटनलाई जुरुक्क माथि उठाउने खालका नीति, योजना तथा कार्यक्रमहरु तय गरी योजनावद्धरुपमा कार्यान्वयन गर्दै जानुपर्छ । त्यसका लागि पर्यटनमा सम्भावना विषयक् कोठे बैठक र छलफलमा मात्र होइन, बस्तुगतरुपमा क्षेत्रगत अध्ययन, अवलोकन, अनुसन्धान गरी सर्वपक्षीय छलफलबाट निचोडमा पुग्नुपर्छ ।

हामीले पर्यटनलाई सीमित घेराभित्र संकुचन ग¥यौं । यसलाई आआफ्नै तरिकाले परिभाषित ग¥यौं । सबैसँग समन्वय, सहकार्य, सहयात्रा र सद्भावका लागि एकीकृत हुने र एउटै टेवलमा बसेर समाधानका लागि पहल गर्न सकेनौं । भएका सहयात्राहरु पनि क्षणिक भए ।
 
सरकारले समय समयमा भ्रमण वर्ष मनाउने योजना बनाउँदै आएको छ । चाहे त्यो आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होस्, चाहे त्यो बाह्य पर्यटन प्रवद्र्धनका लागि किन नहोस् । ग्रामीण पर्यटनका लागि गाउँगाउँमा औकात अनुसारका मेला, महोत्सव लाग्दै आएका छन् । सांस्कृतिक कार्यक्रमहरु भएका छन् । स्थानीय उत्पादनलाई स्थानीय परिकार बनाउँदै खुवाउने काम भएका छन् । सहरहरुमा भव्य कृषि,औद्योगिक एवम् पर्यटन मेला, महोत्सव आयोजना भइरहेका छन् । करोडौंका कारोबार भएका छन् तर उठेका पैसाले पर्यटन प्रवर्द्धनका निम्ति केके काम भएका छन् ? आयोजकहरुले पर्यटनलाई दीगो विकासको आधार बनाउन केके पहल गरे कि नाममात्रका पर्यटन महोत्सव भए ?

beruwao nach

नेपाल सरकारले नेपालमा कार्यरत शिक्षक, कर्मचारीहरुका निम्ति आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भनेर सरकारी बिदा र घुम्न, डुल्न राज्यकोषबाट सुविधा, सेवा दिने प्रसंग धेरै नै चलेको थियो । सायद आर्थिक मन्दीका कारण त्यो योजना यतिबेला कार्यान्वयन सम्भव भएन कि ? नीजि क्षेत्रका वित्तीय संस्थाहरुले बरु यस योजनालाई सीमित मात्रामा भएपनि कार्यान्वयनमा जोड दिएको पाइन्छ । काम गर्दागर्दै थकित कर्मचारीहरु जब भ्रमण वा यात्रामा निस्किन्छन्, मनोरञ्जन, रिफ्रेस हुने अवसर प्राप्त गर्न सक्छन् । आफ्नो आम्दानीको केही प्रतिशत् रकम पर्यटन प्रवद्र्धनमा खर्चिन सक्छन् ।

हाम्रा पुराना पुस्ताहरु धर्मका नाउमा चारधाम जाने गर्थे ।  पर्यटन प्रवर्द्धनका निम्ति गरिएका असल कर्म थिए ती पनि । त्यतिबेला घरबाटै सातु पोका पारेर, मकैभटमास भुटेर, सिरौला साथमा लिएर, परिवारजनलाई घरबारी, पशुपंक्षीहरु जिम्मा लगाएर बाँचे आउने, मरे प्रभुको शरण जाने वाचा गरेर तीर्थ जाने चलन यतिबेलाको धार्मिक पर्यटनको नमूना हुन सक्ला । त्यतिबेलाको तीर्थयात्रा कम खर्चिलो हुन सक्थ्यो । पैदल हिडेर, पाटीपौवामा निःशुल्क बसेर, धारा, पँधेराका पानी पिउँदै हिड्नु पर्ने बाध्यकारी अवस्था आज छैन ।
 
यतिबेलाको धार्मिक यात्रा आधुनिक यात्रा हुन सक्छ । बसमा हिड्ने, भजन पनि क्यासेटले गाइदिन्छ । आफूले हात, कम्मर हल्लाए भैगो । धर्मशाला वा होटलमा बस्न पाइन्छ । सातु खान पनि पर्दैन, इच्छा लागेका पक्वानहरु खान पाइन्छन् । धेरैदिन यात्रा गर्न पनि पर्दैन । यसका निम्ति विभिन्न संघसंस्थाहरुले भ्रमणको आयोजना गरेकै हुन्छन् । मन र धन मिसाए भइहाल्यो ।

नेपालमा यतिबेला धार्मिक, ऐतिहासिक, पुरातात्विक, कृषि, शैक्षिक, खेलकूद पर्यटनको प्रवर्द्धन गर्न सकिन्छ । जोखिम पर्यटनका लागि रक क्लाइम्बिङ्ग, बञ्जीजम्प, पारा ग्लाइडिङ्गबाट पर्यटकहरुलाई भरपूर मनोरञ्जन दिन सकिन्छ । आर्थिक लाभ लिन सकिन्छ । हिमाल, तालतलैया, जलाशय, पोखरी, खोंच, भञ्ज्याङ्गहरुमा पर्यटकहरुलाई हाइकिङ र ट्रेकिङ गराउँदा हाम्रा क्षेत्रका पर्यटनमा थप विकास गर्न सकिने छ ।

नेपालमा रहेका वन, संरक्षित क्षेत्रहरु, निकुञ्ज, सिकार आरक्ष क्षेत्रहरुमा पर्यटकहरुलाई डुलाउँदै पर्यापर्यटनको स्वाद चखाउन सकिने हो भने विदेशी पर्यटकहरुबाट लाखौं डलर नेपालमा भित्रिने छ । जसबाट देशलाई पर्यटन प्रवद्र्धनका निम्ति टेवा मिल्ने छ । कोशी, गण्डकी, कर्णाली, महाकालीमा र्याफ्टिङ्ग, डुङ्गा र पानीजहाज सञ्चालन गर्न सकिएमा जलपर्यटनबाट आर्थिक समृद्धिमा फड्को मार्न सकिन्छ । रोजगारीमा वृद्धि हुने छ ।

हाम्रा संस्कृतिहरु लोपोन्मुख अवस्थामा छन् । पुराना बाजाहरु बज्न छाडे । पुराना गीतका भाकाहरु सुनिन छाडे । गाउँमा रोदी बस्ने चलन हरायो । झ्याउँरे गीत एकादेशको गीतमा परिणत हुँदैछ । कुनदिन सालै जो र करुवा गीत र नाँच पनि बसाइँ सरी जाने हो, यही पीर लाग्छ । त्यी बाजा, गीत, सांस्कृतिक सम्पदा सुरक्षाका लागि पनि सांस्कृतिक पर्यटन प्रवद्र्धन हुनु जरुरी छ । आज हाम्रो देशमा रहेका केही थारु होमस्टेहरुले थारु संस्कृति संरक्षणका लागि पहल गरेका छन् । आफ्ना परम्परागत संस्कृति संरक्षण गर्दै आएका छन् । देशी, विदेशी पर्यटकहरुलाई आफ्ना कलाकारिता प्रस्तुत गरेका छन् । सो कला प्रदर्शन गरेवापत आर्थिक पक्ष बलियो बनाएका छन् । केही गुरुङहरुले आफ्नो होमस्टेमा देशी, विदेशी पाहुनाहरुलाई आफ्नो संस्कार अनुसारका कला प्रस्तुत गरेर मनग्य धन आर्जन गरेका छन् । पर्यटक खिचेका छन् । पर्यटकको आगमनले उनीहरुलाई उत्साह थपेको छ । आफ्नो कला देखाउने जाँगर पलाएको छ । त्यसैकारण नेपाली लोकसंस्कृतिको जगेर्ना भएको पाउन सकिन्छ ।

received_1349415315859577

पर्यटक आउँदा उनीहरुलाई दिने उपहार,कोसेली के हुन सक्छ ? हामीले आफ्नै ठाउँमा प्राप्त स्थानीय स्रोत, साधनको अधिकतम प्रयोग गरेर स्थानीय श्रम र सीपलाई आर्थिक पाटोसँग जोड्न र रैथाने बस्तु उत्पादनमा जोड दिन सकिएमा पर्यटकहरुलाई कोसेली स्वरुप हाम्रा उत्पादन बेच्न सक्ने छौं । त्यसो हुँदा हाम्रा रैथाने सीप बाँच्ने छ । स्थानीय साधन स्रोतको अधिकतम प्रयोग हुनेछन् । आफ्नै ठाउँमा पैसा आउने छन् र आर्थिक बाटाहरु क्रमशः फराकिला हुँदै जानेछन् ।

पर्यटकहरुलाई ठग्ने संस्कृति हाम्रो कदापि होइन र छैन पनि । पर्यटकका पैसा पनि श्रम, सीप र पसिनाबाट आएका हुन् भन्ने मान्यता भुल्न हुँदैन । पर्यटक अतिथि हुन् । उनीहरुलाई गरिने सेवाबाट केही सहयोग लिन सकिन्छ तर सहयोगका नाममा अति गर्नुपनि उत्तम होइन । पर्यटन संस्कृतिमा पर्यटकलाई सहयोग गर्ने, उनीहरुका दुःख, सुखमा साथ दिने, परिवारकै सदस्य मान्ने र आदरसम्मान गर्ने संस्कारले नै हाम्रो पर्यटन संस्कृति बलियो हुन सक्छ ।

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार