ताजा अपडेट »

तितेपाति महिला बचत तथा ऋण सहकारीद्वारा सहकारी शिक्षा तालिम

बुधबार, १४ चैत्र २०८०, १७ : ०१
210 Shares

बुटवल । सहकारीमा सुशासन : प्रविधि र एकीकरण नाराका साथ संचालन भएको तितेपाति महिला बचत तथा ऋण सहकारीको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम बुटवलमा सम्पन्न भएको छ ।

सहकारी शिक्षा तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रदेश प्रमुख नारायण बेल्बासेले गरेका थिए । बेल्बासेले तालिमले मानिसका दैनिक जीवनमा काम गर्ने शैली र परिणाममा सकारात्मक परिवर्तन ल्याउन ज्ञान तथा सीप प्रदान गर्न जरुरी भएको बताए । स्व–अध्ययन, कार्य अनुभव, पारिवारिक एवम् सामाजिक सम्बन्ध, पृष्ठभूमि र उत्तम अभ्यासहरु सिकाईका मुख्य आधार एवम् माध्यम भएकाले  यसरी प्राप्त गरिने सिकाईमा एकरुपता नहुँदा त्यसको कार्यान्वयन र परिणाम पनि फरक फरक नै परेको छ ।

शैक्षिक रुपमा विद्वत वर्ग होस् वा सामान्य साक्षर र निरक्षर नै किन नहोस् सहकारी संस्था सञ्चालकको क्रममा साझा बुझाईमा हुनु पर्ने भन्दै  हाल सहकारी संस्था सञ्चालकहरुमा सहकारी व्यवसाय (उद्यम) प्रतिको बुझाई फरक फरक छ उल्लेख गरे । अधिकांशलाई सहकारी भनेको बचत संकलन गर्ने र ऋण लगानी गर्ने वा संकलित बचत रकमलाई उच्च प्रतिफल हुने कुनै क्षेत्रमा लगानी गर्नु हो भन्ने भ्रम परेको छ ।

संस्थाका सञ्चालक र अन्य सदस्यबीच साहु र ग्राहकको जस्तो सम्बन्ध स्थापित भएको छ । जसले संस्था दुर्घटनाको आधार तयार गरिरहेको छ । व्यक्तिगत महत्वकांक्षाका आधारमा सञ्चालित संस्थाहरुले छोटो अवधिको लागि तिव्र गतिको वृद्धि र उच्च प्रतिफल प्रदान गर्न सक्दछन्, जसले समुदायमा भ्रम उत्पन्न गराउँदछ । त्यसैले सहकारी संस्थाको दीगो विकासका लागि प्रभावकारी तालिम, शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्न अति आवश्यक रहेको बताए ।

बुटवल उपमहानगर पालिका वडा ९ स्थीत तितेपाति महिला बचत तथा ऋण सहकारीका अध्यक्ष कमला बस्नेत कुंवरको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमको संचालन संस्थाका सचिव गौरा के.सीले संचालन गरेकी थिईन । तालिममा ३५ जना सदस्यको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।