ताजा अपडेट »

कलाको मर्म र मूल्य बुझौं

मंगलबार, २२ फागुन २०८०, ०८ : ०४
60 Shares

आजदेखि २६ गतेसम्म रुपन्देही उद्योग संघ, बुटवलमा प्रादेशिक कला प्रदर्शनी लाग्दैछ । निःशुल्क प्रवेशको प्रवन्ध गरिएको उक्त प्रदर्शनीमा लुम्बिनी प्रदेशभरिका एक सय चौबिस जना कलाकारका करिव दुईसय कला (चित्रकला, मूर्तिकला र हस्तकला) प्रदर्शन हुँदैछ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको आयोजना र रुपन्देही व्यवसायिक कलाकार संघको संयोजनमा उक्त प्रदर्शन बुटवलमा हुनु निकै खुसी र उत्साहजनक कुरा हुन् ।

कला मृत्युपछिको जीवन भन्छन् तर यो  मृत्युपर्यन्त जीवन हो । कला अमूल्य हुन्छ भन्छन् तर कलाकारले सिर्जनाका मूल्य कायम गरि व्यवसायिक कलाको विकास गरि आत्मनिर्भर कलाकार बनाएर सामाजिक एवम् आर्थिक पाटोमा बलियो बनाउनु वर्तमानको खाँचो हो । यो प्रदर्शनीले रैथाने कलाको संरक्षण, सम्वर्द्वन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुराउने आयोजकको आशा र उपलब्धि पक्कै पनि पूरा हुन सकोस् शुभेच्छा प्रकट गर्दै शालिन्दा यस्तो कार्यक्रम भईरहेमा कलाकारहरु तिखारिने थिए । आफ्ना प्रतिभा थप उजागर गर्ने थिए र प्रदर्शनीका आगन्तुकहरुले कलाको मर्म र मूल्य बुझ्नेमात्र होईन खरिद गरि कलाकारहरुको थप सम्मान हुने थियो ।

कलाकार राज्यका गहना हुन् भन्छन् तर मलाई उनीहरु राज्यका अङ्ग हुन् भन्ने लाग्छ । गहना त चाहिनेबेला लगाउने र अरुबेला थन्क्याउने गरिन्छ तर कलाकारहरुका कला सधैं देखाउने, उनीहरुलाई राज्यप्रति निरन्तर समर्पित गराउने र राज्यकै अङ्गका रुपमा विकास गर्दै लैजाँदा कलाकारको साँचो सम्भवना सम्भव छ ।  कलाकारकै कारण नेपाल संसारभर चिनिएको छ । दुनियाँले नेपालका कला संसारभर फैलाएका छन् । नेपाली कलाकार र कलाकारिता मौलिक छन्, रैथाने छन् । प्रभावकारी र जीवन्त छन् । त्यसैले पनि सोही मर्मलाई मनन् गरि बुटवलमा सञ्चालन हुँदै गरेको प्रदर्शनी यस क्षेत्र र विषयका लागि कोसेढुङ्गो सावित हुनेछ ।

आयोजक र संयोजन गर्ने संस्थाले सबैलाई निम्तो गरेको छ । सब‌ैलाई सहभागिताका लागि आमन्त्रण गरेको छ । सहभागी भई कलाको मर्म र मूल्य बुझौं, बुझाओैं ।

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार