ताजा अपडेट »

अध्ययनमा असर पारेर हेडसर ल्याउने विषयले विद्यालयमा राजनीति

मंगलबार, १५ फागुन २०८०, १३ : २६
58 Shares

महोत्तरी । व्यवस्थापन समितिको राजनीतिले बर्दिवासको एक विद्यालय धरासायी बनेको छ । प्रधानाध्यापक को ल्याउने भन्ने होडबाजीमा दुई राजनीति दलमा स्वार्थ बाझिँदा लक्ष्मीनारायण माध्यामिक विद्यालय अस्तव्यस्त बनेको हो । नगरले प्रधानध्यापकको रुपमा करिब ४ महिनाअगाडि विजय साहलाई पठाएको थियो । यही विषय नै व्यवस्थापन समितिको लागि मुख्य असन्तुष्टि बनेको हो । तर, व्यवस्थापन समितिका अध्यक्ष सूर्य देवकोटा प्रधानाध्यापकमा असन्तुष्टिभन्दा पनि नगरको प्रतिबद्धतामा आफूहरु अडिग रहेको दाबी गर्छन् ।

अध्यक्ष देवकोटा नेपाली कांग्रेसनिकट मानिन्छन् भने नगरप्रमुख प्रल्हादकुमार क्षेत्री नेपाली कांग्रेस पृष्ठभूमिकाका भए पनि स्वतन्त्र निर्वाचित भएका हुन् । यद्यपि नगरप्रमुख क्षेत्रीसमेत अहिले कांग्र्रेसमा नै फर्किसकेका छन् । उनीे घोडा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएका हुन् ।

अहिले घोडा कांग्रेस र कांग्रेसको लडाईंले नै समस्या सिर्जना भएको स्थानीयको बुझाइ छ । प्रधानाध्यापकको रुपमा साहलाई पठाए पनि व्यवस्थापन समितिले खाता नै खोल्न नदिँदा शिक्षकहरुको चार महिनादेखि पारिश्रमिकसमेत रोकिएको छ । ‘हामीलाई शिकारु हेडमास्टरभन्दा पनि अनुभवी हेडमास्टरको जरुरत छ,’ अध्यक्ष देवकोटाले भने, ‘नगरले नै हेडमास्टरको लागि केही नामहरु प्रस्ताव गरेको थियो र हामीले हुन्छ भनेका थियौँ ।’ यता नगरले पर्याप्त शिक्षक दिन सकेको छैन । कक्षा–१ देखि कक्षा–१२ सम्म जम्मा ९ जना शिक्षकको भरमा अध्यापन भइरहेको प्रधानध्यापक साहले बताए ।

विद्यालयमा भनेजसरी पढाइ हुन नसकेपछि विद्यार्थीहरु स्तानान्तरण हुने क्रमसमेत जारी रहेको छ । एकवर्ष अगाडिसम्म करिब ९ सयको हाराहारीमा विद्यार्थी भए पनि अहिले त्यो संख्या ५ सय भन्दा कममा झरेको स्थानीय बताउँछन् । विद्यालयको वरपर दुईवटा निजी विद्यालय छन् । पढाउन सक्नेले निजी विद्यालयमा भर्ना गरेका छन् भने कतिपय अभिभावकहरुले टुटेश्वर र दमार भञ्ज्याङ्  विद्यालयमा पठाउने गरेको पूर्व व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

तल्लो कक्षादेखि माथिल्लो कक्षाका विषयगत शिक्षकसम्म आइपुग्दा यो विद्यालयमा अझै आठजना शिक्षकहरुको अपुग रहेको स्वयं अध्यक्ष देवकोटा स्वीकार गर्छन् । भविष्य नै अन्योल बनाउने गरी विद्यालयमा राजनीति चलखेल भएको भन्दै  विद्यार्थी नै आन्दोलनमा उत्रिएका छन् । गत बिहीबार विद्यार्थीले विद्यालयमा राजनीतिक दलको क्रिडास्थल बन्दा अध्ययनमा असर परेको भन्दै  बर्दिवास नगर कार्यापालिका नै घेराउ गरेका थिए ।

विद्यालयमा देखिएको समस्या चाँडै समाधान हुने नगर शिक्षा शाखाका प्रमुख रेवतीप्रसाद पराजुलीले बताए ।  नयाँ वा पुरानोको आधारमा भन्दा पनि क्षमतालाई कदर गर्नुपर्ने उनको भनाइ छ । यता नगरले प्रधानध्यापकको रुपमा पठाएको प्रधानाध्यापक साहले औँला उठाउनेगरी कुनै काम नगरेको र जिम्मेवारीपूर्वक काम गर्दा पनि आफुलाई निकाल्ने प्रपञ्च भएकोप्रति  दुःख लागेको बताउँछन् ।

उनले नगरप्रमुख क्षेत्रीले समेत असहयोग गरेको आरोप लगाए । २०१४ सालमा स्थापना भएको उक्त विद्यालयमा लामो समयदेखि राजनीति हुँदै आएको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।