ताजा अपडेट »

रुपन्देहीको बिकासमा महानगरपालिकाको अवधारणा आवश्यक

शनिबार, ०५ फागुन २०८०, १९ : ११
830 Shares

रुपन्देही जिल्ला राम्रो सम्भावना भएको जिल्ला हो ।  लुम्बिनी  प्रदेशको महत्वपूर्ण  जिल्ला मध्यको एक हो रुपन्देही जिल्ला । तराई क्षेत्रमा पर्ने यो जिल्ला आर्थिक, शैक्षिक, धार्मिक एवं पर्यटकीय रुपले अत्यन्तै सम्भावना बोकेको जिल्ला हो । पश्चिम नेपालको आर्थिक केन्द्रको रुपमा परिचित यो जिल्लामा एक उप–महानगरसहित ६ नगरपालिका र १० वटा गाँउपालिका रहेका छन् । यो जिल्लाको बुटवल उप–महानगरपमलिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थ नगर नगरपालिका लगभग जोडिएकै अवस्थामा छन्  ।

सिद्धार्थ राजमार्गको भैरहवा–पोखरा सडकले यि नगरपालिकाहरुलाई जोडेको छ । पूर्वतर्फ देबदह नगरपालिका र पश्चिमतर्फको सैनामैना, दक्षिणमा तिलोत्तमा, सुद्धोधन, सियारी, ओमसतिया गाउँपालिका हुँदै सिद्धार्थनगर नगरपालिका जोडिएको छ । त्यस्तै रोहिणी गाउँपालिका र मायादेवी गाउँपालिका जोडिएको छ । बुटवल सैनामैना, देवदह तिलोत्तमा र सिद्धार्थनगर गरी ५ नगरपालिका तथा शुद्धोधन, सियारी, ओम सतिया, रोहिणी र मायादेवी गरी ५ गाउँपालिका मिलाएर महाँनगरपालिकाको अवधारणा अनुसार अगाडि बढ्न सक्नेहो भने हरेक दृष्टीकोणबाट उपयूक्त हुने देखिन्छ ।

महानगरपालिकाको सम्भावना बोकेको जिल्लाको माथि उल्लेखित ठाँहरुलाई महानगरपालिका बनाउन सक्ने हो भने आर्थिक भार पनि कम पर्नुकासाथै शिक्षा, स्वास्थ्य, कृषि, यातायात, पर्यटनका क्षेत्रमा ठूला र महत्वपूर्ण आयोजनाहरु भित्र्याएर राम्रो सेबा दिन र रोजगार सृजना गर्न सकिन्छ । पछिल्लो समय रुपन्देहीमा बिभिन्न ठूला आयोजनाहरु निर्माण भएका छन् भने केही आयोजनाहरु निर्माणका क्रममा पनि रहेका छन् । धेरै नगरपालिका र गाउँपालिकामा टुक्रे योजनाहरु बनाएर अगाडि बढ्नु भन्दा अब रुपन्देही जिल्लाको ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलाएर महानगरपालिकाको अवधारणा अनुसार काम गर्न सक्नेहो भने हरेक दृष्टिकोणबाट उपयूक्त हुन सक्छ । तसर्थ अब राजनीतिक भागबण्डा र भोट बैंकका रुपमा जिल्लाको पालिका बाँडफाड गरिनु हुँदैन ।

मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया यही जिल्लामा पर्दछ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेल स्टेडीयम, क्रिकेट मैदान जस्ता संरचना पनि बनिसकेका छन्  । शिक्षा क्षेत्रमा पनि रुपन्देहीले राम्रै फड्को मारेको छ । हालसम्म मुलुकमा काठमाडौं महानगरपालिका, ललितपुर, पोखरा, भरतपुर, बिराटनगर बिरगंज गरी ६ वटा महानगरपालिका बनि सकेको छ ।

महानगरपालिका एक सहरी बिभाजनको प्रकार हो । नेपालमा नगरपालिकाको ३ बिभिन्न  बिभाजन छन्, महानगर पालिका, उप–महा नगरपालिका र नगरपालिका छ । हाल मुलुकभर महानगरपालिकाको संख्या ६ छ भने उप–महानगर ११, नगरपालिकाको संख्या २ सय ७६ र गाउँ पालिका २ सय ६० गरि कूल ७ सय ५३ पालिकाहरु रहेका छन् । महानगरपालिका बन्नका लागि नेपालमा केही आधार र मापडण्ड भने आवश्यता हुनु पर्छ ।

जनसङ्ख्या ३ लाख, वार्षिक आम्दानी ४० करोड, उपमहानगर र नगरपालिकाको लागि चाहिने सबै पूर्वाधार हुनुपर्छ । ५ सय सैयाको विशेषज्ञसहितको हस्पिटल, रंगशाला, प्राविधिक शिक्षालय, ट्रमिनलसहितको बस पार्क हुनुपर्छ भने तरकारी तथा फलफुल बितरण केन्द्र र कम्तिमा १ वटा सपिङ महल सहितको संरचना हुनु आवश्यक पर्दछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौं जिल्लाको काठमाडौं महानगर पालिकामा जनसंख्या ८ लाख ६२ हजार ४ सय रहेको छ । ४९ दशमलव ४५ वर्ग कि.मी क्षेत्रफल रहेको छ । जहा ३२ वटा वडा रहेका छन् । ललितपुरको जन संख्या २ लाख ९४ हजार ९८ रहेको छ भने ३६ दशमलव १२ वर्ग किमी क्षेत्रफल रहेको छ जहा २९ वडा छन् ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको जनसंख्या ५ लाख १३ हजार ५ सय ४ रहेको छ भने ४६४ दशमलव २४ बर्ग किमी क्षेत्रफल रहेको छ, ३३ वडा रहेका छन् । भरतपुरको जनसंख्या ३ लाख ६९ हजार ६ सय २८ रहेको छ भने क्षेत्रफल ४३२ दशमलव ९५ बर्ग कि मि रहेको छ, २९ वडा रहेका छन् । विराटनगरको जनसंख्या २ लाख ४३ हजार ९ सय २७ रहेको छ भने क्षेत्रफल ७७ वर्ग कि.मि रहेको छ । १९ वडा रहेका छन् ।

विरगञ्जको जनसंख्या २ लाख ७२ हजार ३ सय ८२ रहेको छ । क्षेत्रफल १३२ दशमलव ०७ बर्ग कि मि रहेको छ भने ३२ वडा रहेका छन् । महानगरपालिकाको लागि ५ नगरपालिका र ५ गाउँपालिका गरी रुपन्देहीका १० वटा पालिकालाई समेटेर महानगरको अवधारणको आधारमा अगाडि बढ्ने हो भने यस क्षेत्रको बिकास पनि यी पालिकाहरुको सहकार्यमा अगाडि बढाउन आवश्यक हुन्छ नै ।

अबको  निर्वाचनमा यो क्षेत्रमा महानगर बनाएर अगाडि बढ्न जरुरी छ । एउटै जिल्लामा धेरे पालिका धेरै जनप्रतिनिधि बनाएर शिक्षा, स्वाथ, खानेपानी, जस्ता कार्यालयका संरचना  निर्माण गर्नु छुट्टै पाठ्यपुस्तक बनाउनु त्यति सान्दर्भिक होइन् । स्क्याटर योजना बनाउनु भन्दा प्रभावकारी सेवादिने स्तरीय ठूलो संरचना बनाउनु अवको आवस्यकता र समयको माग हो । एउटै जिल्लामा धेरै प्रतिनिधिहुँदा त्यसले झनै गुट–उपगुट र्सिजना गरी बिकास निर्माणका काममा अवरोध हुन्छ । जस लिने होडबाजी कतिपय ठाउँमा देखा परेको सर्बबिधितै छ । तसर्थ सरोकारवाला निकाय र यस क्षेत्रका जनप्रतिनिधि बसेर अव महानगरपालिकाको छलफल अन्तरक्रिया  अगाडि बढाउन ढिला गर्न हुन्न । हुन त महानगर बनाएर के हुन्छ ? भन्ने पनि हुनुहुन्छ तर यथार्थमा अहिलेको परिस्थितीमा यो विचार त्यति सान्दर्भिक होईन कि ?

गैतमबुद्धको पवित्र जन्मभूमीमा पर्ने रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई भने धार्मिक एवं पर्यटकीय रुपमा अगाडि बढाउन आवश्यक छ । विश्वमा बुद्धका अनुयायी थुप्रै भएकाले लुम्बिनी विदेशी पर्यटक भित्राउन सकिने महत्वपूर्ण आधार हो । यसबारे छुट्टै स्पष्ट आयोजना बनाउन आवश्यक छ । यहाँका ब्यापारिक प्रतिष्ठान उद्योग बाणिज्य संघ, उद्योग संघ, ब्यापार संघ जस्ता संघ–सस्थाले पनि यस बारे गम्भिर भएर पहल चलाउन आवश्यक छ । अबको बिकास गुट–उपगुट, तेरो–मेरो नभनी आम नागरिकले बिकासको परिणाममूखी सेवा, सुबिधा पाउने गरी स्पष्ट मिसन, भिजन, गोलसहित अगाडि बढ्न जरुरी छ । हुन त कतिपय नगरपालिका बनाउँदा त्यसको भौगोलिक बिभाजन राजनीतिक दलका नेताहरुले आफ्नो भोट प्याकेट अनुसार गर्दा पनि नमिल्दो  भएको स्थानीयको गुनासो  पाईन्छ  ।

सीमा बिभाजन नमिलाउँदा मतदाता पनि मतदान गर्न टाढा टाढा जानपरेको अवस्था छ भने कतिपय ठाउँको जनसंख्या निकै कम र कुनै ठाउँको निकै बढी हुँदा बिकास निर्माणमा समेत जटिलता उत्पन्न भएको पाईन्छ । कतिपय नगरपालिका र गाउँपालिकाको सीमा क्षेत्र पनि नमिल्दो गरी छुट्याएको रुपन्देहीको नक्साबाटै स्पष्ट हुन्छ ।

तिलोत्तमा नगरपालिकासँग जोडीएको सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकाको केही भाग र मायादेवी गाउँपालिकाको केही भाग सिद्धार्थनगर नगरपालिका वा सियारि गाउँपालिकामा जोडिदिए हुनेमा अनावश्यक रुपमा मायादेवी गाउँ पालिकाले दक्षिण पूर्व तिर ओमसतिया गाउँपालिकालाई समेत छुन पुगेको छ । नक्साङ्कन राम्रोसँग गर्ने हो भने बुटवल हुँदै तिलोत्तमा र तिलोत्तमा हुँदै सिद्धार्थनगर जोडिँदा राम्रो  हुन्छ । यस्ता सवालमा र्निवाचन आयोग, स्थानीय जनप्रतिनिधि र दलहरु बसेर जिल्ला, नगरपालिका र निर्बाचन क्षेत्रको बिभाजन मिलाएर गर्न आवश्यक देखिन्छ । जनप्रतिनीधिको भोट बैंक अनुकुल पालिका र निर्वाचन क्षेत्र बिभानज गर्न सान्दर्भिक  हुँदैन ।

बुटवलकै बिभाजन हेर्ने हो भने वडा नम्वर ११ मा करिब १६ हजार मतदाता रहेका छन्  । वडा नम्बर ५ मा यो अनुपातमा निकै कम अर्थात करिब १ हजार ६ सय मात्रै मतदाता छन् । भूगोलको आधारमा वडा नम्वर १२ ले धेरै भू–भाग ओगटेको छ । यस्तो  बिभाजनलाई सुधार गर्न आवश्यक  देखिन्छ ।  

जनसंख्याको आधारमा हेर्ने हो भने बुटवल उप– महानगरपालिकामा करिव २ लाख, तिलोत्तमा नगरपालिकामा करिव १ लाख ५० हजार रहेको छ । अन्य ८ वटा पालिकाको जनसंख्या जोडदा पुग नपुग १० लाख जनसंख्या होला । तसर्थ अव रुपन्देही जिल्लामा धेरै पालिका बनाएर साना टुक्रे बिकासको खासै अर्थ हुँदैन । र, यो  निश्चित सम्भावना भएको महत्वपूर्ण ठाउँहरु मध्ये एक भएकोले महानगरपालिकाको अवधारणामा बिकास निर्माणका काम अगाडि बनाउन आवश्यक छ । नत्र पछि पछुताउन पर्ने निश्चित छ ।

 

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार