ताजा अपडेट »

वनका कुरा मनका कुरा

मंगलबार, ०१ फागुन २०८०, १८ : ११
116 Shares

पाल्पा,तिनाउको ६ वटै वडामा रहेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई भेट्ने अवसर मिल्यो यसपालि । पौषको २० गते तिनाउको कचलदेखि सुरु गरिएको वडागत संरक्षण अभियान माघको २६ गते मस्याममा पुगेर सम्पन्न भएको छ ।
वडाका पायक पर्ने स्थानमा आयोजित उक्त अभियानमा प्रत्येक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षलाई आमन्त्रण गरिएको थियो । उक्त कार्यक्रमको मुख्य आयोजक सामुदायिक वन समन्वय समिति, तिनाउ रहेको थियो । प्राविधिक एवम् आर्थिक सहयोगीका रुपमा तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिका रहेको थियो । साथै डिभिजन वन कार्यालय, पाल्पा, सबडिभिजन वन कार्यालय,तिनाउ,वन निर्देशनालयका निर्देशकसहित तिनाउभरि रहेका ८४ वटा सामुदायिकवन उपभोक्तामध्ये केही समूहवाहेक धेरैको उपस्थिति थियो । साथमा धार्मिक वनका पदाधिकारीहरुको सार्थक उपस्थिति समेत थियो ।

हाम्रो अभियानले सामुदायिक वन उपभोक्ता समूहको सुशासनलाई पहिलो प्राथमिकतामा राखेको थियो । आफ्ना समूह बैठकको नियमितता,आमभेलाको प्रचलन, वार्षिक साधारण सभा,अधिवेशन,अडिट अनि खाता सञ्चालनका साथै कार्ययोजनाको अवस्था र नवीकरण,वनको आम्दानीको स्थायी एवम् दीर्घकालीन स्रोत,ढलापढाको अवस्था,काठको ठेक्कापट्टा लगायतका विषयलाई लिएर सवालजवाफ गरिएका थिए । साथै उपभोक्ता समितिका पदाधिकारीहरुले वन त हावा खानमात्र बनाइएको, उत्पादनजति सबै वन्यजन्तुहरु( दुम्सी,घोरल,राते,बाँदर,बंदेल लगायतका जनावरहरु)ले सत्यानाश गरिदिएको बताएका थिए । उनीहरुले कृषकका पीडा,वनका मान्छेहरुले नबुझेकोमा आक्रोश समेत पोखेका थिए । कतिपय समूहले सामुदायिक वन समन्वय समितिले वनमात्र जोगाउन भनेको तर प्रयोगका बारेमा चुँसम्म नबोलेकोमा रोष प्रकट पनि गरेका थिए ।

हामीले सामुदायिक वन समन्वय समितिका तर्फबाट उत्तर दिनेभन्दा पनि समस्याहरु, समाधानका बारेमा वृहत् कार्यक्रमको आयोजना गरी सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्ने सोच बनाएका छौं र नयाँ योजना बनाएर उपभोक्ताहरुका समस्याहरुलाई सम्बोधन गर्ने तयारीमा जुटेका छौं । गाउँमा धेरै मानिसहरु छैनन् । दैलामा भोटेताल्चा ठोकेर बसाइसराइँ गरेका छन् । भीरपाखामा वनमाराहरुले साम्राज्य जमाएका छन् । बाँकी उपभोक्ताहरुले गरेका खेतीमा बाँदर आतक  बयान गरी साध्य छैन । सायद गाउँमा उत्पादन हुन छाडेपछि बाँदरहरुका पेटमा आगाका ज्वाला दन्केको हुन सक्छ । बाँदरहरुले सताइएपछि हामीलाई कतिपय समूहका पदाधिकारीहरुले ‘हाम्ले नै बाँदर पालेर दुःख दिएको हो कि झैं पनि गरे ।

वडा नं. १,कचलका उपभोक्ता र वडा नं. ६ मस्यामका उपभोक्ताहरुका पीडा एउटै थिएनन् । उनीहरुका समस्या र भोगाई समेत फरक थिए । कतै वनका ढलापढा बेच्न नपाएको गुनासो थियो,वन कार्यालयसँग भने कतै आफ्नो सामुदायिक वनमा चिलाउने र कटुसबाहेक अरु कुनै बोटविरुवा नभएको सुनाए । अमिस्रो बेचेर आम्दानी गर्ने उपभोक्ता भेटिए भने कतै दालचिनी बेचेर समूहले आम्दानीको बाटा फराकिला बनाएको कुरा सुनाउँदै थिए । कतै पर्यापर्यटमार्फत आफ्नो समूहले आम्दानी गरेका रहेछन् भने कुनै सामुदायिक वनले सालका पातमा नाम्लेकीरा हो कि झुसिलेकीराले खत्तम पारेको सुनाए । दालचिनीको कर लिने स्थानीय सरकारको निर्णय मान्य नहुने कुरा समेत उनीहरुले  सार्वजनिक रुपमा हामीलाई सुनाएका थिए ।

समन्वय समितिले धेरै वर्षपछि समूहका उपभोक्ताहरुसँग यस्तो खाले घुम्ति अभियान राखेको थियो । अझै उपभोक्ताहरुका घरदैलामा नै समिति पुग्न सके उत्तम हुने देखिन्छ । अभियानमा स्थानीय वडाका जनप्रतिनिधिहरु,डिभिजन वन कार्यालयका प्रतिनिधिहिरु, वन निर्देशकको समेत सार्थक सहभागिता रहेको थियो । समन्वय समितिले सञ्चालन गरेको दोभान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बारेमा जानकारी गराउँदै सहकारीको सदस्य हुनका लागि समेत विशेष अनुरोध गरिएको थियो । वनलाई माया गर्नेहरु धेरै भेटिए । चिन्ता गर्नेहरु थुप्रै रहेछन् । ‘वनलाई अब धेरै समयसम्म हेर्न र पाल्न सकिन्न । उस्तै परे सरकारलाई नै वन फर्काउन बेर छैन’ भन्नेहरु समेत भेटिए । समूहमा बस्ने कार्यसमितिको कोरम नपुग्ने हो कि वा कार्यसमितिमा नै बस्न नमान्ने दिन आइरहेको समेत समस्या सुनिए ।

हामीले अभियान थालेपछि धेरै समूहहरुले अड्किएको अडिट गरे । साधारण सभा र अधिवेशन सम्पन्न गरे । वनलाई माया गर्नेहरुले हाम्रो अभियानलाई धन्यवादज्ञापन गरे । कतिपयले वडामा ढिला आएकोमा गुनासो गरे । कतिपयले रमाइलो गर्नका लागि कार्यक्रमको आयोजना गरेको ब्यङ्ग गरे । ‘हिंडे पुगिन्छ,नहिंडे त आफ्नै आँगनपनि परदेश हुन्छ’ भन्ने कुरालाई हाम्रो समितिले मनन गरेको छ । गतिलोगरी बुझेको छ । कार्यक्रम हुनु र गर्नु ठूलो कुरो होइन । बरु उनीहरुका वन–उद्यमप्रतिको चासो र कृषि–वनप्रति राखेको जिज्ञासालाई कसरी समाधान गरौंला ? निमुखाको धन,कसरी सामुदायिक वनलाई कायम गर्न सकौंला ? चुरेक्षेत्रको संरक्षणमा समूहहरुलाई कसरी समर्पित गराउन सकौला ?

वनमा रहेका कालीज,लुइँचेहरुलाई कसरी जोगाउन सकिएला ? खोलाका माछालाई विष र विद्युतधारा प्रयोग गरेर मार्नेहरुलाई के कसरी नियन्त्रण गर्न सकिएला ? वनलाई डढेलोबाट कसरी जोगाउन सकिएला  ? वनको मर्म बुझ्दै पर्यापर्यटनमार्फत उपभोक्ताको  आम्दानी कसरी बढाउन सकिएला ? यावत प्रश्नका उत्तरलाई समाधान गर्न नसकिएमा पक्कै पनि हाम्रो अभियान कोरा यात्रा सावित हुनेछ । निष्कर्म प्रमाणित हुनेछ । अभियानमा सरिक हुने उपभोक्ता समूहका पदाधिकारीहरुलाई खाजा खुवाउन सक्यौं तर यातायात खर्च दिन समेत सकेनौं । पानी  र चिया पिलाउन सक्यौं तर भत्ता दिन सकेनौं । स्टेशनरी दिन सक्यौं तर त्योभन्दा अन्य धेरै सहयोग गर्न असमर्थ भयौं । समूहहरुका पदाधिकारीहरुको सार्थक सहभागिता,सल्लाह,सुझाव र सहयोगका बारेमा जतिनै तारिफ गरेपनि कमै हुनेछ ।

सामुदायिक वन उपभोक्ता समूहका आफ्नै पीडा छन् । चिन्ता छन् । वनलाई जोगाउनेहरुमात्र छैनन्,चोरीनिकासी गर्न उद्दत मानिसहरु पनि हुन सक्छन् भन्ने कुरालाई हामीले बिर्सिएका छैनौं । समन्वय समिति सहयोगी गैरसरकारी संस्थामात्र न हो । यसको आफ्नै संरक्षण एवम् विकासे वजेट छैन । काम गर्ने नियमित कर्मचारी छैनन् । हामी केवल स्वयम्सेवक न हौं । समय,परिस्थिति मिलाएर सहयोग र साथ दिन सक्छौं । हामीले सफ्टवेयरको काम गर्न सक्छौं तर हार्डवेयरको काम गर्न हामीसँग सामथ्र्य कम छ ।
विरुवा रोपौं,वन जोगाऔं भन्न सक्छौं । रुख काट्नेलाई पक्रिने हैसियत हामीसँग छैन । खोलामा विष नहालौं भन्ने सन्देश प्रवाह गर्न सक्छौं तर विष हाल्नेलाई कानुनी कार्वाही गर्ने हामीसँग औकात र हैसियत छैन । यी कुरा बुझाउन पनि अभियानले सहयोग पुराएको छ । समृद्धिका लागि वनको खाँचो पर्दोरहेछ । सबैका लागि वन चाहिंदो रहेछ । वडागत संरक्षण अभियानपछि यो कुरा थप प्रमाणित भयो । ( दलबहादुर गुरुङ,सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्का अध्यक्ष हुन् । उनको समितिमा ८४ वटा सामुदायिक वन उपभोक्ता समूहहरु संगठित छन् । )

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार