ताजा अपडेट »

लुम्बिनी प्रदेशमा धान उत्पादन ७.३६ प्रतिशतले बढ्यो, कुन जिल्लामा कति?

विहीबार, २५ माघ २०८०, १५ : ४८
580 Shares

बुटवल । लुम्बिनी प्रदेशमा धान उत्पादनमा बृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७.३६ प्रतिशतले धान उत्पादन भएको हो । लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आर्थिक २०७९/८० मा १२ लाख १ हजार ४५३.९ मेट्रिक धान उत्पादन भएकोमा यस वर्ष १२ लाख ९६ हजार ८९३.४ मेट्रिक धान उत्पादन भएको हो । 

जुन गत आर्थिक वर्षको भन्दा ७.३६ प्रतिशतले धेरै हो । तर, गत वर्षको तुलनामा यस वर्ष धान रोपाई गर्ने क्षेत्रफल भने घटेको थियो ।  लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ३ लाख ७००० हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोमा आर्थिक वर्ष २०८०/८१ मा २ लाख ९९ हजार ३४८ हेक्टरमा धान रोपाई भएको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले बताए ।   जुन गत वर्षको तुलनामा २.५६ प्रतिशतले कम हो । 

यस वर्ष समयमा नै पानी पर्दा र मलको सहज उपलब्ध हुँदा धान उत्पादनमा बृद्धि भएको उनले बताए । ‘गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ । समयमा नै पानी पर्दा र मलको सहज उपलब्ध भयो । यसकारणले गर्दा उत्पादन बढेको हो ।’–उनले भने ‘तर गत आर्थिक वर्षको तुलनामा यस वर्ष धान रोपाई भने कम क्षेत्रफलमा भएको थियो ।’

कुन जिल्लामा कति भयो उत्पादन?

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य सबै भन्दा धेरै धान उत्पादन रुपन्देहीमा भएको छ भने सबै कम उत्पादमा रुकुम पूर्वमा भएको छ ।

भूमि व्यवस्था तथा कृषि मन्त्रालयका रुपन्देहीमा ६० हजार ३२२ हेक्टर क्षेत्रफलमा रोपाई भएकोमा २ लाख ७८ हजार ८४ मेट्रिक टन धान उत्पादन भएको छ  भने रुकुम पूर्वमा २ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । त्यहाँ यस वर्ष ८२० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । 

यस्तै नवलपरासी पश्च्मिमा १९ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ९१ हजार ४७१ मेट्रिक टन धान उत्पादन भएको छ । कपिलवस्तु जिल्लामा ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ ।  बाँके जिल्लामा ३४ हजार ६७५ हेक्टरमा धान खेती गर्दा १ लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै बर्दिया जिल्लामा ५० हजार १ सय  हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ लाख २५ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ । दाङ जिल्लामा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ३२८ मेट्रिक टन धान उत्पादन भएको छ। 

प्युठान जिल्लामा ६ हजार ४६० हेक्टरमा धान खेती गर्दा२३ हजार ७७२ मेट्रिक टन धान उत्पादन भएको छ । पाल्पा जिल्लामा ७ हजार ३७९ हेक्टरमा ३३ हजार ६१९ मेट्रिक धान उत्पादन भएको छ । 

गुल्मी जिल्लामा ७ हजार १२० हेक्टर क्षेत्रफलमा २३ हजार १४० मेट्रिक टन धान उत्पादन भएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ९८२ हेक्टरमा धान खेती गर्दा २५ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको छ । 
रोल्पा जिल्लामा ४हजार ५४५ हेक्टर क्षेत्रफलमा १२ हजार ९९३ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।  
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।