ताजा अपडेट »

वैदेशिक रोजगारीबाट फर्केर गाउँमै भैँसीपालन, गर्छन् मनग्य आम्दानी

बुधबार, १७ माघ २०८०, १२ : ४९
298 Shares

दाङ । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भैँसीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन् । परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनले भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आएका छन् ।

साना–ठूला गरेर ७२ भैँसीपालन गरेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको उनको भनाइ छ । उनले भने, 'हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु ।'तीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनी बताउँछन् ।  उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्‍याएर दूध बिक्री गर्ने काम गर्दै आएको बताए । घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनी बताउँछन् ।

विदेशमा अर्काको अधीनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्टि मिल्ने उनले बताए । उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ ।उनले भने, 'विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैँसी बढाएर पाल्दै आएको छु । आम्दानी पनि राम्रै भइरहेको छ ।' दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनी बताउँछन् । 

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रुपमा रहेका यावदले लाखाैं खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरूलाई समेत सुझाव दिए । त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताउँछन् । उनले भने, 'विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ ।'​​

भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, 'अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।'​कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुर्ख्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनी बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।