ताजा अपडेट »

अवैध उत्खनन् रोक्न जाँदा तिनाउ खोस्रिनेहरुको आफ्नै पीडा

मंगलबार, १६ माघ २०८०, ०८ : ०३
364 Shares

बुटवल । तिनाउको किनार नियाल्दै सोमबार बुटवल उपमहानगरका जनप्रतिनिधिहरु दलबलसहित तस्कर समाउन पुगे । नदी किनारमा गीट्टी बालुवा भरेर थुपारिएका बोरा भेटेपछि डोजर लगाएर पुन नदीमै मिसाइयो । जनप्रतिनिधी, नगरप्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको रोहबरमा तिनाउ खोस्रीनेहरुले बिक्रीका लागि ठिक्क पारेका गिट्टी बालुवा पुनः खोलामै मिसाइएपछि साँझ विहानको छाक सम्झिँदै उनीहरुले गुनासो गरिरहेका थिए ।

आफूहरुलाई सरकारले रोजगारी दिन नसक्ने र बालुवा चालेर पनि खान नदिएको भन्दै उनीहरुले जनप्रतिनिधी र प्रहरी सामु आक्रोश पोखे । बुटवल रानीगञ्जकी माया कुमाल आफूले थुपारेको बोरा डोजरले पुनः नदीमै मिलाइदिएपछि भक्कानिन्दै बिलौना गरिरहेकी थिइन् । ३० वर्षिया मायाले बालुवा चालेरै मानसिक रोगी श्रीमान, सासु ससुरा र छोराछोरीको लालनपाल गर्दै आएको बताइन् । ‘मैले दिनभर दुःख गरेर १५/२० बोरा बनाउँछु । त्यसलाई ४० रुपैयामा विक्रि गर्दा दिनमा ५÷६ सय कमाई हुन्छ । त्यसैले घरखर्च चलाएकी छु । अब खोलामै पस्न नदिए कसरी परिबार पाल्ने ?’ उनको प्रश्न थियो । २ वर्षदेखि तिनाउ नदिमा बालुवा चाल्दै आएकी कुमालले ज्यामी काम गर्न जाँदा ठेकेदारले रकम नदिएपछि परिवार पाल्न नदिमा आश्रित हुनुपरेको बताउँदै थिइन् ।

‘श्रीमान मानसिक रोगी छन् । घरमा बृद्ध सासु ससुरा, ३ छोराछोरीलाई यहि बालुवा चालेर पढाएकी छु ।’–मायाले पीडा पोख्दै भनिन्, ‘ठूला तस्करी गर्नेलाई कसैले केही गर्दैन, बोरामा बालुवा भरेर जिविका चलाउनेलाई सबैले देख्ने रहेछन् ।’ उनले खोलाबाट नदिजन्य पद्धार्थ व्यवस्थित ढंगले निकाल्न पाउनुपर्ने समेत बताईन । ‘बरु कहाँ निकाल्न मिल्ने हो रेखांकन गरिदियोस तर खोलामै पस्न पाईन्न भनेर भन्नु हाम्रो पेटमा लात हाने जस्तो हो । यसो भए त मेरो चुलोमा अब आगो निभ्छ’–उनले भनिन् ।

बुटवल प्रगतिनगरकी कल्पना पुनले पनि ठूलो तस्करी गर्नेहरुलाई कारबाही कसैले नगरेको भन्दै आक्रोश पोखिन । उनले घरखर्च र परिवार चलाउन आफूहरु बालुवा चाल्ने गरेको भन्दै नदिजन्य पद्धार्थ निकाल्न बरु व्यवस्थित गर्नुपर्ने बताईन । डेढ वर्षदेखि बालुवा बोरामा तयार गरेर जिविका चलाएकी ५० वर्षिया पुनले बालुवा विक्रि गरेर घरखर्च चलाउने गरेको र २ छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको बताईन ।
स्थानीयको ठूलो समुह नदिमा पुग्दा उनीहरुले बोरामा बालुवा, गिट्टी उठाइरहेका थिए । त्यसपछि भने उनीहरुले जनप्रनिधिी, टोल विकास संस्थाका नेतृत्वकर्तालाई प्रतिबाद समेत गर्न खोजे । खोलामै उनीहरुले रोजगारीको माग गरिरहेका थिए । खोलाबाट बोरामा निकालेर बाटोमा डम्प गरेको अवस्थामा १२ सय बढी बोरा भेटिएपछि नगरप्रहरी, नेपाल प्रहरीलाई खवर गरिएको थियो । त्यसपछि भेटिएको नदिजन्य पद्धार्थ खोलामै फ्याकिएको थियो ।

tianu-nadi

पछिल्लो समय तिनाउ नदि र उकास क्षेत्रमा नदिजन्य पद्धार्थको चोरी निकासी बढेको छ । सरोकारवाला निकायहरुको बेवास्ताका कारण चोरी निकासीमा ठूलै गिरोह नै परिचालित छ । तिनाउ नदिमा जिविका पार्जनका लागि बोरामा नदिजन्य पद्धार्थ उठाउनेहरुलाई प्रयोग गरेर गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन् ।

बुटवलको मगरघाट माथी, एन्फा एकेडेमीको पछाडिबाट बोरामा नदिजन्य पद्धार्थ उठाएर चोरी निकासी भइरहेको छ । त्यस्तै बुटवल १७ रानीगञ्जमा पनि उकास क्षेत्रबाट नदिजन्य पद्धार्थको चोरी निकासी भएको छ । केही दिन अघि बुटवल उपमहानगरपालिकाको एक टोली रानीगञ्जमा नदि उकास क्षेत्रबाट नदिजन्य पद्धार्थ चोरी निकासी भएको सूचनापछि सोमबार स्थलगत अनुगमनमा पुगेको थियो ।

नगरप्रहरी सहितको टोली तस्करी भइरहेको सूचना पाएर उक्त स्थलमा पुगेपनि त्यहाँबाट तस्करहरु भने भाग्न सफल भए । उक्त टोली रित्तो हात फर्केको थियो । अहिले बुटवलको तिनाउ नदिबाट बोरामा नदिजन्य पद्धार्थ निकाल्नेको तातीनै लागेको छ । उनीहरुले अव्यवस्थित ढंगले नदिजन्य पद्धार्थ खोलाबाट निकालिरहेका छन् ।

स्थानीय सरकारले बोरामा नदिजन्य पद्धार्थ निकाल्दा वातावरणिय प्रभाव मुल्यांकन (ईआईए) गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन् । जसका कारण नदिमा गहिरा खाडल बनाएर स्थानीयले जथाभावी नदिजन्य पद्धार्थ निकालिरहेका छन् । त्यसरी निकालेको नदिजन्य पद्धार्थ उनीहरुले ट्याक्टरमा लोड गरेर विक्रि वितरण गर्ने गरेको भेटिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य नहकुल शाही ठकुरीले स्थानीयको नाममा तिनाउ नदिबाट नदिजन्य पद्धार्थको चोरी निकासी बढिरहेको र स्थानीय सरकारले यसको नियन्त्रण गर्न नसकेको बताए । ‘तिनाउमा दोहन भइरहेको सूचना नगरपालिकालाई बारम्बार गराउँदा समेत अनुगमन भएन । तिनाउ नदिमा जथाभावी उत्खनन गर्दा तटबन्ध समेत मासिसक्यो’ उनले भने ।

बोरामा जथाभावी नदिजन्य पद्धार्थ निकाल्दा मगरघाटको पुल, बुद्धनगरको पुल अब बाढिको उच्च जोखिममा रहेको समेत उनले बताए । बुटवलको बुद्धनगर, पवित्रानगर, प्रगतिनगर, मजुवा क्षेत्रमा पनि यसरी नै नदिजन्य पद्धार्थ जथाभावी निकाल्दा आधा दर्जन भन्दा बढि स्थानको तटबन्ध समेत भत्कीसकेको उनले बताए ।

baluwa

अहिले तिनाउ नदिभर गहिरा खाडल मात्र देख्न सकिन्छ । केही स्थानीयहरुले दिनभर खाडलमा साना मेसिन लगाएर बालुवा, गिट्टी थुपार्ने र साझ परेपछि ट्याक्टरमा उठाएर विक्रि गर्ने गरेको वडा सदस्य ठकुरीले बताए ।

सोमबार मात्र खोलाबाट बोरामा भरेर राखिएको अवस्थामा रहेको करिव १२ सय बोरा नदिजन्य पद्धार्थलाई खोलामै फ्याकिएको छ । वडा सदस्य नहकुल शाही ठकुरी, विभिन्न टोलका अध्यक्ष र स्थानीय सहितको एक अनुगमन टोलीले तिनाउ खोलाबाट बोरामा नदिजन्य पद्धार्थ भरेर चोरी निकासी भइरहेको भेटाएपछि स्काभेटरको प्रयोग गरेर नदिजन्य पद्धार्थ खोलामै फालिदिएको थियो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नदिबाट अवैध रुपमा उत्खनन गर्नेहरु विरुद्ध अप्रेशन चलाइएको बताए । उनले गैरकानुनी काम गर्ने कसैलाई पनि नछाड्ने भन्दै सबैको सहयोग लिएर नदिजन्य पद्धार्थको चोरी निकासीलाई नियन्त्रणमा लिने बताए ।

 

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।