ताजा अपडेट »

लुम्बिनी प्रदेशमा रुपन्देहीसहित ४ जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च

आइतबार, १४ माघ २०८०, १६ : २१
228 Shares

 

बुटवल । लुम्बिनी प्रदेशका चार जिल्लामा  कुष्ठरोगीहरूको सङ्ख्या उच्च रहेको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा प्रमुख खिमलाल पाण्डेका अनुसार लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, नवलपरासी पश्च्मि, बाँके जिल्लामा कुष्ठरोगीहरूको संख्या उच्च रहेको बताएका हुन् ।

७१ औँ विश्व कुष्ठ रोग दिवसको अवसरमा आइतबार लुम्बिनी प्रादेशिक अस्पतालको आयोजना र इन्द्रेणी ग्रामिण विकास केन्द्र र फेयरमेड फाउन्डेशन सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लुम्बिनीका ४ जिल्लामा उच्च रहेको जानकारी गराएका हुन् । 
हाल देशभर देशभर २ हजार ५ सय २२ जना कुष्ठरोगका बिरामी रहेकोमा लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६५ जना विरामी रहेको निर्देशनालयका शाखा प्रमुख पाण्डेले बताए ।

  सबै जिल्लामा छालारोग विशेषज्ञ पठाउन नसक्दा कुष्ठ रोगको सबै विरामीको पहिचान गर्न समेत नसकिएको बताए । साथै लुम्बिनी प्रादेशिक अस्पतालका छाला रोग विशेषज्ञ डा। कमल आचार्यले दिवस मनाएर भन्दा पनि कुष्ठ रोगसम्बन्धी निर्धारण गरिएका लक्ष्य रुप गरेर मात्रै सफल भइने बताए । यस्तै इन्द्रेणी ग्रामिण विकास केन्द्रका महेन्द्र पाण्डेले कुष्ठ रोगको सुरुमा कुनै लक्षण नदेखि पनि पछि असर गर्ने भएको सबैले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

समयमै उपचार गरेको अवस्था निको भएकाले अहिलेको अवस्था रोग लाग्दै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए । फेयरमेड फाउन्डेशनका प्रमुख शशिकुमार कर्णले अहिले पनि यो रोगको बारेमा समाजमा नकारात्मक धारण रहेकाले त्यस्ता धारणलाई सबै भन्दा पहिला हटाउनु आवश्यक रहेको बताए । समाजमा लुकेर रहेका धेरै केस रहेकाले यसको न्यूनिकरणको लागि सबैको साथ र सहयोग अपरिहार्य रहने बताए ।

अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, लुम्बिनी प्रादेशिक अस्पतालकी नसिङ्ग प्रमुख ज्योति पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवनीप्रसाद पाण्डेय लगायएको सहभागिता रहेको थियो । 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।