ताजा अपडेट »

नेपाली पत्रकारिता : सम्भावना र चुनौनी

शुक्रबार, १२ माघ २०८०, १७ : १५
350 Shares
शुक्रबार, १२ माघ २०८०
350 Shares

ज्ञानको व्यवसाय पत्रकारिता समसामयिक समाचार तथा विचारहरु जनतासामु पुर्याउने संचारको प्रभावकारी माध्यम हो । यसले आम सर्वसाधारण जनतादेखि ठूला बडाहरु माझ सत्य, तथ्य र जनसरोकारका समाचार दिने कार्य गरेको हुन्छ । तत्काल देखिएका, जानेका, घटेका, भएका घटनाहरुको सूचना प्रभाह गर्ने तथा व्याख्या विश्लेषण विवेचना गर्ने काम नै पत्रकारीता भित्र पर्दछ । समाचार प्रकाशन गरी व्यक्ति समुदायका गतिविधि अरु व्यक्तिहरुलाई जानकारी गराउनु, विचार, अनुभवका बारेमा जानकारी दिनु पत्रकारीताको प्रमुख उद्देश्य हो ।

स्वस्थ, निश्पक्ष पत्रकारिता समाजको आखाँ हो । त्यस कारणले गर्दा पनि संचारकर्मीले सत्य, तथ्य, निश्पक्ष समाचारलाई निडर तरिकाले जनता सामु पुर्याउन सक्नु पर्दछ । तर वर्तमान समयमा संचारकर्मीहरुले आफ्नो धर्म निर्वाह गर्न नसकेका कारण राष्ट्रको चौथो अङ्ग भएर पनि अरुबाट अपहेलित हुनु परेको सबैलाई अनुभव हुन थालेको छ । संघीय, प्रदेश र स्थानीय सरकार चलाउन कम्मर कसेका हाम्रा जनप्रतिनिधि पनि जिम्मेवार भएर अगाडि बढ्न नसकेका कारण पत्रकारिता क्षेत्र झनै डरलाग्दो बन्न थालेको छ । थुप्रै संचारकर्मी अहिले हाम्रा जनप्रतिनिधिका प्रेस सल्लाहकारका रुपमा अगाडि बढेका छन् । राजनीतिक प्रभाव र दवावमा रहेको हाम्रो पत्रकारितालाई यो प्रवृत्तिले कुनै मानेमा बलियो बनाउँदैन । कतिले त तीनै जनप्रतिनिधिको चाकडी गरेर बिभिन्न कार्यक्रमका नाममा बजेट ल्याउने र उनैलाई प्रमुख अतिथी बनाएर समाचार बनाउने परिपाटी पनि बढ्दो छ । यो प्रवृत्तिले त पत्रकारितालाई कहाँ पुर्याउला ? सोचनीय बिषय बनेको छ । कुनैपनि कार्यालयमा चाहिने सुचना अधिकृत नै हो ।

खामबन्दिले तान्दैछ पत्रकारीता

३१ वर्ष अगाडि मैले पत्रकारिता शुरु गर्दा यो पेशाप्रति उद्योगी व्यवसायी, कर्मचारी, आम सर्वसाधारण जनता माझ जुन विश्वास, भरोसा डरत्रास हुन्थ्यो त्यो आजका दिनमा निकै कम छ । हिजोआज गहकिलो खोजमुलक समाचार, बिचार उत्तेजक  लेखभन्दा पनि सभा, गोष्ठी, पत्रकार भेटघाट, वार्षिकोत्सव, उद्घाटन, तालिमका सतही समाचारले नै बढी प्राथमिकता पाउने गरेका छन् । जसका कारण पत्रकारिताको प्रभाव निकै कमजोर बन्दै गएको छ । अर्कोतिर भत्ते खामबन्दि पत्रकारीताको डरलाग्दो अवस्था देखापर्दै छ ।

एकातिर संचारकर्मीहरु राजनैतिक धरातलबाट माथि उठ्न सकेको देखिँदैन भने अर्कोतिर हाम्रो पत्रकारिता जुन रुपले फस्टाउनु पर्ने हो त्यो रुपले फस्टाउन सकेको छैन । खामबन्दि पत्रकारिताले प्रसय पाउन थालेको छ । पार्टी पत्रकारिता अर्को डरलाग्दो समस्या बनेकोछ । संचारकर्मीहरुले नै लेखेर, भनेर, देखाएर के हुन्छ र ? भन्ने अवस्था सृजना भएको छ । फेसबुक, मेसेन्जर भाइबर लगायत सामाजिक संजालले पत्रकारितालाई थप चुनौती थपेको हामीलाई जगजाहेर नै छ ।

संचारकर्मीहरु नै एक आपसमा आरोप प्रत्यारोप, राजनैतिक भागबण्डामा लागेका कारण पछिल्लो समय यो पेशा बद्नाम हुँदै गएको पनि छ । हो संचारक्षेत्र मुलुकको राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रबाट स्वतन्त्र रहन सक्दैन । तर केही संचारकर्मीले पत्रकारितालाई मागी खाने साधन बनाउँदै आएका कारण यो क्षेत्र बद्नाम हुँदै गएको छ । हामीले यथार्थ धरातलमा गएर कुनै पनि विषयबस्तुलाई सार्वजनिक गरिदिन सकेनौँ भने त्यसले समाजमा नकारात्मक असर पार्दछ । पाठक सामु विश्वास टुट्छ । तसर्थ यस पेशामा लाग्ने हामीले निश्पक्ष रुपमा संवेदनशिल भएर सूचनाहरु प्रभाह गर्न जरुरी छ । यदि यसो गर्न सकिएन भने देश र जनताको भलो, सामाजिक नैतिक मुल्य र मान्यताको विकास, भ्रष्टाचार नियन्त्रण हुन सक्दैन र जनताको विश्वास जित्न पनि सकिँदैन ।

केही व्यक्ति पत्रकार बन्दैमा वा पत्रकारिताको कार्ड भिर्दैमा उसमा अरु नागरिकभन्दा विशेष अधिकार वा सुविधा सृजना हुँदैन । यो कुरा उसको बानि व्यहोरा, अध्ययन, पेशाप्रतिको सर्मपण र ईमान्दारिताले सृजना गर्दछ । तर वर्तमानमा पत्रकारिता पत्याउनै नसकिनेगरी डरलाग्दो तरिकाले अगाडि बढेको छ । कतिपयले त भन्न थालका छन् प्रहरी, प्रशासन, जनप्रतिनिधिका निगरानी गर्नुपर्ने संचारकर्मी उनैको आडमा बिकृती बेथिती र भ्रष्टाचार बढाउन सहयोगी बनिरहेका छन् ।

मुलुकमा रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाईनको संख्या यर्थाथमा बढी भैसकेको छ । जसलेगर्दा संचारकर्मी र संचार गृह बीच अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ । कतिपय संचारकर्मीको महिना मर्नछाडेको पनि महिनौं भयो । यसैमाझ ब्यक्तिपिच्छे जस्तो अनलाईन र आफ्ना स्वार्थ अनुरुपको समाचारले पत्रकारिताको बजारमा कस्तो सन्देश देला ? यसबारे पत्रकार महासंघ र सरोकारवाला निकाय गम्भीर बन्न  पनि जरुरी छ ।

म देख्छु, आज भन्दा १७/१८ वर्ष  अगाडि म पाल्पाको रेडियो पश्चिमाञ्चल एफएममा स्टेशन म्यानेजरको रुपमा कार्यरत रहँदा रेडियोले ३ हजार देखि ४ हजार रुपैयाँमा मासिक बजाएको विज्ञापन अहिले रेडियोहरुमा एकहजार, पन्ध्र  सय रुपैयाँमा बजाउन पाउँदा खुशि हुनुपर्ने अवस्था छ । सामाजिक संजालले त पत्रपत्रिकाको महत्व र विज्ञापन बजार ह्वात्तै घटाईदिएको छ । हाम्रो विज्ञापन बजार कमजोर हुनुमा हाम्रै कमजोरी र मिडियाहरु बीचको अस्वस्थ प्रतिस्पर्धाको परिणाम पनि हो । त्यस्तै राजधानीमा रहेका ठूला संचारगृह हुन् वा मोफसलमा रहेका अधिकाशं संचार गृहले श्रमको शोषण गरिरहेको हामी सबैलाई जग जायर नै छ ।

मिडिया हाउसले खोजमुलक समाचारका लागि लगानी गर्ने परिपाटी त छदै छैन । त्यसमाथि ४/५ महिनासम्म पनि तलब नपाउँदा काम गर्न परिरहेको अवस्थाको अन्त्य  हुन नसक्दा खाम पत्रकारीतले प्रसय पाउन थालेको पनि छ । कुनैपनि कार्यक्रममा पुग्ने संचाकर्मीले आयोजकबाट खाममा केही पाउने आशा गरिरहने अवस्था सृजना भएको छ । तसर्थ यावत समस्याप्रति मिडीया हाउस र  सरकार गम्भरि नहुने हो भने संचार क्षेत्रमा अझ बिकृती बिसंगती भित्रने पक्का छ । धेरै संचारकर्मी पेशाबाट पलाएन र बिस्थापित हुनेछन् । हुन त कतिपय संचारकर्मी बिदेशिएको, ठेक्कापट्टा तिर लागेको, बिभिन्न कार्यालय र संस्थामा जागिर तिर स्थानान्तरण हुँदै गएको हामीले देखेकै छौं । कतिपय यही पेशाको आडमा बिकृति बढाएर आफ्नो स्वार्थ पूर्ति गरीरहेको अवस्था पनि छ ।

पत्रकारीता क्षेत्रको महत्व आजको युगमा कति छ भन्ने कुरा सबैलाई जगजाहेर नै  छ । तर स्वतन्त्र रुपमा कुनै पत्रकार अगाडि बढ्न र पत्रिका  निकाल्न चाहान्छ भने त्यहाँ ठूलो संकट पैदा हुने अवस्था पनि छ । पत्रकारिता भन्दा ‘पार्टीकारिता’ फस्टाएको अवस्था पनि छ  । चाकडी, चाप्लुसी, नातावाद, राम्रो भन्दा पनि हाम्रो भन्ने परिपाटीले पत्रकारिता क्षेत्र मर्यादित हुन सकेको छैन । हिजोका दिनमा पत्रपत्रीकामा लेखिएका, रेडियोले भनेका, टिभिमा हेरेका कुराले धेरै अर्थ राख्दथ्यो । तर अहिले प्रकाशित प्रसातिर समाचारले समाजमा खासै असर पारेको देखिँदैन ।

अबको नेपालको पत्रकारिताको कुरा गर्दा राजनीति भन्दा पनि आर्थिक विकास, कृषि र पर्यटन बिकाशको पत्रकारिता आवश्यक छ । हामीले धेरै राजनीतिकै क्षेत्रमा हात हाल्न पुग्यौ । जसका कारण हामी पत्रकारिताको बिकासमा पछाडि परेका हौं । एउटा किसानले २०÷३० लिटर दुध दिने गाईभैँसी पालेर, बेमौसमी तरकारी खेती गरेर प्रगती गरेको कुरा बाहिर ल्याउन सके त्यसले अन्य किसानलाई पनि जोश, जाँगर, प्रेरणा दिन्छ भन्नेतिर हाम्रो कलम बास्तवमै चल्न सकेको छैन । हाम्रो पत्रकारिता अहिले पनि गाँउ बस्तिसम्म पुगेको अवस्था छैन । एनजिओ, आईएनजिओले गाउँको बिकास गर्नेभन्दै धेरै बजेट लगेका छन्, आफ्नो भविश्य बनाईरहेका छन् तर गाउँले जनताका समस्या जस्ताको तस्तै छ । तर हाम्रो पत्रकारिता त्यहाँ पुग्न सकेको छैन । पुगेपनि भत्ता र खामबन्दिवाट प्रभावित छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा हाम्रा जनप्रतिनिधि आफ्नो काममा ईमान्दार बन्न नसक्दा समाजमा बेथिती र भ्रष्टाचार झनै बढेकोले यो समय पत्रकारका लागि झनै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने बेला हो । यदि हामीले बर्तमान भ्रष्टाचार र बेथितीका बिरुद्ध ईमान्दार भएर कलम चलाउन सकेनौ भने सभ्य र सुशासन युक्त समाज निर्माण हुन नसक्ने मात्र होईन मुलुकमा अराजकता र अस्थीरता झनै बढ्ने छ ।

धेरै पत्रपत्रीका, तालिम, गोष्ठि, सेमिनार, पुरस्कार राजधानी काठमाडौँ मै केन्द्रित छ । यद्यपी प्रजातन्त्र, गणतन्त्रको स्थापनाका लागि संचार क्षेत्रले खेलेको भूमिकामा राजधानी बाहिरका मिडीयाको भूमिका पनि कम छैन । तर अहिलेपनि मोफसल हरेक अवसरबाट टाढा छ, ठगीएको छ त्यसमाथि कोरोनाको प्रभाव त छदै छ ।

तसर्थ राष्ट्र, राष्ट्रियता र जनताको हितका लागि पत्रकारितालाई दरिलो, प्रभावकारी, गरिमामय, स्वस्थ, विश्वासनीय बनाउन नयाँ शिराबाट सोच्न आवश्यक छ । जस्का लागि संचारकर्मी, संचारगृह र सरकार यस क्षेत्रको विकासका लागि निश्पक्ष भएर अगडि बढ्न जरुरी छ । हाल स्थानीय तहमा पनि अनलाईन, एफएम रेडियो तथा  टिभिको संख्या पनि अलि बढी हो कि ? संचारगृह मर्जरसम्म गरेर अगाडि बढ्ने कि, बहस आवश्यक भईसकेको अवस्था छ । सरकारले पत्रकारिता क्षेत्रको विकासलाई जोड दिँदैछ, हक अधिकार लागू गर्दैछौ, पत्रकार महासंघ स्थापना भईसकेको छ, धेरै रेडियो, टेलिभिजन, पत्रपत्रीका निस्केका छन्, खुलेका छन् भनेर यो क्षेत्रको विकास हुन सक्दै सक्दैन । पत्रकारिता पाठक, श्रोता र दर्शकको मन जित्ने गुणस्तरीयता आजको आवश्यकता हो कि ?

 

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार