ताजा अपडेट »

कठ्याङ्ग्रीने चिसोमा बालबालिकालाई खुला मैदानमा बोलाएर प्रतियोगिता गर्दै तिलोत्तमा

आइतबार, ०७ माघ २०८०, १८ : ०७
848 Shares
आइतबार, ०७ माघ २०८०
848 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोमबारदेखि पाँचौ राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दै छ । पछिल्लो केही दिनयता अत्याधिक चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको तिलोत्तमाले बालबालिकालाई खुला मैदानमा बोलाएर सोमबारदेखि प्रतियोगिता गर्दै छ ।

यही माघ ७ देखि १० गतेसम्म अत्याधिक चिसो बढेको भन्दै शैक्षिक संस्थाहरुलाई पठनपाठन बन्द गर्न आह्वान गरेको तिलोत्तमा नगरपालिका आफैले राष्ट्रपतिकप भने जारी राख्ने भएको हो । कठ्याङ्ग्रीने चिसोमा विभिन्न उमेर समूहका बालबालिका सहभागी हुने प्रतियोगिता पूर्व निर्धारित भएकाले स्थगित गर्न नसकिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । नगरपालिकाले बालबालिकाको स्वास्थ्यमा खेलवाड गर्दै चिसौ मौसममा खुल्ला मैदानमा बोलाएर कार्यक्रम गर्न लागिएको भन्दै कतिपय अभिभावकले आलोचना गरेका छन् । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष मुनिका विभिन्न उमेर समूहमा रहेर प्रतिस्पर्धा हुने प्रतियोगितामा तिलोत्तमाका संस्थागत तथा सामुदायिक गरी ३८ वटा विद्यालयका विद्यार्थी सहभागी हुने नगरका शिक्षा शाखा प्रमुख आचार्यले बताए ।

बाल रोग विशेषज्ञ डा. सन्तोष पोख्रेलका अनुसार चिसो मौसममा सकेसम्म बालबालिकाहरुलाई घर बाहिर निकाल्नु त्यति उपयुक्त मानिदैन । विशेष गरी तराई क्षेत्रमा अत्याधिक चिसोसँगै हावामा अत्याधिक रुपमा धुलोको कणहरु रहेकाले बालबालिकालाई असर गर्न सक्ने सम्भावना बढी हुन्छ । वायुमण्डलमा भएका माइक्रो नानो ग्राम प्रदुषणयुक्त कणहरुले बालबकालिकामा घ्यार–घ्यार हुने, खोकी लाग्ने तथा उक्त प्रकोप परिवार वा अन्य साथीहरुमा पनि सर्दै जान सक्ने हुँदा सचेतना अपनाउनु पर्ने उनी बताउँछन् ।

चिसो मौसममा खुला मैदानमा गरिने विभिन्न खेल गतिविधि समेत स्वास्थ्यको हिसाबले उपयुक्त नहुने उनको तर्क छ । नेपालका अधिकांश खेलमैदानहरु मापदण्ड नपुगेका, धुलो र मैलो रहेकाले चिसो मौसममा यसले थप असर पार्न सक्ने उनी बताउँछन् । ‘अहिलेको चिसो मौसममा इन्डोर गेम बाहेक खुल्ला मैदानमा बालबालिकाहरुलाई लैजाँदा जोखिम हुन सक्छ ।’–डा. पोखरेलले भने, स्वस्थ हुन खेलीने खेलले झन अस्वस्थ बनाउन सक्छ ।

वरिष्ठ फिजिसियन डा. नन्दु पाठकका अनुसार चिसोसँगै न्यून तापक्रम भएको समयमा बालबालिकाहरुलाई घर बाहिर ल्याउनु उपयुक्त मानिँदैन । चिसो मौसममा धुलोसँगै विभिन्न रोगका जीवाणुहरु जमिनभन्दा धेरै माथि जान सक्दैनन्, जसका कारण मानिसमा संक्रमणको सम्भावना बढी रहने गर्दछ । उनका अनुसार यो समयमा सकेसम्म वयस्क उमेर समूहका व्यक्तिहरु समेत मनिङ वार्क निस्कने, लामो समय बाहिर बसेर काम गर्ने गर्नुहुँदैन । विशेष गरी तराईमा बसोबास गर्ने मानिसहरु चिसोभन्दा बढी गर्मी मौसममा रहने बानी परेको हुँदा शरिरले पनि सोही अनुसार चिसो मौसमको सामना गर्न कठिन हुने डा. पाठक बताउँछन् ।

यसरी स्वास्थ्यका लागि खेलकुद नारा लिएर तिलोत्तमा नगरपालिकाले गरेको प्रतियोगिताले बालबालिकालाई झन अस्वस्थ बनाउने डर कायम रहेको छ । प्रतियोगितामा करिब १ हजार ५ सय विद्यार्थी सहभागी हुने छन् । तिलोत्तमा स्थित जनज्योती युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिता माघ ८ गते सोमबारदेखि सुरु भई माघ १० गते समापन हुने कार्यतालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि तिलोत्तमा नगरपालिकाले वार्षिक बजेटमा १२ लाख रुपैयाँ विनियोजन गरेको छ भने केन्द्र सरकारबाट १ लाख रुपैयाँ अनुदान प्राप्त भएको शिक्षा शाखा प्रमुख अचार्यले बताए । यसबाहेक अन्य स्रोबाट व्यवस्था गरी प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च अनुमान गरिएको जानकारी दिए । १ महिना अगाडि नै कार्यक्रम तय गरिएका कारण चिसो मौसम भएपनि प्रतियोगिता स्थथगित गर्न नसकिएको आचार्यले बताए ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।