ताजा अपडेट »

चर्चा : कृषि यान्त्रिकीकरण प्रदर्शनी र मेला महोत्सव

शुक्रबार, २७ पुस २०८०, १९ : १८
458 Shares

मंंसिर, पुष र माघ महिना बिभिन्न जिल्लाको लागि  मेला  महोत्सव र प्रदर्शनी लाग्ने महिना हो । यस पटक पनि  बिभिन्न जिल्लाका बिभिन्न ठाउँमा मेला महोत्सव आयोजना भए । तर ती मेला  महोत्सवमा  खासै  आर्थिक  कारोबार हुन  सकेन । सबै मेला, प्रदर्शनीमा आन्तरिक बजार प्रवर्द्धनमा जोड दिने बताईए पनि मेला प्रदर्शनीमा संञ्चालन हुने वा उद्यान तर्फका सरकस, पिङ वा मनोरञ्जनका साधनहरुको ब्यापार भारतीय ब्यापारिको हातमा नै रहेको पाईन्छ । हाम्रो कला  संस्कृतिलाई जोगाउन नेपाली लिङ्गे चर्के पिङ, नेपाली खाना नाचगान, संस्कृतिले उच्च प्राथमिकता पाउन सकेको देखिँदैन ।

आन्तरिक बजार प्रवर्द्धन कृषिमा आधुनिकीकरण गर्ने स्वदेशी उत्पादनको  प्रयोग बढाउन आधुनिक विदेशी प्रविधि सिकाउने जस्ता उद्देश्यले बिभिन्न जिल्लामा हरेक वर्ष ब्यावसायिक संंघ संस्थाले औद्योगिक ब्यापार मेला, प्रर्दशनी, एक्स्पो, प्रर्यटन महोत्सव कृषि मेला  आयोजना गर्ने प्रचलन बढ्दै गएको छ । जस्ले बन्द ब्यापारलाई चलाएमान गराउन महत्वपूर्ण भूमिका खेल्दछ । तसर्थ यस्ता प्रदर्शनीमा नयाँपन दिन पनि त्यत्तिकै आवश्यक हुन्छ । हुन त कतिपय मेलामा जतिसक्दा धेरै स्टल बनाउने हाटबजारमा जस्तो सामान राख्ने प्रवृत्तिले दर्शकको मन तान्न नसकेको गुनासो पनि पाईन्छ । बिभिन्न ठाउँमा भएका मेला प्रदर्शनी भन्दा यो पटक पोखरामा लागेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी अलि पृथक लाग्यो ।

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी
पछिल्लो समय कृषि क्षेत्रमा सम्भावना देखेका किसान व्यवसायीको कृषि यन्त्र उपकरण प्रयोगमा  आर्कषण बढ्दै गएको छ । कृषिका आधुनिक प्रणालीको प्रयोगले गर्दा पनि किसानहरुले ब्यवसायिक रुपमा बृहत रुपले उत्पादन कार्य सुरु गरेका छन् । कृषि प्रविधि र यन्त्रको प्रयोगले काममा सहजता र कृषि उत्पादनको लागत मुल्यमा कमी ल्याएको छ । त्यस्तै कतिपय गुणस्तरीय रैथाने उत्पादनले विदेशमा पनि बजार पाएको छ । पछिल्लो पटक मुना कृषि बजारले केही नेपाली कृषि उत्पादन विदेशी बजारमा पठाउन सफल भएको छ । यो नेपाली किसानको लागि खुसी र गौरवको विषय हो । पोखरामा पुष २० देखि २२ गतेसम्म सञ्चालन भएको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भयो । जुन प्रदर्शनीले कृषि यन्त्र उपकरणप्रति किसानहरुको आर्कषण बढाएको छ भन्ने कुराको पुष्टी गरेको छ ।

krishi-mela

नेपाल कृषि मेशिनरी व्यावसायी संघले पोखराको नयाँ बजार प्रदर्शनी केन्द्रमा आयोजना गरेको यो गण्डकी प्रदेश स्तरीय यान्त्रीकरण प्रदर्शनी २०८० मा किसानहरुको उत्साहजनक उपस्थितीले आयोजकलाई पनि उत्साह थपेको कार्यक्रम संयोजक सुनिता न्हेमाफुकी बताउछिन् । यस्ता  प्रदर्शनीले कस्तो प्रविधि भित्राउने भन्ने कुराको जानकारी गराउदै मुल्य श्रृखलासँग जोडिन्छ भन्ने उनको भनाई छ । पोखरा उप–महानगरपालिाका, पालिका तथा कृषि निर्देशनालय लगायत सरोकारवाला निकायबाट राम्रो सहयोग भएकोले किसानहरुले एउटै छानामुनि कृषि प्रविधि र औजारका बारे जानकारी लिन सकेको पनि संयोजक न्हेमाफुकीले बताइन् ।  

प्रदेश स्तरीय यो प्रदर्शनीले आगामी दिनमा यस्ता प्रदर्शनी अन्य प्रदेशमा पनि आवश्यक रहेको पुष्टी हुन्छ । प्रदर्शनीमा कृषिका लागि आवश्यक साधारण यन्त्र उपकरणदेखि ट्याक्टर, मिनीटिलर, पावरटिलर लगायत ४० बढी स्टलमा १ हजार बढी उपकरण प्रदर्शनीमा  राखिएका थिए  । जहाँ  किसानहरुले आफूलाई आवश्यक पर्ने कृषि यन्त्र खरिद गर्नुको साथै माग पनि गरे । १० देखि २५ प्रतिसतसम्म छुटपनि प्राप्त गरे । नेपालको अर्थतन्त्रलाई माथि उकास्नका लागि कृषिले महत्वपूर्ण भूमिका खेल्दछ र बदलिदो वातावरणीय अवस्थासँग जुध्नु तथा कृषि उत्पादन बढाउनका लागि कृषि  प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ ।

कृषि क्षेत्रमा उत्पादकत्वको कमी आउनुको मुख्य समस्या भनेको परम्परागत प्रविधिको प्रयोग हो । हालसम्म कृषि प्रविधि बिकासको तथ्यांकलाई हेर्ने हो भने कृषि क्षेत्रमा प्रविधिको प्रयोग एकदम न्यून रहेको छ । यस्ता प्रदर्शनीले व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई निकै सयोग पुग्दछ । प्रदर्शनीमा सहभागी मुना कृषि बजारका निर्देशक युवराज गुरुङ समग्रमा कृषिमा यान्त्रीकरणतर्फ किसानको आकर्षण बढेको बताउँछन् । यस्ता प्रदर्शनीमा विदेशी उपकरण मात्रभन्दा नेपाली उत्पादन र परम्परागत प्रविधिका पानीघट्ट, महाविर पुनको टेक्नोलोजी लगायत नेपाली यन्त्रलाई पनि मोडिफाई गरेर प्रयोगमा ल्याउन सकिन्छ भन्ने वातावरण दिनपर्ने उनको सुझाव छ ।

नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रको कृषि पर्यटन उपसमितिको सदस्यको नाताले यो पटक पोखरामा प्रदर्शनी अवलोकन गर्ने ईच्छा लाग्यो र अवसर पनि प्राप्त भयो । यो प्रदर्शनी अन्य मेला महोत्सव प्रदर्शनी भन्दा अलि भिन्न पनि लाग्यो जुन किसानका लागि निकै उपयोगी थियो भन्दा फरक पर्दैन । जहाँ अवलोकनकर्ताले एकै ठाउँमा नेपालको कृषिमा आधुनिकीकरण, प्रबिधि, ग्रीनहाउस निर्माण, थोपा सिंचाइ प्रविधि, कृषि सामग्री  आपूर्ति, सिचाँई सामग्री जडान बारे परामर्श तथा प्राविधिक  सहयोग, कृषि उपकरण बारे जानकारी लिने अवसर समेत गरेका थिए ।

थोपा सिञ्चाई प्रविधि–स्प्रिङ्कलर सिंचाई, फोगर सिंचाई, ग्रिनहाउस, पोलि हाउस तथा नेट हाउस निर्माण, यू भि ग्रीन हाउस प्लाष्टिक, मल्चिङ्ग प्लाष्टिक, सेडनेट, हेल नेट, असिना रोक्ने जाली), थाक्रा दिने जाली, पशुपन्छी रोक्ने जाली, बिरुवा उमार्ने ट्रे तथा कोकोपीट, यूरोपमा उत्पादित नर्सरीमा प्रयोग हुने पिटमोस गुणस्तरीय स्पे्र पम्प, इलेक्ट्रीक तथा म्यानुअल, प्लाष्टिक तथा नेट व्याप्न प्रयोग हुने प्रोफाईल र तार, थाक्रा दिने डोरी, टोम्याटो क्लिप, पोलिष्टर वायर, टनेल बाध्ने फित्ता, स्प्रे भाईजर, स्प्रे एप्रोन, पात तथा हाँगा काट्ने कैँची, किरा छेक्ने जाली, ग्राउण्ड कवर, स्बटिङ्ग, फेन्सिङ्ग नेट, कृषि सम्बन्धि आवश्यक सामग्री तथा प्रविधि बारे किसान तथा मेलामा  सहभागिहरुले जानकारी लिए ।

हुन त यहाँ आउनेहरुले यसबारे बालि बिकास सम्बन्धि उपकरणहरु, ४ पाङ्ग्रे ट्याक्टरमा जडानहुने उपकरण, पोष्ट हार्भेष्ट, मत्स्य पालन सम्बन्धि, पशुपालन सम्बन्धि, बाली संरक्षण सम्बधि, थोपा  सिञ्चाई तथा पोलि हाउस, मकै खेति सम्बधि उपकरणहरु तथा नयाँ नयाँ प्रविधिहरु बारे पनि जानकारी लिए । राष्ट्रिय कृषि इन्जिनीयरीङ्ग अनुसन्धान केन्द्रबाट हालसालै बिकसित केही सफल प्रविधिहरुमा बाँदर धपाउने मेसिन, कफी पल्पर, कोदो चुट्ने ̷ फल्ने मेशिन, अदुवा धुने मेशिन, सोलार टनेल ड्रायर लगायतका बारेमा पनि अवलोकनकर्ताले बुझ्ने अवसर प्रप्त गरे । यो राम्रो पक्ष हो । यस्ता कार्यले कृषि क्षेत्रमा उत्पादन बढ्नुका साथै किसानको आय आर्जन बृद्धि गर्न मद्दत गर्दछ ।

mela 

स्थानीय, प्रदेश र संघीय सरकारले पनि स्पष्ट कृषि नीति बनाएर किसानका खेत बारी र बगैँचामा पुग्न त्यत्तिकै आवश्यक छ । हुन त नेपालका कतिपय मेहनती  किसानले आफ्ना खेत बारीमा न त सरकारी क्षेत्रका प्रविधिक भेटेका छन् न त सरकारी अनुदान नै फेला पारेका छन् ।.
 
मेला महोत्सबमा सुधार आवश्यक :
उद्योगी, व्यवसायी र उपभोक्तालाई मेला महोत्सबले निकै फाईदा पुर्याएको पनि पाईन्छ । यस्ता मेला प्रर्दशनीहरुले सम्बद्ध क्षेत्रको आर्थिक, सांस्कृतिक, पर्यटन लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्याएको पाईन्छ । स्थानीय अर्थतन्त्रलाई चलयमान पनि बनाईदिने भएकोले मन्द व्यापार, व्यवसायमा स्वतहः चलयमान आउँछ नै । अनि उद्योगी व्यवसायीलाई केही हप्ता भएपनि  वेफुर्सदिलो बनाई दिन्छ । यस्ता मेला, महोत्सबले व्यापारलाई आधुनिकीकरण, विशिष्टीकरण र प्रचार–प्रसारलाई ठूलै मद्दत पुर्याएको पाईन्छ ।

यस्ता मेला, प्रर्दशनी तथा महोत्सब उत्पादक, व्यापारी र उपभोक्ताको पुलको काम गरेकोले सबैका लागि लाभदायक नै हुन्छन् । तर यो पटक पनि केही ठाउँमा मेला महोत्सव भए तर यस्ता मेला तथा प्रर्दशनीहरुमा खासै नयाँपन, नयाँ कुराहरु नभएका कारण दर्शकको भिड जम्मा हुने गरेपनि मन जित्न त्यति सकेको पाईँदैन । साँस्कृतिक कार्यक्रममा दर्शकको भिड देखिएपनि यथार्थमा कारोबारमा मन्दि नै भएको आयोजकको भनाई पाईन्छ । सञ्ंचालन भएका केही मेलामा त धेरै स्टल खाली नै रहे । सोचे जस्तो कारोबार पनि हुन सकेन । अर्को समस्या धुलाले दर्शकलाई निकै प्रभावित बनाएको गुनासो पनि थियो ।

बुटवलमा पौष ५ देखि १८ गतेसम्म आयोजना गरिएको लुम्बिनी एक्सपो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा वैदेशिक स्टल र प्रविधि खासै देखिएन । बरु यहाँको कृषि पेभेलिएनमा दर्शक र किसानको आकर्षण थियो । रुपन्देहीको मणिग्राम, भैरहवा र सैनामैनामा लागेको मेला महोत्सवमा पनि दर्शकको खासै उपस्थिती थिएन । कतिपय मेलामा धेरै गार्मेन्टका कपडा बढी राखिएको, सेल लगाएकोले दर्शकले मेलालाई हाट बजारको संज्ञा पनि दिएको पाईन्छ ।

बुटवल उद्योग बाणिज्य संघले पनि आगामी फागुनमा १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० लगाउँदै छ । बिगतलका अनुभव र वर्तमानको नयाँ परिवेश अनुसार कृषि प्रविधि, औंजार र उत्पादनलाई ध्यान दिएर किसान लाभान्वित हुनेगरि मेला लगाउन सके सफल हुन्छ नै ।

krishi-mela1

अनि मेला महोत्सव सम्पन्न गर्न स्थायी संरचना नहुँदा पनि लाखौ लाख खर्चिएर मेलास्थलको गेट, सचिवालय र मञ्चलाई जति आकर्षक बनाइन्छ । स्टल, बाटो पनि त्यत्तिकै फराकिलो र व्यवस्थित गर्न जरुरी छ ।  महङ्गो नास्ता, टिकट र धुलोले दर्शक र स्टल व्यवसायीलाई केही अप्ठेरो पारेको महशुस धेरैले गरेको पाईन्छ । तसर्थ मेला आयोजकले यावत सल्लाह सुझाबहरुलाई मनन् गरी सुधार गर्न आवश्यक देखिन्छ । धुलोको व्यवस्थापन पनि मेला सञ्चालकको लागि ठूलै चुनौती हुने गरेको छ भने बाहिर बजारमाभन्दा मेलाका स्टलहरुमा कुनैपनि सामान महङ्गो हुन हुँदैन । तर यथार्थमा त्यस्तो पाईदैन ।

कुनैपनि मेला–महोत्सव दश विस लाख कमाउने संस्था चलाउने माध्यम भन्दा पनि उद्योगी व्यवसायी, दर्शक र उपभोक्ताले के पाए, के सिके भन्ने महत्वपूर्ण कुरा हो ।

 

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार