ताजा अपडेट »

पञ्चे बाजा संरक्षणमा जुट्दै दाङका महिला

बुधबार, २५ पुस २०८०, ०७ : ३३
66 Shares

दाङ । कुनै समय विवाह वर्तमा पञ्चेवाजा गुन्जिन्थे । तर, हिजोआज पञ्चेवाजा गुञ्जिन छाडेका छन् । यसरी पञ्चेबाजा लोप हुन थालेपछि स्थानीय स्तरमा महिलाहरू संरक्षणमा जुटेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–४ स्थित जनचेतना आमा समूहले पञ्चेबाजा ल्याएर आफै विवाह, वर्त, पूजाआजामा जाने गरेका छन् ।

दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईसहित छिल्लर, मादल पनि किनेर व्यवसायिक रूपमा पञ्चेबाजा संरक्षण अभियानमा लागेको समूहका अध्यक्ष कस्तुरा खड्काले बताईन् । “पहिले गाउँमा विवाह, वर्त हुँदा पञ्चेबाजा बज्थे”,उनले भनिन् “तर,पछिल्लो समय पञ्चेबाजा बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नकालागि सुरूवात गरेका हौं ।”

गएको वर्ष भैलो खेलेर संकलन भएको एक लाख ४० हजार रकमबाट पञ्चेबाजाका सामग्री खरिद गरेको अध्यक्ष खड्काले बताईन् । सुरूवातमा आफूहरूलाई पञ्चेबाजा पनि बजाउन नजानेको भन्दै सिक्न एक वर्ष लागेको उनको भनाई छ । “कहिलेकाहीँ मात्रै बजाउथ्यौं, विवाह, बर्त भएमा बोलाउनु हुन्थ्यो र जान्थ्यौं”,उनले भनिन् “त्यति गर्दागर्दै सिक्न एक वर्ष लाग्यो ।”

सिकिसकेपछि विवाह, वर्तबन्ध, पूजा, मृत्यु संस्कारजस्ता कुरामा बोलाउने गरेको अध्यक्ष खड्काको भनाई छ । यो वर्षको भैलोमा पनि पञ्चेबाजा प्रयोग गरेको उनको भनाई छ । अहिलेसम्म विवाहमा जाँदा १० हजार, पूजामा ५ हजार, मृत्यु संस्कारमा ५ हजार रुपैँया दिने गरेको भएपनि आफैले तोकेर नलिने गरेको उनले बताईन् । अहिलेसम्म पञ्चेबाजाको तोकेर रकम लिने गरिएको छैन । तर, केही समयपछि ‘रेटलिस्ट’ बनाउने आमा समूहले तयारी गरेको छ । सोही आमा समूहमा २५ जना महिला सहभागि छन् ।

फुर्सद अनुसार सबै महिलाहरू गाउँमा परेका अन्य सामाजिक कार्य पनि गर्दै आएका छन् । गाउँमा हुने सामान्य झैझगडाहरुमा समेत समन्वयकर्ता भएर मिलाउने काम यही आमासमुहले गर्ने गर्दछ । सधै चुलोचौकोमा सीमित हुने महिलाहरू पनि सामाजिक रूपमा सशक्त छन्, भन्ने सन्देश दिन आफूहरूले यो कार्य गरेको उनको भनाई छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी