ताजा अपडेट »

जापानकाे भुकम्पमा परी अझै २०० जना बेपत्ता, खाेजी कार्य जारी

आइतबार, २२ पुस २०८०, ०८ : ३७
74 Shares

टोकियो । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् । र, सो भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या १२६ पुगेको छ । राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् ।

अल जजीराका अनुसार अनुसार जापानले झण्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ । भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले शनिबार भनेका छन् कि २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको छ । समाचार अनुसार वाजिमा सहरमा सबैभन्दा बढी ५९ जनाको मृत्यु भएको छ भने सुजुमा २३ जनाको मृत्यु भएको छ। प्रकोपको परिणाम स्वरूप ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए, जसमध्ये कम्तीमा २७ गम्भीर घाइते भएका छन ।

खराब मौसमका कारण हजारौं उद्धारकर्मीको काम अवरुद्ध भएको छ । रिपोर्टका अनुसार इशिकावा क्षेत्रका करिब २३ हजार ८०० घर बिजुली र ६६ हजार ४०० भन्दा बढी घर पानीविहीन छन् । ३१,४०० भन्दा बढी मानिस ३५७ सरकारी आश्रयस्थलमा बसिरहेका छन् । वाजिमा निवासी हिरोयुकी हमातानीले भने,  ‘नयाँ वर्षको दिनमा भूकम्प गएको बेला म आराम गरिरहेको थिएँ । मेरा सबै आफन्तहरू सँगै थिए र हामी रमाइलो गरिरहेका थियौं। तर एकैछिनमा सबै कुरा परिवर्तन भयो। घर खडा छ तर बस्न योग्य छैन। मेरो दिमागमा भविष्यको बारेमा सोच्ने ठाउँ छैन।’

गत हप्ताको भूकम्पमा मृत्यु हुनेको संख्या सन् २०१६ यताकै उच्च हो । सन् २०१६ मा दक्षिण पश्चिम जापानको कुमामोटोमा गएको भूकम्पमा २७६ जनाको मृत्यु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।