ताजा अपडेट »

तीन दशकमा भित्रियो डेढ खर्ब विदेशी लगानी

सोमबार, १६ पुस २०८०, ०८ : ४४
37 Shares

काठमाडौँ । मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ  । 

लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरकारले खुला अर्थनीति अवलम्बन गरेसँगै मुलुकमा हालसम्म एक खर्ब ५८ अर्ब ६० करोड रुपियाँ बराबरको प्रतित्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । 

सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकामा डेढ खर्ब रुपियाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो । 

देशमा लगानी गर्ने भनेर बर्सेनि प्रतिबद्धता रकम बढ्दै गए पनि सो अनुपातमा लगानी भने भित्रिन सकेको छैन । विदेशी लगानीसम्बन्धी नीतिनियम समसामयिक परिवर्तन नहुनु, संस्थागत संरचना चुस्तदुरुस्त र झन्झटिलो प्रशासनिक काम, पूर्वाधारको कमी, अस्थिर राजनीतिलगायतका कारण प्रतिबद्धता अनुसार लगानी भित्रिन नसकेको हो ।

उद्योगमा लगानी वृद्धि गरेर अर्थतन्त्रमा योगदान पु¥याउन प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण कार्यलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि अपेक्षित वैदेशिक लगानी भित्र्याउन नसकेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । पूर्वसचिव कृष्ण ज्ञवालीले नीतिगत समस्या र राजनीति अस्थिरता झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि अपेक्षा अनुसार लगानी भित्रिन नसकेको बताउनुभयो । 

लगानीकर्तालाई आकर्षण गर्न लगानीयोग्य वातावरण सिर्जना गर्नु पर्छ, लगानी सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार व्यवहारमा लगानी किन आएन भनेर अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले नीतिगत सुधारका कारण मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार आएको जानकारी दिनुभयो ।

सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ बनाएको थियो । नेपालमा विदेशी लगानी सबैभन्दा धेरै पर्यटन, सेवामूलक, उत्पादनमूलक, कृषि तथा वनमा आधारित उद्योग, ऊर्जा, सूचनामूलक, खनिज क्षेत्रमा भित्रिने गर्छ । सबैभन्दा धेरै पर्यटन, सेवामूलक, ऊर्जा र उत्पादनमूलक क्षेत्रमा लगानी भित्रिने गरेको छ ।

पाँच महिनामा बिस अर्ब विदेशी लगानी प्रतिबद्धता चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मङ्सिरसम्म)मा १९९ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । ती उद्योगले २० अर्ब ६० करोड रुपियाँ लगानी प्रतिबद्धता जनाएका छन् । यी उद्योगबाट १० हजार १२० रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । 

मङ्सिर महिनामा २१ वटा उद्योगका लागि दुई अर्ब २५ करोड रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । मङ्सिरमा विदेशी लगानी प्रतिबद्धता जनाएका उद्योगबाट एक हजार ३५० रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

विभागका अनुसार पाँच महिनामा १८९ साना उद्योगमा १४ अर्ब १६ करोड ९५ लाख १५ हजार रुपियाँ प्रतिबद्धता आएको छ । तीन ठुला उद्योगमा तीन अर्ब ६६ करोड ५२ लाख ३३ हजार रुपियाँ प्रतिबद्धता आएको छ । 

यस्तै सात मझौला उद्योगमा दुई अर्ब ७७ करोड ५८ लाख ३० हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।