ताजा अपडेट »

बालकुमारी घटना : उच्चस्तरीय जाँचबुझ आयोग गठनको प्रस्तावलाई गृहलाई प्रधानमन्त्रीको निर्देशन

आइतबार, १५ पुस २०८०, १६ : ३९
26 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । 

गत शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । आइतबार कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

उनका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र सो आयोगले सोमबारदेखि नै कार्य प्रारम्भ गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।