ताजा अपडेट »

गुल्मीमा जनस्तरको लगानीबाट विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालन

सोमबार, ०९ पुस २०८०, १८ : ३९
31 Shares

गुल्मी । गुल्मीको ग्रामीण भेग छत्रकोटमा जनस्तरबाट लगानी जुटाएर विशेषज्ञ डाक्टरहरुसहितको सुबिधा सम्पन्न अस्पताल सञ्चालनमा आउने भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवाससँग सहकार्यगरी छत्रकोट गाउँपालिका–५ खर्ज्याङ्ग बजारमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रा.लि. सञ्चालन हुने भएको हो ।

अस्पतालका शेयर धनिहरुको संस्था खर्ज्याङ्ग पब्लिक हेल्थ प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै पुष १४ गतेदेखि १५ शैय्याको अस्पतालको सञ्चालनमा ल्याउने तयारी भएको जानकारी गराएको छ । संस्थाका अध्यक्ष सरोज पाण्डेले गुल्मीको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ वटा स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित अस्पताल सञ्चालनमा आउन लागेको जानकारी गराए । विगत ७ वर्षदेखिको योजना अनुसार तीन सय ९७ जना नागरिकको सेयर लगानीमा अस्पताल सञ्चालनमा आउन लागेको कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले बताए ।

‘गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’–भन्ने नाराका साथ अस्पतालको स्थापना भएको उनले बताए । अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको पनि लगानी रहने भएको छ । अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ । पूर्ण रुपमा उपकरणसहित अस्पतालनमा आउँदा १० करोड लगानी हुने अस्पताल संचालक समिति अध्यक्ष पाण्डेको भनाई छ ।

लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष गोपालबहादुर पोखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताए । स्थानीयको उत्साहले अस्पताल स्थापना गर्न सम्भव भएको मेडिकल कलेज प्रवासका सञ्चालक समिति सदस्य रामप्रसाद पोखरेलले बताए ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार