ताजा अपडेट »

अमेरिका जान हिँडेका युवाहरु फिलिपिन्समा अलपत्र : लाखौं रकम असुलेर दलाल सम्पर्कविहिन

शनिबार, ०७ पुस २०८०, ०८ : २८
36 Shares

दाङ । शान्तिनगर गाउँपालिका ५ का मोहन रावत अमेरिका जाने भन्दै गत साउनमा घरबाट हिँडे । दाङको साविक डुरुवा गाविस-३ की लक्ष्मी डाँगी उनलाई अमेरिका पठाउने भन्दै पटक पटक गरी २१ लाख लिएर मोहनलाई विगत ८ महिनादेखि फिलिपिन्समा अलपत्र पारेकी छन् । ऋण लिएर छोरालाई पठाएको भन्दै अहिले धेरै समस्या भइरहेको मोहनका बुबा कमल रावतले बताए ।

नेपालबाट फिलिपिन्स हुँदै अमेरिका पठाउने भनि आश्वासन दिएपछि छोरालाई गाउँघरमा ऋण लिएर पठाएको भए पनि ८ महिनादेखि अलपत्र पार्दा छोराले विदेशमा र आफूलाई ऋण लिएको पैसाले समस्या बनाइरहेको उनको भनाइ छ । यस्तै उनले लक्ष्मीलाई काम नहुने भए, छोरालाई नेपाल ल्याइदिन आग्रह गर्दै आएको भए पनि अहिलेसम्म बेवास्ता गरेको समेत बताए ।

यस्तै तुलसीपुर ९ का कलम वलीलाई अष्ट्रेलिया पठाउने भन्दै लक्ष्मीले १८ लाख लिएर उनलाई पनि फिलिपिन्समा अलपत्र पारेको कमलकी श्रीमती करिष्मा केसी वलीको आरोप छ । श्रीमान लगायतका साथीहरूले अहिले निकै समस्या भोगिरहेको भन्दै उनले खाना खाने समेत पैसा नभएपछि घरबाट पठाउँदै आएको बताइन् । उनले भनिन्, ‘चिनेको मान्छे भएको हुँदा हामीलाई विश्वास दिलाएपछि १८ लाख बुझाएका थियौँ । तर, अहिलेसम्म मेरो श्रीमान फिलिपन्समा हुनुहुन्छ । लक्ष्मीलाई पटक पटक भन्दा हाम्रो कुरा सुन्ने होइन ।’

घोराहीकी गीता केसीका छोरा बुहारी पनि फिलिपिन्समा अलपत्र परेका छन् । नेपालबाट जापानको लागि तयारी गर्दा भिसा नलागेपछि लक्ष्मीले सहज रुपमा पठाउने भन्दै आश्वासन दिएपछि ३० लाख रकम बुझाएको उनले बताइन् । फिलिपिन्समा अलपत्र परेका आफ्ना छोरा बुहारीलाई उद्धार गरी नेपाल ल्याउन आग्रह गर्दा पनि लक्ष्मीले चासो नदिएको भन्दै उनीमाथि कडा कारबाही हुनु पर्ने बताइन् ।

यस्तै तुलसीपुरका गोपाल खड्का जापानमा पढ्दै आएका थिए । उनलाई पनि अमेरिका पठाउने भन्दै ३२ लाख लिएको गोपालकी आमा खुमा खड्काले बताइन् । जापानमा राम्रो नभएपछि छोरालाई अमेरिका पठाउने भन्दै लक्ष्मीको विश्वास मानेर पैसा दिएको र अहिले छोरा जापानमा लुकेर बसेको उनको भनाई छ । उनले भनिन्, ‘जापानमा राम्रो थिएन । छोराको भविष्यको लागि हामीले अमेरिका पठाउने भन्दै उनको विश्वासमा परेर पैसा दियौं । अहिले छोरा जापानमा लुकेर बसेको छ ।’ लामो लक्ष्मीसँग उनीहरुको अहिले सम्पर्क छैन । गुनासो गर्दै पीडित परिवारले भन्यो, ‘उता छोरालाई कलेजले खोजी रहेको छ । यता बैंकले हामीलाई समस्या पारेको छ ।’

दाङको साबिक डुरुवा गाविस–३ हाल तुलसीपुर १४ निवासी लक्ष्मी डाँगी (पुजा) र उनका श्रीमान सञ्जय गुरुङले अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरूबाट करिब १ करोड १७ लाख रकम उठाएका छन् । ती युवाहरूलाई फिलिपिन्स लगेर ८ महिनादेखि अलपत्र पारेको उनका आफन्तले आरोप लगाएका छन् । अमेरिका पठाउँने भन्दै दाङका आशिष सुनारबाट १५ लाख, मोहन रावतबाट २१, लाख जापान गएका तुलसीपुर ५ का गोपाल खड्कालाई अमेरिका पठाउँने भन्दै ३२ लाख रुपैयाँ लगेको आफन्तहरूको भनाइ छ ।

त्यसैगरी घोराही १८ का अर्पण केसीलाई जापान पठाउँने भन्दै २५ लाख, अनिशा वलीबाट १५ लाख र तुलसीपुर ९ का कमल वलीलाई अस्ट्रेलिया पठाउँने भन्दै १८ लाख रुपैयाँ लगेको उनका आफन्तले बताएका छन् । पैसा लगेर विभिन्न बहाना बनाउँदै अहिले डाँगी र गुरुङ सम्पर्क विहीन भएको कमल रावतले बताए । डाँगी र गुरुङले विभिन्न बहाना बनाउँदै काम हुँदै छ, भनेर झुक्याएको र पछिल्लो समय विभिन्न किसिमका धम्कीहरू दिन थालेको उनीहरूले बताए । अलपत्र परेका परिवारले जसरी भएपनि उनीहरूलाई नेपाल फर्काउनको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी