ताजा अपडेट »

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा

विहीबार, १४ मंसिर २०८०, १६ : ००
44 Shares

बुटवल । बुटवलको आम्दा अस्पतालमा सुत्केरीको मृत्युपछि उत्पन्न विवाद समाधान नहुँदा ३ दिनदेखि शवसहितको गाडि अस्पताल अगाडि रहेको छ । गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलो लुम्पेक थुम्काकी ३५ वर्षीया भवानी थापाको मँगलबार अस्पतालमा मृत्यु भएपछि उनका आफन्तहरुले उचित क्षतिपूर्तिको व्यवस्था नहुँदासम्म शव नउठाउने अडान लिएपछि अस्पताल अगाडि शववहानमा उनको शव रहेको हो ।

बुधबार राती अबेरसम्म बसेको बैठक सहमतिको अन्तिम चरण्मा पुगेर पनि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई रिहा गर्ने विषयमा कुरा नमिल्दा निश्कर्षविहिन भएको थियो । मँगलबार राती अस्पताल प्रशासन र मृतकका आफन्त बीच छलफलको क्रममा हातपात हुँदा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्याल घाइते भएपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई विनाशर्त रिहा गर्नुपर्ने मृतकका आफन्तहरुको मागलाई अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले मान्न तयार नभएपछि विवाद कायमै रहेको छ ।

यसैबीच चिकित्सकमाथि दुब्र्यवहार भएको भन्दै बिहीबार ईलाका प्रहरी कार्यालय बुटवलमा चिकित्सकहरुले धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन), नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वस्थ्य संस्थामा आवद्घ संस्थाहरुले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग उनीहरुले राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएका चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अवराध अन्तर्गत कारवाहीको माग गरे । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले संवेदशील घटना घटेको भन्दै घटनाबारे कानुन बमोजिम कारवाही अघि बढ्ने बताए ।

यता मृतकका आफन्तहरुले भने अस्पतालमा चिकित्सवको लापरवाहीले सुत्केरीको ज्यान गएको र त्यसपछि उत्पन्न सबै घटनामा अस्पताल प्रशासन नै जिम्मेवार रहेको बताएका छन् । अस्पतालमा सुत्केरीको मृत्युपछि मँगलबार राती अस्पताल प्रशासनका प्रतिनिधि र मृतकका आफन्तहरु बीचको छलफलमा मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि हातपात भएको थियो ।

मृतकका आफन्तहरुले उचित क्षतिपूर्तिका मागसहित प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई बिनासर्त रिहा गर्नुपर्ने माग राखेका छन् । बुटवल उपमहानगरका प्रमुख अस्पताल बिकास मितिको अध्यक्ष हुने व्यवस्था रहेको छ । सोही अनुसार बुधबार अवेरसम्म उपमहानगरको कार्यालयमा प्रमुख खेलराज पाण्डेयसहित बसेको छलफल बिना निश्कर्ष उठेको थियो । अस्पतालका प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्रीका अनुसार बुधबार राती करिब ९ बजेसम्म मृतकका आफन्त, अस्पताल प्रशासन, बुटवल उपमहानगरका प्रमुख, गुल्मी सत्यवती गाउँपालिका प्रमुख तथा प्रदेश सांसाद चिन्तामणी पाण्डेय लगायतका व्यक्तिहरु छलफलमा बसेका थिए । छलफलमा बुटवल उपमहानगरले ५ लाख, सत्यवती गाउँपालिकाले २ लाख तथा सांसद चिन्तामणी पाण्डेयले ५० हजार रुपैयाँ मृतका परिवारलाई राहत स्वरुप उपलब्ध गराउने भनि प्रारम्भिक सहमती भएको थियो ।

सहमतिको अन्तिम चरण्मा पुगेर विहिबार त्यसलाई अन्तिम रुप दिने भयारी गरिएको भए पनि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई रिहा गर्ने विषयमा कुरा नमिल्दा सहमति हुन नसकेको छलफलमा सहभागी मृतकका आफन्त निमबहादुर थापाले बताए । सहमतीलाई अन्तिम रुप दिने विषयमा हालसम्म पनि अन्यौल रहेको उनले बताए । बुधबारको छलफलपछि अस्पताल प्रशासनले त्यसलाई निश्कर्षमा पुर्याउन हालसम्म कुनै जानकारी नगराएको उनले बताए । अस्पतालका चिकित्सकहरुले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुमाथि कारबाही माग गरेपछि मृतकका आफन्तहरुले पनि उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि उचित छानविन गरी कारबाहीको मागसहित प्रहरीमा जाहेरी दिने तयारी भएको उनले बताएका छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।