ताजा अपडेट »

आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’

बुधबार, १३ मंसिर २०८०, १३ : २८
74 Shares

बुटवल । बुटवलको आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि मँगलबार रातीदेखि यहाँको अवस्था तनावग्रस्त बनेको छ । अस्पताल परिसरमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ भने सर्वसाधरणलाई अस्पताल प्रवेशमा निषेध गरिएको छ । गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलो लुम्पेक थुम्काकी ३५ वर्षीया भवानी थापा शिशुलाई जन्म दिएपछि आफू भने अस्पताल अगाडि उभिएको शव वहान भित्र चिर निद्रामा छिन् ।

अस्पताल प्रशासन र आफन्तहरु बीच कुरा नमिल्दा भवानीको शव राखिएको गाडि दुई दिनदेखि अस्पताल अगाडि उभिएको छ । शिशु अस्पतालको प्रसुती कक्षमा रहेको १४ नम्बर बेडमा सकुशल नै खेलिरहेका छन् । अस्पतालको लापरवाहीका कारण भवानीले ज्यान गुमाउनु परेको भन्दै आफन्तहरुले बिरोध जनाएपछि मँगलबार दिउँसो ४ बजेदेखि बसेको बैठक राती करिब साढे १२÷१ बजेसम्म कुनै निष्कर्श निस्कन सकेन । आफन्त र अस्पतालका प्रतिनिधि बीच हात हालाहाल हुँदा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्याल घाइते भई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् ।

‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुका कारण के थियो ?’

अस्पतालमा सुत्केरीको मृत्यु भएपछि हतार–हतार शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण बारे मृतकका आफन्तहरुले प्रश्न उठाएका छन् । ‘सुत्केरीको मृत्यु भएपछि उनका श्रीमान निशान थापा होसहवास गुमाएको अवस्थामा थिए, अरु आफन्तहरु पनि पीडामा सम्हालिन सक्ने अवस्थामा हुने कुरा भएन ।’–घटनाका प्रत्येक्ष दर्शी भवानीका एक आफन्तले भने, ‘उनीहरु (अस्पताल) ले नै शवबहान खोजेर अगाडि ठिक्क पारेको थियो, मृतकको डिस्चार्ज लेटर अस्पतालका कर्मचारीहरुले मृतका आफन्तको गोजिमा जर्बजस्ती राखिदिए अनि जान आग्रह गरे ।’ अस्पतालले आफूलाई श्रीमतीको डिस्चार्ज लेटर लगायतका कागजात नदिएको श्रीमान निशानले बताए । सम्बन्धित व्यक्तिलाई सबै कुरा नबुझाएर अस्पताल उम्किन खोज्दा झन ठूलो समस्या सिर्जना भएको घटनाका प्रत्यक्षदर्शी बताउँछन् । घटीसकेको घटनालाई आफन्तसामु नबुझाएर संवेदनहिन ढँगले शव हटाउन हतार गर्नुले पनि अस्पतालको बदनीयत प्रस्ट हुने बताउँछिन मृतककी दिदी चन्द्रा सिंजाली ।

मृतककी दिदी चन्द्राका अनुसार हट्टकट्ट शिशुलाई अप्रेशनपछि जन्म दिएकी भवानी आफै पनि पहिलो दिनसम्म स्वस्थ नै देखिए पनि दोस्रो दिन ज्यान गुमाउन पुगिन् । अस्पतालका प्रशासकीय अधिृकत खगेन्द्र खत्रीले उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै भने ‘सोमबार शिशुलाई जन्म दिएकी उनी र बच्चा दुबैको स्वास्थ्य अवस्था सब ठिकठाक नै थियो । तर भोलिपल्ट मँगलबार अस्पतालको पोष्ट अप्रेटिभ वार्डमा रहेकी भवानीको स्वास्थ्यमा एक्कासी समस्या देखा पर्यो । उनको स्वास्थ्यमा समस्या देखापरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु उनको उपचारमा लागे पनि उनलाई बचाउन सकेनन् ।’ मृतकका आफन्तका अनुसार मँगलबार विहान ९ बजेपछि भवानीलाई स्वास्थ्यमा समस्या देखिएको थियो । अस्पतालले दिनको १ बजेर ५० मिनेटमा मृत्यु भएको घोषणा गरेको थियो ।

मृतककी दिदी चन्द्रा सिंजालीका अनुसार मृतक भवानीको स्वास्थ्यमा समस्या आएर आत्तिएको देखेपछि आइसियू भएको अर्को कुनै अस्पतालला रिफर गरिदिनका लागि उनले आग्रह गरिन् । तर अस्पतालका स्वाथ्यकर्मीहरुले बिरामीको श्रीमान आएर अनुमति नदिँदासम्म केही गर्न नमिल्ने भनेर उनको कुरालाई वास्ता गरेनन् । प्रदेश शिक्षा कार्यालय भैरहवामा कार्यरत भवानीका श्रीमान निशान थापा अस्पताल आउँदै थिए । ‘श्रीमानलाई मनाउने जिम्मा मेरो भयो, तर बिरामीलाई निकै गाह्रो भएको जस्तो छ । आइसियू भएको कुनै अस्पतालमा रिफर गरिदिनुस् भन्दा पनि उनीहरुले मेरो कुरै सुनेन्, मलाई समेत बाहिर निकालेर बिरामीसँग बस्न दिइएन ।’–मृतककी दिदी चन्द्राले घटनाको विवरण सुनाउँदै भनिन्,–‘मेरो कुरा उनीहरुले सुनेको भए सायद भवानीको ज्यान बच्न सक्थ्यो । बिरामीको मृत्युपछि अस्पतालले गरेको संवेदनहिन व्यवहारले हामीलाई थप दुःखित बनायो ।’ बिरामीलाई आईसियू भएको अस्पतालमा लैजान्छौं भन्दा श्रीमानको अनुमति माग्ने अस्पतालले मृत्युपछि शव हटाउन श्रीमानको अनुमति विनै अरु कसैको गोजीमा कागजात थमाउनुले पनि उपचारमा लापरबाही भएको कुरालाई पुष्टी गर्ने आफन्तहरुको दाबी छ ।

अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसधारणलाई प्रवेशमा निषेध

मँगलबार रातीको घटनापछि अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल गेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको छ । आम्दा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर छलफल भैरहेको समयमा मँगलबार बस्यालमाथि कुटपिट भएको थियो ।

अस्पतामा कुटपपिटको घटनापछि ओपीडी कक्ष बन्द गरिएको छ । दैनिक १५० देखि २ सयजनासम्म सेवाग्राही आउने अस्पतालमा सेवा बन्द गरिएको छ । अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरुको भने नियमित चेकजाँच तथा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्कस तथा कर्मचारीहरु पनि त्रसित अवस्थामा रहेको अस्पतालका मेट्रोन सुशिला विश्वकर्माले बताइन् ।

सुत्केरीको मृत्युपछि आफन्तहरुले परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् भने अस्पताल प्रशासनले छानविन समिति बनाएर छानविनपछि मात्रै अघि बढ्न सकिने अडान कायम राखेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।