ताजा अपडेट »

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढंगबाट अघि बढ्छ

बुधबार, ०६ मंसिर २०८०, १६ : १७
18 Shares
बुधबार, ०६ मंसिर २०८०
18 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढंगले अघि बढ्ने बताएका हुन् । 

सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने बताएका हुन् । 

पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए । 

‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ । यो ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।

माघ २०७७ सालमा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।