ताजा अपडेट »

जाजरकोट भूकम्प : ढोकाको आड लिएर बाँचेका दिनेश !

शुक्रबार, ०१ मंसिर २०८०, १५ : २२
12 Shares

कर्णाली । “गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियो । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।”

जाजरकोट कुशे गाउँपालिका घर भई भेरी नगरपालिका–१ माथिल्लो थाप्लेमा बस्दै आएका दिनेश सिंहले भने । भूकम्पबाट धेरैले ज्यान गुमाउँदा भाग्यले बाँचेका उनले भने “उभिएको ढोकाको पर्खाल गर्ल्यामगुर्लुम ढलेपछि त्यसैसँग म पनि तल खसेछु । तर ममाथि छाना खस्न पाएन । यसअघि नै छत खसिसकेको थियो । पर्खालका ढुङ्गासँग ठोक्किएर होला, अँध्यारो रातमा केही बेर रन्थनिए पनि । वरपरका घर पनि धेरै ढलिसकेका रहेछन् । पक्की घर भएका छिमेकी बाहिरबाट कराइरहेको रहेको आवाज सुने यद्यपि त्यति बेला म उठिसकेको थिए ।”

“मैले पुनर्जन्म पाएको छु । घरको नामो निसान नहुँदा म सकुशल रहेँ”, उनले भने, “भाग्यले बाँचेको छु । मेरो लागि यो सौभाग्य नै हो । सबैलाई यो अवस्था जुर्न सक्दैन ।”

दुई छोराछोरी काठमाडौँ भएको र सोही दिन श्रीमती ‘लाइसेन्स’को परीक्षा दिन नेपालगञ्ज जाँदा उनीहरु पनि बाँचेको उनले बताए । उएले भने, “त्यो दिन श्रीमतीसहित छोराछोरी घरमा भएको भए अवस्था निकै भयावह हुन्थ्यो होला । आफैँ भाग्यले बाँचेको मान्छे उनीहरुलाई बचाउन सकिने अवस्था थिएन । यदि उनीहरुलाई बचाउन लागिन्थ्यो भने हामी सबै च्यापिने खतरामा पुग्थ्यौँ ।”

हात, टाउकोमा चोट लागे पनि अवस्था गम्भीर नभएको उनले बताए । श्री लक्ष्मीप्राप्ति मावि कुशे गाउँपालिका–५ खुर्पा जाजजरकोटका प्रधानाध्यापकसमेत रहेका सिंहको घर भूकम्पले पूर्णरुपमा ध्वस्त भएको छ । उनीजस्तै सदरमुमकाम खलङ्गासहित सिङ्गो जाजरकोटका भूकम्पपीडित त्रिपालको भरमा खुला आकाशमुनि ओत लिएर बाँच्न बाध्य छन् । उनका अनुसार एउटै त्रिपालमा सपरिवार बस्न समस्या छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीमबहादुर सिंहले भूकम्पका कारण जाजरकोट सदरमुकामको घर भत्कँदा सासूआमा गुमाए । भूकम्पले ज्यान गुमाएका, घाइते भएका, घर पूर्ण एवं आंशिक ध्वस्त भएका परिवारलाई सरकारले न्यायिकरुपले राहत, उपचार, पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने उनले सुझाव दिए ।

कुशे गाउँपालिकाका स्थानीय कालीबहादुर सिंहले आफ्नो पालिकामा सबैको नागरिकको घर चर्केर भित्र बस्ने अवस्था नभएकाले घोगाको ढोडमा ओत लाग्नुपरेको दुखेसो पोखे । “हामी लेक नजिक भएकाले चिसोले कठ्याङ्ग्रिएर दिन काटिरहेका छौँ”, उनले भने, “मान्छेहरु चिसोले नै मर्ने अवस्था भएकाले सरकारले आवासको बन्दोबस्ती छिटो गर्दिनुप¥यो ।”

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो पालिकामा मात्रै प्रति परिवार आठ हजार तीन सय ५१ तालपोलियन आवश्यक भएको जनाए । उनका अनुसार प्रतिपरिवार दुई त्रिपाल अनिवार्य दिनुपर्छ । यसका लागि १६ हजार सात सय एक पाल चाहिन्छ । त्यसका निम्ति प्रदेश तथा सङ्घ सरकारसहित दातृ निकायसँग सहयोगका लागि आवश्यक पहल एवं समन्वय गरिरहेको बताए ।

असोज १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट जिल्लामा मात्रै एक सय पाँच जनाको ज्यान लिएको थियो । एक सय १२ भन्दा बढी घाइते भए । रुकुम पश्चिममा ५२ जनाको मृत्यु र ७९ जना घाइते भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।