ताजा अपडेट »

राज्यको लगानी, बालुवामा पानी : निर्माण भएर पनि ग्यास प्लान्ट प्रयोग विहीन

शनिबार, २५ कार्तिक २०८०, ०९ : ११
10 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा रहेको मासु मार्केटलाई व्यवस्थित गर्नको लागि २०७३ साल बायोग्यास प्लान्ट निर्माण गरिएको थियो । मासु वधशालामा हुने फोहर व्यवस्थापनलाई सहज बनाउन २० लाखको लगानीमा बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको मार्केटका पसलमा ग्यास सहज बनाउनको लागि बनाइएका २ वटा प्लान्ट अहिले प्रयोग विहीन हुँदा राज्यको पैसा बालुवा पानी हाले जस्तै भएको छ । मासु मार्केटमा विभिन्न ४१ वटा मासुका पसलहरू रहेका छन् । त्यहाँ भएको फोहरमैला व्यवस्थापन गर्ने र त्यसबाट ग्यास उत्पादन गर्ने शुरुमा १० लाखको लगानी मा एउटा ग्यास प्लान्ट वैकल्पिक उर्जा केन्द्रको सहयोगमा निर्माण गरिएको थियो ।

शुरुमा निर्माण भएको ग्यास प्लान्टबाट खसी तथा कुखुरा व्यवसायीले त्यो प्रयोग गरेका थिए ।त्यसपछि फेरि १० लाखको लगानीमा खसी, बाख्रा वधशाला को पूर्वतर्फ अर्को प्लान्ट निर्माण गरियो । तर, त्यो निर्माण भएदेखि नै सञ्चालनमा नआएको तुलसीपुर मासु मार्केटका अध्यक्ष इन्द्रलाल खत्री बताए । उनले भने,‘ शुरुमा बनेको ग्यास प्लान्ट हामीले खसी मार्केटमा सञ्चालन गरेका थियौँ । अर्को प्लान्ट निर्माण भएपछि पहिलोको प्लान्ट हामीले राँगा मार्केटलाई दिएका थियौँ । तर, उनीहरूले सञ्चालन गर्न नसक्दा अहिले पुरै बन्द भएको छ । दोस्रो पटक निर्माण भएको हामीले बाल्नै पाएका छैनौँ । निर्माण सम्पन्न भएपछि इन्जिनियरले एक पटक बालेका थिए । तर, हामीले प्रयास गर्दा बल्दै बलेन ।’

यस्तै उनका अनुसार बिग्रिएर प्रयोग विहीन भएपनि पुन स्सञ्चालन गर्नका लागि उपमहानगरलाई आग्रह गरेको भएयता पनि अहिलेसम्म कुनै चासो देखाएको छैन् । शुरुमा बनेको ग्यास प्लान्टले खसी मार्केटलाई पुग्ने गरी निर्माण गरिएको समेत उनले बताए । ग्यास सञ्चालन हुँदा व्यवसायीहरूलाई फाइदा भएको समेत उनको भनाइ छ । बिहानको समय मात्रमा करिब ३ वटा ग्यास सिलिन्डर सकिन्थ्यो, होला तर, यसले त्यो बचाएको भएयता पनि अहिले बन्द हुँदा समस्या भएको उनले बताए ।उनका अनुसार सञ्चालन भइरहेको अवस्थामा एक जना हेरालुलाई मासिक १० हजार दिएर राखिएको थियो ।

यस्तै मासु व्यवसायी निम बहादुर डाँगीका अनुसार शुरुमा करिब २५ वटा मासु पसलहरूलाई ग्यास पुगेको थियो । ग्यास सिलिन्डरको अभावमा समेत यसले मदत पुगेको उनको भनाइ छ । उनले भने,‘ खसी कुखुराबाट भन्दा पनि राँगाबाट यसलाई चाहिने गोबर धेरै आउने भएकाले राँगा व्यवसायीहरूले मागेपछि उनीहरूलाई दिएको थियो । तर, अहिले बिग्रेको ३ र ४ वर्ष हुन लाग्यो । अहिले व्यवसायीहरूलाई समस्या भएको छ ।’ २० लाखको लगानीमा निर्माण भएका ग्यास प्लान्टहरू अहिले प्रयोग विहीन हुँदा सञ्चालनको लागि पटक पटक उपमहानगरलाई जानकारी गराएको भएयता पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए । उनले भने,‘ हाम्रो तर्फबाट हुने भए हामी आफै बनाउने थियौँ । तर, हामीबाट नहुने भएकाले उपमहानगरलाई आग्रह गर्दै आएका छौँ । अहिलेसम्म कुनै सुनवाई भएको छैन् । उपमहानगरले कहिले प्राविधिक छैन्, कहिले केही भन्ने आलटाल गर्दै आएको छ । यि प्रयोग विहीन हुँदा राज्यको लगानी खेरा गएको छ ।’

ग्यास प्लान्ट सञ्चालनमा नहुँदा आफूहरूलाई समस्या भएको अर्को व्यवसायी अर्जुन खड्का बताए । उनले भने,‘ ग्यास प्लान्टबाट ग्यास आउँदा हामीलाई धेरै फाइदा भएको थियो । अहिले ग्यास सिलिन्डरको मूल्य पनि धेरै बढेको छ । जसबाट म जस्ता व्यवसायीलाई समस्या भएको छ । शुरुमा सञ्चालनमा आउँदा मासिक ५ र ७ वटा ग्यास सिलिन्डर बचत हुन्थ्यो, भने अहिले त्यति मात्रामा खर्च भएको छ ।’ यस्तै लामो समयदेखि बिग्रिएर रहेको ग्यास प्लान्ट सञ्चालनमा अहिलेसम्म सम्बन्धित निकायले ध्यान दिएको समेत उनले बताए ।

सदुपयोग गर्न नसक्दा ग्यास प्लान्ट प्रयोग विहीन : नगरप्रमुख खड्का
तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले भने मासु व्यवसायीहरूले सही रुपमा सदुपयोग गर्न नसक्दा अहिले ग्यास प्लान्ट जीर्ण अवस्थामा पुगेका बताए । मासु मार्केटमा थुप्रै मल उत्पादन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्नको लागि ग्यास प्लान्ट निर्माण गरिएको भएयता पनि व्यवसायीहरूका कारणले गर्दा अहिले प्रयोग विहीन भएको समेत उनको भनाइ छ । उनले भने,‘ सरकारी सम्पत्ति सरकारले बनाएको हुँदा मासु व्यवसायीहरूले संरक्षण प्रति ध्यान नदिँदा अहिले प्रयोग विहीन भएको छ । यसलाई मर्मत गरेर पुनः सञ्चालन गर्नको लागि ५ र ६ लाख खर्च लाग्ने कुरा आएको छ ।

हामी मर्मत गरेर सञ्चालनमा ल्याउँछौँ । अब पहिले जस्तै लापरबाही तरिकाले दिँदैनौँ ।’ उनका अनुसार व्यवसायीहरूको लागि निर्माण भएको संरचना व्यवसायले नै संरक्षण गर्नु पर्ने हो । उनीहरूका कारण पटक पटक बिग्रिने सक्छ । हामीले पटक पटक मर्मत गर्न सक्दैनौँ । यसमा व्यवसायीहरूले पनि अपनत्व लिनु पर्छ । उनले भने,‘ त्यसबाट लिन लिएर नाफा खाने व्यवसायीहरू नै हुन् । हामीले मासु शुद्ध रुपमा नागरिकहरूले खान पाउन्, भन्ने उद्देश्यले निर्माण गरिदिएका हौँ । तर, न अहिले ति संरचनाहरू सञ्चालनमा न उपभोक्ताले राम्रो मासु पाएका छन् । मासु राम्रो नहुँदा अहिले उपमहानगरका नागरिकहरूले घर घरमा खसी काटेर खानु पर्ने अवस्था रहेको छ ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी