ताजा अपडेट »

घोडाको बिमा नहुँदा किसानलाई मर्का

विहीबार, २३ कार्तिक २०८०, ०८ : ४२
2 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका ११ बेलगनार का सोनुराज चौधरीले २०५४ सालदेखि घोडाको संगत गर्दै आएका छन् । यो उनको पुर्खौली पेशा हो । उनका बाउ बाजेले पनि घोडा लाद्ने काम गरेका थिए । उनले पनि यो पेशाबाट आफ्नो जीविका चलाउँदै आएका छन् । गाउँघरबाट धान, मकै, तोरी मसुरो जस्ता अन्नहरू खरिद गर्ने र घोडाबाट त्यसलाई बजार ल्याएर बेच्दै आएका उनले अहिलेसम्म ३५ कठ्ठा जमिन जोडेको बताउँछन् ।

गाउँ घरमा सवारी साधनको पहुँच नभएको अवस्थामा राम्रो आम्दानी हुने गरेको भएयता पनि पछिल्लो समय गाउँ गाउँमा सडक तथा सवारी साधन पुगेपछि आम्दानी पनि घट्दै गएको उनले बताए । उनले भने, ‘हाम्रो जग्गा जमिन केही पनि थिएन । यही घोडा लाद्ने कामबाट अहिले जग्गा जमिन जोड्न सकेको छु । अब यो पेशा भन्दा अरु पेशा गर्न मन लाग्दैन । तर, पछिल्लो समय आम्दानी कम मात्रामा हुन्छ । यदि कुनै पनि कारणले घोडालाई केही भएमा बिमा नहुँदा हामीले पूरै नोक्सान ब्यहोर्नु पर्छ ।’

उनका अनुसार पछिल्लो केही वर्षदेखि पशु स्वास्थ्य तालिम केन्द्र दाङले घोडालाई औषधि लगायत रोगबाट बचाउनको लागि सहयोग गर्दै आइरहेको छ । तर, अहिलेसम्म अन्य पशुहरूको जस्तै घोडाको बिमा बनाउँन नपाउँदा समस्या भएको छ । उनले भने,‘ राज्यले हामीहरूले हेला गरेको छ ।

अन्य पशुहरूको बिमा बनाउँन मिल्छ । तर, घोडाको बनाउँदैनन् । यो पनि पशु नै हो रु ’ यस्तै तुलसीपुर ११ नवलपुरका नोखिराम बस्नेतले पनि विगत ५० वर्षदेखि घोडा पाल्दै र घोडा लाद्नै आएका छन् । उनलाई पनि आधुनिक सवारी साधन र मेसिनको प्रयोग बढेपछि घोडा व्यवसाय सङ्कटमा पर्न लागेको चिन्ता रहेको छ ।

आफ्नो जीवनको ५० औँ वर्ष यही घोडाहरूसँग बिताएको भन्दै उनले यसको बिमा नहुँदा आफू जस्तै किसानहरू मर्कामा परेको बताए । उनलाई पनि राज्यले अन्य पशु सरह घोडालाई असमान व्यवहार गरेको प्रति चित्त दुखाइ छ । अन्य पशु सरह घोडाको पनि बिमाको व्यवस्था हुनुपर्ने उनको माग छ । उनले भने,‘ हाम्रा घोडाहरू कुनै समयमा सडक र गाडीको पहुँच नभएको ठाउँमा पुग्थे । अहिले हामीले तुलसीपुर बजारमा ल्याएर खाद्यान्न बिक्री गर्ने गरेका छौँ । तर, पहिलाको जस्तो बिक्री हुँदैन ।’

यस्तै उनले केही वर्ष पहिले राज्यले घोडाको बिमा गरेको भएयता पनि अहिले बन्द गरेको उनले बताए । उनका अनुसार ५० हजारदेखि एक लाख बढि मूल्यमा घोडाहरू किसानहरूले किन्ने गरेका छन् । तर, बिमा नहुँदा कुनै पनि रोगले मरेपछि त्यस किसानको दैनिक चल्न समस्या हुने गर्दछ । उनले भने,‘ एक पटक मेरो ४५ हजारको घोडा मरेको थियो ।

घोडाको बिमा नहुँदा मैले कतैबाट राहत पाएन । अर्को घोडा किन्न पैसा नभएपछि भारत गएर कमाएर आएपछि फेरि घोडा किने रु यस्तो समस्या मैले मात्र नभइ सबै घोडा पाल्ने किसानहरूले भोग्दै आएका छौँ ।’ यस्तै उनले किसानहरूले घोडाहरू रहरले नभइ साहु ऋण गरेर व्यवसाय गर्नको लागि किन्ने गरेको भन्दै राज्यले बिमा नगरिदिँदा आफूहरूलाई अन्याय गरेको गुनासो गरे ।

तुलसीपुरमा मात्रै दुई महिला र पाँच पुरुष गरि सातवटा घोडा पालक समूहहरू छन् । तुलसीपुर क्षेत्रमा मात्रै किसानले करिव १३० वटा जति घोडा पालेका छन् । त्यो बाहेक इँटा भट्टामा काम गर्न ल्याइएका सिजनल घोडाहरू ५० देखि ६० वटासम्म रहेका छन् ।

घोडा पालक किसानहरू को पिरमर्का बुझेरै नै पशु स्वास्थ्य तालिम केन्द्र दाङको प्राविधिक सहयोगमा विगत पाँच वर्षदेखि तुलसीपुर क्षेत्रमा किसानले पाल्दै आएका घोडाहरूको लागि स्वास्थ्य शिविर हुँदै आएको छ । केन्द्रका जिल्ला संयोजक रमन मिश्रका अनुसार किसानहरूले पालेका र इँटा भट्टामा प्रयोग गरिएका घोडाहरूलाई मध्यनजर गर्दै टिटानस विरुद्धको भ्याक्सिन र जुकाको औषधी शिविरमा खुवाइन्छ ।

उनले भने, ‘जिल्लामा घोडा पालक किसानहरू धेरै हुनु हुन्छ । म यहाँ आएपछि घोडाहरूको बारेमा जानकारी लिँदा कसैले पनि घोडालाई टिटानसको भ्याक्सिन दिएको पाएन । घोडाहरूलाई टिटानस जटिल समस्या हो रु मैले सबैलाई बुझाउँदै गएपछि विगत ५ वर्षदेखि एक दिने स्वास्थ्य शिविरको आयोजना गरेर भ्याक्सिन दिने काम भइरहेको छ ।’ यस्तै उनका अनुसार घोडाको बिमाको समस्या रहेको छ ।

उनले भने,‘ २ वर्ष पहिले ७० भन्दा बढि घोडाहरूको बिमा भएको थियो । घोडा मरेपछि पनि ४ जना किसानले बिमा बापत राहत पाएका थिए । तर, पछिल्लो समय बिमा बनाउने काम रोकिएको छ ।’ बिमा रोकिएपछि अहिले यसको समस्या जटिल भएको समेत उनको भनाइ छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी